१५ दिने मिथिला मध्यमामिकी परिक्रमा आजबाट सुरु

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रको प्रसिद्ध १५ दिवसीय माध्यमिकी परिक्रमा आजदेखि विधिवत रुपमा प्रारम्भ भएको छ ।

धनुषाको ठेराकचुरीबाट मिथिलाबिहारी तथा जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोला आज हनुमाननगर पुगेको छ ।

भोलि बिहान हनुमाननगरबाट डोलासहित परिक्रमा यात्री कल्यानेश्वरका लागि प्रस्थान गर्ने छन । मध्यमा परिक्रमामा धनुषा, महोत्तरी, सिरहा, सर्लाहीसहित छिमेकी राष्ट्र भारतको सीमावर्ती गाउँका श्रद्धालुहरु सहभागी हुने गरेका छन् ।

परिक्रमामा सहभागि हुने यात्रीहरूका कारण शनिबार साँझ हनुमान नगरको मन्दिर परिसर, सडक पेट्टी, खेत, करेसाबारी, आँपको बगैचा भरिभराउ छन् ।

लोक संस्कृतिमा आधारित धार्मिक झाँकी, भजनकिर्तन एवं भक्तिमय कार्यक्रमका साथ भारतको कल्याणेश्वरबाट पैदल यात्रा गर्दै निस्किने नेपाली तथा भारतीय धर्मावलम्बीहरुको विशाल लस्कर गिरीजास्थानबाट महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन हुदै आठौं दिन धनुषाको पर्वता, धनुषाधाम, सप्तऋषि आश्रम आश्रय सतोषर, औरही, करुणा, विशौलको विश्वामित्र आश्रम हुदै पुनः कल्याणेश्वर स्थानमा पुग्ने छन् ।

परिक्रमाबासीहरूको वास (बास बस्ने स्थान) मा स्थानीय गाउँलेले अन्न, खानेपानी, दाउरा आदि निःशुल्क व्यवस्था गर्ने गरेका छन् भने स्थानीय क्लब, संघसंस्थाहरूले नि;शुल्क औषधिहरू वितरण गरेर परिक्रमाबासीहरूलाई सहयोग गर्ने गरेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष तीर्थालुहरूको सपङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष परिक्रमा तीर्थालुहरूको सङ्ख्या दश लाखभन्दा बढी हुने साधुसन्तहरूले दावी गरेका छन् ।

मौसम र समयले साथ दिएकाले यस वर्ष तीर्थालुहरूको सङ्ख्यामा वृद्धि हुने विश्वास उनीहरूले व्यक्त गरे । यस वर्ष पनि पुरुषभन्दा महिला तीर्थालुहरूको सङ्ख्या बढी हुने अनुमान छ ।

नेपाल भारत दुवै मुलुकका धार्मिक सांस्कृतिक एवं आपसी सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारत २ गरी १५ विश्रामस्थल छन् । प्रत्येक विश्रामस्थलका छुट्टाछुट्टै धार्मिक एवं पौराणिक महत्व रहेको मिथिला महात्मयमा वर्णन गरिएको छ ।

कञ्चनवनमा परिक्रमावासीहरू एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् । फागुन पुर्णिमाका दिन परिक्रमावासीहरू जनकपुरको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्दछन् ।

परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गरिन्छ ।

मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत , मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा हुन्छ, जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ ।

प्राचिन समयमा सियालाल जी शरण नाम गरेका सन्तले सुरु गर्नु भएको मध्यमा परिक्रमा गरेपछि मनोवाञ्छित फल प्राप्त हुने विश्वासका साथ प्राचिन समयमा सियालाल जी महाराजले परिक्रमाको शुरुवात गरेका थिए ।

टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्माण गर्नु, खाना पकाउनु , भजन किर्तन लगायतका कार्यहरू गर्नु परिक्रमावासीहरूको आस्था हो ।

प्रतिक्रिया
नागरिक मिरर