प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले माओवादीमा ल्याइदिएको तरङ्ग

गायक प्रकाश सपुतले नयाँ गीत ‘पिर’ बजारमा ल्याएका छन् । शुक्रवार यू ट्युवमा रिलिज भएको उक्त्त गीत अहिले विवादमा तानिएको छ ।

सपुतले गीतमा १० वर्षे माओवादी ‘जनयुद्ध’ को उपलब्धिलाई प्रस्तुत गरेका छन् । उनले ‘जनयुद्ध’ लडेका पूर्व लडाकुको बारेमा बोलेका छन् । १६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गरेको छ ।

गीतमा शब्द तथा कथा प्रकाश सपूतकै हो । आवाज प्रकाश र सम्झना भण्डारीले दिएका छन् । गीतको भिडियोमा प्रकाश र सुरक्षा पन्तको अभिनयले झनै सुगन्ध थपेको छ ।

त्यसो त सपूतको गीतलाई माओवादीका कार्यकर्ताहरूले युट्युबबाट नै हटउनुपर्ने बताइरहेका छन् । उनीहरूरुमाथि एकखालको तरङ्ग ल्याइदिएको छ । अझ भनौं उनीहरूले यर्थातलाई स्वीकार्न सकेका छैनन् ।

गीत रिलीज भएपछि माओवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी थिइन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्, ‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको ‘पिर’ नामक भिडियोबारे सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चेतावनी दिन चाहन्छु ।’

त्यस्तै माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आपत्ति जनाएका थिए । उनी लेख्छन्, ‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् –त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ ।’

गीतलाई लिएर माओवादी कार्यकर्ताले मात्र होइन् नेताहरुले पनि विरोध गरिरहेका छन् । माओवादी केन्द्रकी सांसद सत्या पहाडीले लेखेकी छिन्, ’चुनावको मुखैमा आएर प्रकाश सपुतले जनयुद्धको उपलब्धीलाई दिग्भ्रमित पार्दै वीरता, साहस र बलिदानीपूर्ण ढङ्गले परिवर्तनको आन्दोलनमा समर्पित वीरविराङ्गनाहरूको इतिहासलाई अपमान गर्दै गीतिकथा सार्वजनिक गरेर परिवर्तनविरोधी प्रवृतिको मतियार बनेका छन्,’यसो गरेर प्रकाशको गीतले जनयुद्धमा सहभागी महिला मात्र होइन सिङ्गो महिला समुदायमाथि लैंगिक हिंसा गरेको छ । यो निन्दनीय छ र कानुनी हिसाबले दण्डनीय पनि । यसको फैसला प्रकाश आफैंले गर्नुपर्ने छ ।’

माओवादीको नेता तथा कार्यकर्ताहरुले गरेको टिप्पणीबारे अहिले धेरै चर्चा भएको छ । कतिले एउटा सर्जक र सिर्जना देखि पूरै पार्टी डराएको बताइरहेका छन् । त्योसँगै गीत यथार्थमा आधारित भएकाले माओवादी आक्रोशित हुनुको कुनै अर्थ नभएको पनि बताइरहेका छन् ।

के छ ‘पिर’ गीतमा ?
भिडियोमा माओवादी पूर्वलडाकु आफ्नो मासु पसलको सर्टर बन्द गरेर गोडा खोल्च्याउँदै डेरामा पुग्छ । डेरामा चार महिनाको भाडा तिर्न नसकेर निरीह बन्नुपरेको अवस्थामा हुन्छन् उनीहरू । जनयुद्ध लडेर के पायौँ भन्ने श्रीमतीको प्रश्नमा उसले गर्वका साथ भन्छन्– गणतन्त्र ।

तर, त्यो जवाफ भुईंमा खस्न नपाउँदै उसकी श्रीमतीले छातीमा लागेको गोलीको दाग देखाउँदै भन्छे,देश र जनताको लागि लडेको हामीलाई त्यो गणतन्त्रले नाप्यो ।

श्रीमानलाई विदेश जान दबाब दिइरहेकी श्रीमतीले श्रीमान विदेश नजाने भनेपछि आफै विदेश जाने र त्यसका लागि पासपोर्ट बनाइदिन आग्रह गर्छिन् ।

गीतको सुरुवाती शब्द नै मर्मस्पर्शी छः
बस्नेलाई पिर परेर हुनसम्म भा छ
जानेलाई नजाऊ भन्न नसकिने रछ
तिम्रो मुँयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाति चिरिदियो
तिम्रो मुँयाले मलाई पिर दियो ।

त्यस्तै भिडियोमा देह व्यापारमा संलग्न हुन विवश भएकी माओवादी पूर्वलडाकु महिलाको कथालाई प्रस्तुत गरिएको छ ।

वैदेशिक रोजगारमा गएकी श्रीमती तीन महिनादेखि सम्पर्कविहीन भएकी हुन्छिन् । उनी खाडीमा बन्धक बनाइएकी हुन्छिन् । उसको उद्दारका लागि श्रीमानले हरसम्भव प्रयास गर्छ । तर, उसको प्रयास विफल हुन्छ । हिजो ‘जनयुद्ध’मा आफूले मारिनबाट जोगाएको कमान्डर अहिले सत्तामा भएको । तर, ऊबाट सहयोग त के अपमान व्यहोरेर फर्किएको देखाइएको छ ।

त्योसँगै भिडियोको अन्त्यमा देश भन्नु नै चार किल्लाको माटो र त्यही माटो नि टाठोबाठोको मात्र रहेको बताइएको छ ।

https://www.youtube.com/watch?v=Gep3jLq32OI
प्रतिक्रिया
सफलता भण्डारी