स्थानीय तह निर्वाचन : चुनावको मिति सार्ने बहस, सम्भावना कति ?

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ३१ दिन मात्रै बाँकी रहँदा निर्वाचन सार्न सक्ने विषयले चर्चा पाउन थालेको छ । दलहरूबीचको अन्यौलता, आन्तरिक तयारी नपुगेको र विपल्ब नेतृत्त्वको नेकपा माओवादीलाई निर्वाचनमा सहभागी गराउनु पर्छ भन्दै निर्वाचनको मिति सार्नु पर्ने विषय सतहमा आएको हो ।

गठबन्धनमा बनेको सरकारलाई टिकाइ राख्न र चुनावी तालमेलको विषयमा अझै टुङ्गो लाग्न नसक्दा चुनाव सार्नु मात्रै उत्तम विकल्प हुने बहस दलकै नेताहरूले गर्न थालेका छन् । हालसम्म पनि गठबन्धनमा रहेका दलहरूले निर्वाचनमा उम्मेदवार र कुन स्थानीय तह कसलाई भाग लगाउने विषयमा टुङ्गो लगाउन नसक्दा दलमात्रै होइन मतदातामा पनि अन्यौलता देखिन्छ ।

एकातिर सत्तामा रहेका दलहरू चुनाव सारेर आफ्नो तयारी पूरा गर्ने रणनीतिमा देखिएका छन् भने निर्वाचन सार्न भन्दै सर्वोच्चमा परेको रिटमाथि पनि सुनुवाई जारी छ ।

२०७४ मा तीन चरणमा भएको स्थानीय तहको निर्वाचनले गर्दा आफूहरूले कार्यकाल पूरा नै नगरेको हुादा महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले सर्वोच्चमा रिट दर्ता गरएका छन् । जुन अदालतमा विचाराधीन छ ।

चौरसियाले दर्ता गराएको रिटमा संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न सक्ने सम्भावना रहेको छ । तर, आदेश आइसकेको भने छैन । फागुन १३ गते दर्ता गरिएको उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

आदेशमा सञ्जीवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेशसमेत भएको छ । दुवै रिटमाथि आज छलफल भएर अन्तिम फैसला निर्वाचन अघि हुन सक्ने सम्भावना पनि रहेको अदालतले जनाएको छ ।

यता, भागबण्डा नमिलेको अवस्थामा निर्वाचन सार्ने कसरत दलहरू गरिरहेका छन् ।

आगामी निर्वाचनका लागि टिकटको लागि दौडधूप गरिरहेका नेता कार्यकर्तालाई चुनावको मिति सर्दा सहज हुने देखिन्छ भने मतदातामा देखिएको उत्साह कम हुन सक्ने पनि आँकलन गरिन्छ ।

टिकटका लागि दौडधूप गरिरहेका नेता कार्यकर्तालाई शीर्ष नेतालाई रिझाउन समय थप हुने र आफ्नो पक्षमा समिरकण बनाउन सहज हुने देखिन्छ ।

निर्वाचन सार्ने बहस हुँदै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विप्लवलाई चुनावमा सहभागि गराउनु राम्रो कुरा भएको भन्दै विपल्व यदि चुनावमा आयो भने सत्ता गठबन्धन दल सकारात्मक रहेको बताए ।

तर, गुमाउने पारामा उनले चुनावको मिति सर्न सक्ने सम्भावना पनि हुन सक्ने बताए । पत्रकारसँगको कुराकानीमा उनले भने, ‘म निर्वाचन आयुक्त भएको भए विपल्बका लागि भए पनि चुनावको मिति सारिदिन्थे । तर, अहिले यो विषयमा चर्चा भएको छैन । सत्ता गठबन्धन पनि विपल्वलाई चुनावमा लिएर जाने विषयमा सहमत छ । छलफल गरेर कुरा गर्न सकिन्छ ।’

तर, विपल्व समूहका नेता धमेन्द्र वास्तोलाले भने पार्टीले निर्णय गरे अनुसार चुनावमा जाने कुनै तयारी र छलफल नभएको बताए ।

उनले भने, ‘हामी चुनावमा जाने विषय भ्रामक मात्रै हो । पार्टीको केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गर्ने हाम्रो दायित्व हो । तर, पार्टीबाट उम्मेदवारी दिने व्यक्तिले स्वतन्त्र रुपमा जान सक्छ । उसलाई कारबाही गर्ने वा अनुसानको विषयमा बहस हुँदैन ।’

हामीले यस विषयमा सत्ता गठबन्धन दलसँग कुनै छलफल पनि नगरको उनको भनाइ छ ।

चुनाव सार्ने सम्भावना र त्यसले कस्तो प्रभाव पर्छ ?

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले चुनाव सर्न सक्ने सम्भावना एकदमै न्यून रहेको बताए । उनले सारा देश निर्वाचनमा होमिएको बेला चुनाव सार्ने बहस गर्नु उचित नभएको भन्दै चुनाव सार्न नहुने बताए ।

उनले भने, ‘चुनाव जस्तो विषयमा सरकार गम्भीर हुनुपर्छ । हुन त चुनाव सार्ने वा मिति घोषणा गर्ने काम सरकारले नै निर्वाचन आयोगसँग मिलेर गर्ने हो । निर्वाचन आयोगले यदि हुन्छ भन्यो भने चुनाव सर्न पनि सक्छ । राजनीति हो, के हुन्छ भनेर कल्पना गर्न सकिँदैन ।’

चुनावको मिति सर्यो भने त्यसको असर कस्तो पर्छ ? भन्ने प्रश्नमा आचार्यले भने, ‘सत्ता गठबन्धनको दलका शीर्ष नेताहरूले पछिल्लो समय दिइरहेका अभिव्यक्ति शङ्कास्पद छ । मिति नजिकिई सकेको अवस्था र आचारसंहिता पनि लागू भइसकेको अवस्थामा निर्वाचन सार्नु भनेको सरकार असफल हुनु हो ।’

उनले थपे, ‘केही सिमिति व्यक्तिको स्वार्थका कारण निर्वाचनको मिति सार्नु भनेको प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्त्वमा चुनाव नहुनु हो । यसले पुरै निर्वाचन प्रणाली नै प्रभावित बन्ने छ । केही तत्त्वले नेपालको संविधानलाई असफल बनाउनमा आफ्नो शक्ति लगाइरहेका छन् । जसले निर्वाचन निकै पर धकेलिनेछ । जुन पक्कै पनि नेपाल र हालको सरकारको हितमा हुँदैन ।’

यता, निर्वाचन आयोगले भने यदि निर्वाचनको मिति सर्यो भने त्यसले सम्पूर्ण निर्वाचनसँग सम्बन्धित काम प्रभावित हुने बताएको छ । कारण, हालसम्म जुन गतिमा चुनावको तयारी भइरहेको थियो त्यो पनि प्रभावित हुनेछ ।

प्रतिक्रिया
नागरिक मिरर