पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त, ७५ वर्षे इतिहासमा कसैले कार्यकाल पूरा गर्न पाएनन्


एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् ।

पाकिस्तानको राष्ट्रिय संसदमा गयराति प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान भएको थियो । संसदमा रहेका ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

अल्पमतमा परेसँगै ६९ वर्षका प्रधानमन्त्री खान पदमुक्त भएका हुन् । राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै विपक्षी दल पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तान संविधान र कानुनलाई पुनः स्थापित गर्न चाहेको बताए ।

पाकिस्तानी प्रधानमन्त्री विरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो ।

सन् २०१८ को अगस्टमा पाकिस्तानको २२ औं प्रधानमन्त्री बनेका खान अविश्वास प्रस्तावमार्फत् सत्ताबाट च्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन् ।

यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान प्रक्रिया रोकेका थिए भने प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद भङ्ग गरेका थिए । तर, सर्वोच्च अदालतले दुवै निर्णय बदर गरेपछि शनिवार मध्य रातमा मतदान भएको हो ।

खानले विपक्षी नेतृत्वको सरकारलाई आफूले मान्यता नदिने बताएका छन् । आफूलाई सत्ताबाट हटाउनका लागि अमेरिकाको नेतृत्वमा अभियान चलेको उनले आरोप लगाउँदै आएका छन् । तर, त्यसका लागि खानले कुनै प्रमाण भने दिएका छैनन् ।

संसदले अब नयाँ प्रधानमन्त्री नियुक्त गर्ने छ । जसका लागि भोलि नयाँ नेता छान्न पाकिस्तानी संसदमा मतदान हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ बन्ने प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्ने छन् । त्यसपछि नयाँ चुनाव हुनेछ ।

अलग राष्ट्र बनेपछि पाकिस्तानमा कसैले पनि पूरै कार्यकाल सत्ता चलाउन सकेनन्

सन् १९४७ मा भारतबाट विभाजन भएर छुट्टै राष्ट्रको रुपमा स्थापित भएको पाकिस्तानमा हालसम्म सत्ता सम्हालेका कसैले पनि कार्यकाल पूरा गर्न सकेका छैनन् । पाकिस्तानमा कैयौं पटक सेनाले सत्ता कब्जा गरिसकेका छन् । ७५ वर्षे इतिहासमा दशकौंसम्म पाकिस्तानमा सेना सत्ताकै केन्द्रमा रह्यो ।

पाकिस्तानमा १९५८ देखि १९७१ सम्म सैन्य शासन रह्यो । १९७७ देखि १९८८ तम्म र १९९९ देखि १ हजार ८ सम्म पाकिस्तानमा लोकतन्त्रलाई कुचल्दै सेनाले सत्ता चलायो । त्यसबाहेक पनि १९५१, १९८० र १९९५ मा पनि पाकिस्तानी सेनाले सत्ता कब्जामा पार्ने प्रयास गरेका थिए । तर, त्यो प्रयास असफल भएको थियो । त्यति मात्रै नभई १९५३/५४ मा पनि पाकिस्तानका राष्ट्रपतिहरूले संविधान लत्याउँदै सत्ता परिवर्तन गरिसकेका छन् ।

जनरल अयूब खान, जनरल याहया खान, जनरल जिया उल हक र जनरल परवेज मुशर्रफ पाकिस्तानका यस्ता सैन्य अधिकारी थिए जसले सेनाको बलमा लोकतन्त्रलाई लत्याए ।

पाकिस्तानका कायदे आजम र तत्कालीन गभर्नर जनरल मुहम्मद अली जिन्नाले लियाकत अली खानलाई सत्ताको जिम्मेवारी दिए । स्न १९५१ म लियाकत अली खानको हत्या गरियो । उनको कार्यकाल ४ साल ६१ दिनसम्म चल्यो । लियाकत अली पाकिस्तानको पहिलो प्रधानमन्त्री मात्रै थिएनन् पाकिस्तानको हालसम्मकै इतिहासमा पदमा लामो समयसम्म रहने व्यक्तिमध्ये दोस्रो थिए ।

लियाकत अली खानको हत्या पछि सर ख्वाजा निजामुद्दीनलाई प्रधानमन्त्री बनाइयो । तर, सन् १९५३ मा गभर्नर जनरल मलिक गुलाम मुहम्मदले उनको सरकारलाई भङ्ग गरिदिए । त्यसपछि एक डिप्लोमेट रहेका मोहम्मद अली बोगरालाई पाकिस्तानको प्रधानमन्त्री बनाइयो । तर, १९५४ मा विधानसभा चुनाव पछि गभर्नर जनरलले १९५५ मा उनलाई पदबाट हटाइदिए । चौधरी मोहम्मद अली १९५५ मा पाकिस्तानको प्रधानमन्त्री बने र उनी देशको चौथो प्रधानमन्त्री थिए । तर, उनलाई उनकै पार्टीले अविश्वास प्रस्ताव पारित गरेर प्रधानमन्त्री पदबाट हटाइदियो ।

१९५६ मा हुसैन शहीद सुहरावर्दी पाकिस्तानका पाँचौं प्रधानमन्त्री बने, उनलाई पनि आफ्नै पार्टीले समर्थन गरेन र पार्टी विभाजन भयो अनि उनको सत्ता गयो । १८५७ मा इब्राहिम इस्माइल चुन्द्रीगार पाकिस्तानको छैटौं प्रधानमन्त्री बने र उनको कार्यकाल मात्र दुई महिना मात्रै रह्यो । सर फिरोज खान नून १९५७ मा पाकिस्तानको सातौं प्रधानमन्त्री बने र उनलाई उनकै पार्टीबाट राष्ट्रपति बनेका इश्किन्दर मिर्जाले १९५८ मा आफ्नो कार्यकाल बढाउनका लागि संवैधानिक तख्तापलट गरिदिए र नूनको सत्ता हट्यो ।

सन् १९७१ म नूरुल इस्लाम १३ दिनका लागि मात्रै पाकिस्तानका आठौं प्रधानमन्त्री बने । राष्ट्रपति पद छोडेर १९७३ मा जुल्फीकार अली भुट्टो पाकिस्तानका ९ औं प्रधानमन्त्री बने । तर, उनको सरकार पनि ४ वर्षमै ढल्यो । जनरल जियाले १९७७ मा सत्ता आफ्नो हातमा लिए र भुट्टो सरकारलाई हटायो । मुहम्मद खान जुनेजो १९८५ मा पाकिस्तानको दशौं  प्रधानमन्त्री बने र तीन वर्ष मात्रै पदमा रहन पाए । १९८८ मा बेनजीर भुट्टो पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री बनिन् । तर, उनका कार्यकाल पनि १ वर्ष ८ महिनासम्म मात्रै रह्यो ।

१९९० मा नवाज शरीफले देशको कमान सम्हाले र देशको १२ औं प्रधानमन्त्री बने । तर, राष्ट्रपति गुलाम इशाक खानले अप्रिल १९९३ मा उनको सरकार भङ्ग गरिदिए । १९९३ मा एक पटक फेरि पाकिस्तानको कमान बेनजीर भुट्टोको हातमा आयो । तर, नोभेम्बर १९९६ मा राष्ट्रपति फारूक लेघारीले बेनजीरलाई सत्ताबाट हटाए । १९९७ मा नवाज शरीफले फेरि एक पटक सत्ता सम्हाले । तर, १९९९ मा जनरल परवेज मुशरफले उनको सरकारलाई हटाइदिए र देशमा सैन्य कानून लागू गरे ।

सन् २००२ मा मीर जफरुल्ला खान जमाली पाकिस्तानका १५ औं प्रधानमन्त्री बने । तर, जुन २००४ मा उनलाई पदबाट राजीनामा दिनुपर्यो । त्यसपछि पाकिस्तानी संसदले चौधरी सुजात सुहैतलाई १६ औं प्रधानमन्त्री बनायो । तर, उनले १७ दिन मात्रै कुर्सीमा बस्ने मौका पाए । अगस्ट २००४ मा शौकत अजीज देशको १७ औं प्रधानमन्त्री बने । तर, उनको कार्यकाल ३ वर्ष २ महिना जति मात्रै रह्यो । सन् २००८ को चुनावमा पाकिस्तान पीपुल्स पार्टीलाई बहुमत प्राप्त भयो र यूसुफ रजा गिलानी पाकिस्तानको १८ औं प्रधानमन्त्री बने । उनको कार्यकाल चार वर्ष ३ महिना रह्यो । तर, २०१२ मा सुप्रीम कोर्टले उनलाई पदबाट हटायो । गिलानी पाकिस्तानको इतिहासमा सबैभन्दा बढी समयसम्म प्रधानमन्त्री पदमा रहने व्यक्ति पनि हुन् ।  गिलानी पछि राजा परवेज अशरफ पाकिस्तानको प्रधानमन्त्री बने । परवेज अशरफले करीब ९ मात्रै सत्ता चलाउन पाए ।

२०१३ जुनमा नवाज शरीफ एकपटक फेरि चुनाव जित्दै सत्तामा आए ।  तर, पनामा पेपर लीक केसमा उनलाई सुप्रीम कोर्टले जुलाई २०१७ मा पदबाट हटायो । जसका कारण उनले दोस्रो कार्यकाल ४ वर्ष २ महिना बिताए । त्यसपछि उनकै पार्टीले शाहिद खकान अब्बासीलाई सत्ता जिम्मा लगायो । सन् २०१८ को चुनावमा इमरान खान पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीले सहयोगी दलसँग मिलेर सरकार बनायो र २२ औं प्रधानमन्त्रीको रुपमा नियुक्त गर्यो । तर, उनको सरकार पनि ३ वर्ष ७ महिनामै ढलेको छ ।

प्रतिक्रिया
नागरिक मिरर