अनि सुरु भएको थियो नेता कार्यकर्ताको तछाडमछाड…..

जनकपुर–जयनगर रेलवे, मधेशको लागि मात्रै होइन देशबासीका लागि नै ठूलो उपलब्धी हो । नेपालमा पनि रेल चल्छ र ? भनेर धेरैले सोध्ने यो प्रश्न अब सायद आउँदैन होला । किनकी, लामो प्रतिक्षा पनि नेपालमा रेल फेरि गुड्न थालेको छ ।

हुन त नेपालमा रेलको इतिहास निकै पुरानो छ । नेपालमा पहिलोपटक सन् १९२७ मा भारतको रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल जोडिएको थियो । पछि झुम्का–धरान–बराहक्षेत्रमा पनि रेल गुडेको भएपनि पछि जनकपुर–जयनगरमा सिमित भयो । ७ वर्ष अघिसम्म जनकपुर–जयनगर गुड्दै आएको रेल २०७१ सालमा बन्द भयो । कर्मचारी पाल्न नसक्ने, रेलवेको व्यवस्थापन गर्न नसक्ने भएपछि बन्द भएको रेल अनेकौं प्रयास पछि पुनः सञ्चालनमा आएको छ ।

लामो समयको प्रतिक्षा पछि, शनिवार अर्थात् १९ गतेबाट नेपालमा रेल पुनः गुड्यो । १८ महिनाभन्दा बढी समयदेखि थन्किएको रेलले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ग्रिन सिग्नल पाएसँगै ट्र्याकमा गुड्यो ।

भारतको जयनगरमा झकिझकाउ अवस्थामा रहेको रेलले नेपाल प्रवेश गर्न दिल्लीको सिग्नल कुरिरहेको थियो । यता जनकपुरधाममा पनि रेल स्वागत गर्न भव्यताका साथ मञ्च र स्टेसन सजाइएको थियो ।

कार्यक्रम सुभारम्भ हुनु अघि नै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत स्टेजमा थिए । उनीहरूसँगै प्रदेशका मन्त्री र अन्य नेताहरूले पनि स्टेज ओगटेका थिए । सर्वसाधारण र जनता स्टेशन अघि रेलको प्रतिक्षामा थिए । उद्घाटन शत्रसम्म बसेका नेताहरू क्रमशः रेलको एसी भएको बोगी अर्थात् कोठामा प्रवेश गरे । जनताको हुल पनि लामबद्ध भएर स्वागत गर्न अघि बढ्यो ।

त्यसदिन करिब डेढ घण्टाको प्रतिक्षापछि रेल देखियो । रेलको हर्नसँगै जनताहरूको हुटिङ्ग बेजोडले मच्चियो । स्थानीय जनता तथा कार्यकर्तालाई प्रहरीले संयमता अपनाउन आग्रह गरिरहेको थियो । तर, जसो–जसो रेल सीमापारी जयनगरबाट जनकपुर नजिकिँदै थियो मानिसमा उत्तेजना त्यति नै बेजोड तरिकाले देखिँदै थियो ।

जसरी रेलको पहिलो डिब्बाले जनकपुरधामको भिड छिचोल्यो । दुई घेरामा रहेको प्रहरीले समेत भिड नियन्त्रण गर्न सकेनन् । भिडले ठेलमठेल गर्यो । स्वागत बारले भने बिच घेरालाई बचाई राख्यो ।

त्यसबीच जयनगरबाट आएका अतिथि तथा भारतीय इस्ट रेल्वे कम्पनीका महाप्रवन्धक अनुपम शर्मालाई स्वागत गरेसँगै भिआईपी अतिथि स्टेशन क्याबिन तीर लागे । तेतिन्जेलसम्म पनि अवस्था सामान्य नै थियो । नेपाल भारतका अतिथिले ‘नेपाल–भारत जय हो’ नाराले गुन्जाएमान बनिरहेको थियो । दर्शकदीर्घाबाट पनि जय नेपालको नारा उत्तिकै जोडसोसँग गुन्जिएको थियो ।

अनि सुरु भएको थियो नेता कार्यकर्ताको तछाडमछाड

त्यसको केहि बेरमै दर्शकको हुल छिचोल्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव रेलको भिआईपी गेटतिर आईन् । उनको आगमनसँगै पछि–पछि मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहपनि देखिए । उनका पछाडि थिए मुख्यमन्त्री लालवाबु राउत । उनी त्यसभिडमा आफ्ना सुरक्षाकर्मी खोज्दै थिए । तर, राउतका सुरक्षाकर्मी भने पहिल्यै रेल प्रवेश गरिसकेका थिए । त्यस बिचमा नेता तथा कार्यकर्ताहरू त्यहि हुलमा ठेलाठेल गर्दै थिए । उनीहरू म अघि त म अघि भन्दै तछाडमछाडमा उत्रिए । मन्त्री रेणु यादवले रेलको भिआईपी क्याबिन प्रवेश गरेसँगै अन्य कार्यकर्ता र नेताहरू पनि तछाडमछाडमा उत्रिए ।

गेटमा रहेको सेक्युरिटीले प्रवेश नदिए पछि एक अर्कालाई धकेल्नेसम्मको दृश्य देखियो । दर्शक भिडबाट पनि हाँसो गुन्जियो । लामो सकस भयो । नेता र नेताका कार्यकर्तालाई भिआईपी क्याबिन चढ्न । प्रहरिले भिड्लाई छिचोल्दै विस्तारै एक एक गरि प्रवेश गराए पनि केहि कार्यकर्ता छुटे । उनिहरूरुको न्याउरो अनुहारमा भने नमज्जा झल्किरहेको थियो । त्यसै भिडमा थिए जसपा कार्यकर्ता रोशन साह । साह चढ्न नपाएकोमा दुःखित देखिन्थे । आफूसँगैको साथी चढेको देखेका उनी आफू चढ्न नपाउँदा उराठ देखिन्थे । त्यसभिडमा उनिसँगै अन्य धेरै थिए, सबै जिल्ल परे ।

यस अघिपनि रेलमा गुडि सकेका तथा रेलको आनन्द लिएका जसपाद्वय नेता ज्ञानेन्द्र यादव र लाल किशोर साहलाई त्यो भिडले भने मर्यादित हुन बताई रहेपनि उनिहरू मज्जामानी रहेका थिए । अतिथि स्वागतसँगै कार्यक्रम सञ्चालन गर्नपर्ने विभागले समयलाई लम्ब्याउँदै मन्त्री र नेताहरूलाई राईड गराउने भएपछि नेताको भिडले मर्यादा बिर्सिएको थियोे ।

रेल सञ्चालनमा आएपनि रेलको संरक्षण, सम्वद्र्धन र स्थानीय वा प्रदेशको आर्थिक विकासको पाटोलाई पनि नेता तथा कार्यकर्ताहरूले हेरे । सम्भतः केही हदमा देशले फड्को मार्ने छ । अन्यथा मर्यादा बिर्सिदै तछाडमछाड गरिरहे रेलको भविष्य कति दिन रहला भन्ने पनि प्रश्न यक्षमै छ ।

प्रतिक्रिया
दिवाकर उप्रेती