युक्रेनमाथि परमाणु आक्रमण गर्ने रुसले तयारी गरेपछि किन विश्व समुदाय चिन्तित छन् ?

एजेन्सी । रुसले युक्रेनमाथि परमाणु आक्रमणका लागि तयारी अवस्था रहन निर्देशन दिएको विषयले विश्व समुदाय चिन्तित बनेको छ । रुसले परमाणु मिसाइल युक्रेनमाथि तैनात गरिसके पछि कुनैपनि बेला आक्रमण गर्न सक्ने विषयले संयुक्त राष्ट्र सङ्घसहितका मुलुक चिन्तामा परेका छन् ।

गत बिहीवार बिहानैदेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा सोमवार परमाणु मिसाइल तैनात गर्न आदेश दियो । युक्रेनमाथि आक्रमण गर्नका लागि रुसले २ महिना अगाडीदेखि नै आफ्ना सेना युक्रेनको सीमानामा तैनात गरिसकेको थियो । युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने आङ्काका बीच रुसले त्यसलाई वास्तविकतामा परिणत गर्यो ।

युक्रेनमाथि रुसले विभिन्न दिशाबाट आक्रमण गर्दै आइतवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु मिसाइल तैनात गर्न र आक्रमणका लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिनुभयो । रुसी राष्ट्रपति पुटिनको यो आदेशसँग विश्व समुदायको चिन्ता बढेको छ । कारण, यदि रुसले परमाणु आक्रमण ग¥यो भने त्यसको असरले मानव सभ्यता नै जोखिममा पर्नेछ ।

यसअघि सन् १९४५ मा अमेरिकाले दोस्रो विश्वयुद्धको बेला जापानको हिरोशिमा र नागासाकीमा परमाणु आक्रमण गरेको थियो । जसको प्रभाव हालसम्म पनि देखिन्छ । रुसले ७७ वर्षपछि परमाणु आक्रमण गर्ने बताएपछि संयुक्त राष्ट्र सङ्घसहित विश्वका ठूला शक्तिशाली मुलुक मात्रै होइन सबैको चिन्ता बढेको हो ।

रासायन शास्त्रका जानकार डा.नवी अधिकारीले भने, ‘परमाणु आक्रमण भयो भने त्यसले मानव सभ्यता नै जोखिममा पर्नेछ । यसको असर आजको भोलि नै नदेखिए पनि भविष्यमा देखिने छ । जापानको हिरोशिमा र नागासाकीमा भएको परमाणु आक्रमणको असर हालसम्म पनि त्यहाँका नागरिकमा देखिँदैछ ।’

परमाणु आक्रमणले तत्काल मानिसको मृत्यु हुनु बाहेक त्यसले लामो समयसम्म त्यस क्षेत्रका नागरिक र हावापानीको माध्यमबाट विश्वनै प्रभावित हुन सक्ने उनको भनाइ छ ।

सोमवारको संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै एन्टोनियो गुटेर्रसले रुसलाई आफ्नो सेना युक्रेनबाट फिर्ता गर्न अपिल गरे । उनले रुसको निन्दा गर्दै तत्काल युद्धविरामका साथ युक्रेन क्षेत्र खाली गर्न अपिल गरे । यस्तै अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसले परमाणु आक्रमण ग¥यो भने त्यसको जवाफ दिने बताए । उनले परमाणु आक्रमण गर्नुको कुनै औचित्य नभएको हुँदा रुसले आफ्नो मिसाइल हटाउनु पर्ने धारणा राखे ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि परमाणु मिसाइल आक्रमणको कुनै कारण नभएकाले रुसलाई आफ्नो सेना फिर्ता गर्नुपर्ने धारणा राखे । रुसले परमाणु आक्रमण गर्ने र बेलारुसले परमाणुसहितको हतियार रुसलाई सहयोग गर्ने भनेपछि युक्रेन युद्धको विषयले थप चिन्ता बढाएको हो ।

यसबीचमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किले युरोपियन युनियनसँग सदस्यताका लागि माग गरेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद र संयुक्त राष्ट्र आमसभा पनि रुसी आक्रमणको विषयमा निरन्तर छलफल गरिरहेको छ ।

युक्रेन सरकारका अनुसार हालसम्म ३ सय ५० जना सर्वसाधारणको मृत्यु भएको छ । जसमा १४ जना बालबालिका रहेका छन् । युद्धका कारण पाँच लाखभन्दा बढी मानिस घरबारबिहीन बनेका छन् ।

यसअघि, सोमवार भएको रुस र युक्रेनबीच भएको बैठक बिना निस्कर्स टुङ्गिएको छ । युक्रेनमा जारी युद्धपछि पहिलो पटक हिजो दुई देशका प्रतिनिधिबीच बेलारुसमा भएको बैठकमा सहमति हुन नसकेपछि बैठक बिना निस्कर्स टुङ्गिएको हो । बैठकमा युक्रेनी प्रतिनिधिल रुससँग तत्काल युद्धविरामका लागि माग गरेको समाचार संस्था रोयटर्सले लेखेको छ । साढे ३ घन्टासम्म चलेको वार्ताबारे ठोस जानकारी सार्वजनिक भने गरिएको छैन ।

युक्रेनमाथि रुसले आक्रमण गरेको सोमवार पाँच दिन पूरा भएको छ । यस अवधिमा रुसले युक्रेनमाथि ५६ रकेट र १ सय १३ ओटा क्रुज मिसाइलले आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भ्लोदिमिरि जेलेन्स्कीले वार्ताको क्रममा पनि रुसले आक्रमण जारी राखेको भन्दै रुसमाथि सिजफायरका लागि संयुक्त राष्ट्र सुरक्षा परिषदमा माग गरे । साथै उनले रुसका ७५ प्रतिशत सेना युक्रेनमा प्रवेश गरिसकेको पनि जानकारी दिए ।

यता, युक्रेनमाथि रुसले गरेको कथित युद्ध अपराधबारे अन्तर्राष्ट्रिय आपराधिक न्यायालय  आईसीसीले जाँच गर्ने भएको छ । आईसीसीका करिम एए खानले रुसले कथित युद्ध अपराध र मानवता विरोधी अपराध गरेकाले जाँच गर्ने विषयमा निर्णय भएको बताए ।

प्रतिक्रिया
नागरिक मिरर