अघिल्लो स्थानीय तहको निर्वाचनमा ‘उप’ मा जितेकाहरू प्रमुखका आकाङ्क्षी, टिकट पाउन कति सहज ?

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब २६ दिन मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरू तीव्र तयारीमा जुटिरहेका छन् ।

राजनीतिक दलहरूका साथै गैर राजनीतिक व्यक्तिहरू पनि निर्वाचनमा होमिँदै उम्मेदवारी घोषणा गरिरहेका छन् । विशेषगरी नगरपालिका, उप महानगर र महानगरको विषयमा दलहरूबीच घम्साघम्सी भइरहँदा अघिल्लो स्थानीय तहको निर्वाचनमा ‘उप’ मा जितेकाहरू प्रमुखका लागि आकाङ्क्षी देखिएका छन् ।

संविधानले स्थानीय तहको प्रमुख वा उप–प्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ भनेर व्यवस्था गरेको हुँदा अघिल्लो निर्वाचनमा महिलाहरूको उप–प्रमुख र उपाध्यक्षमा उल्लेखनीय सहभागिता देखियो । तर, यस पटकको निर्वाचनमा निर्वाचन आयोगले संविधानलाई मिच्दै प्रमुख वा उप प्रमुखमा महिला अनिवार्य आवश्यक नरहेको बताएपछि महिला उम्मेदवारहरू अन्यौलमा परेका छन् । कारण, एक त यसै हरेक निकायमा ३३ प्रतिशत महिलाको सङ्ख्या पुर्याउन नसकिरहेको अवस्थामा भएको संवैधानिक व्यवस्थालाई निर्वाचन आयोगले लत्याएको छ ।

आफ्नो अधिकारको राम्रोसँग कार्यान्वयन गर्न नपाएका कारण र निर्वाचन आयोगको व्यवस्था पछि आगामी निर्वाचनमा ‘उप’ मा जितेकाहरू प्रमुखमा दाबी गरिरहेका छन् । तर, उनीहरूलाई प्रमुखका लागि टिकट पाउन सहज भने छैन । किनकी पार्टी पंक्तिले सँधै पुरुषलाई प्राथमिकतामा राख्छन् । यदि महिलालाई टिकट दिइहाले भने पनि विश्वास गर्दैन ।

यता, अघिल्लो कार्यकालमा उपप्रमुख हुँदा बटुलेको अनुभवले मेयरमा दाबी गर्न सक्ने भएको उपप्रमुख र उपाध्यक्षहरूको भनाइ छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुलीले अहिलेको निर्वाचनमा मेयरका लागि उम्मेदवारी दाबी गरिहेकी छिन् । उपमेयरका रूपमा क्षमताले भ्याएसम्म राम्रो काम गरेकाले आफूले मेयरमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।

पाचँ वर्षको कार्यकालमा उपमेयरको भूमिकामा रहेर धेरै सङ्घर्ष गरेकै कारण आफु मेयरमा सक्षम छु भन्ने लागेको उनको विश्वास छ ।

महिलाहरूमा पनि अध्यक्ष चलाउन नसक्ने क्षमता र हैसियत भइसकेको र कोटाका लागि मात्रै महिलालाई अगाडि बढाउने हो भने महिलाको नेतृत्व कहिल्यै विकास नहुने उनी बताउछिन् ।

सिन्धुपाल्चोककै बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रीन पनि मेयरमा दाबी गर्दै छिन् । पाँच वर्षसम्म उपमेयरका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न सक्दो कोसिस गरेको र गर्न नसकेका थुपै सपनाहरु अझै बाँकी रहेकोले बाँकी ती सपनाहरू प्रमुख भएर पुरा गर्ने उनको भनाइ छ ।

सिन्धुपाल्चोक मात्रै होइन मधेश प्रदेशका उप प्रमुख र उपाध्यक्षहरू प्रमुखमा दाबी गरिरहेका छन् ।

रौतहटको गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर आगामी निर्वाचनमा प्रमुखका लागि दाबी गरिरहेकी छिन् । तुलनात्मक रुपमा मधेसमा प्रमुख वा अध्यक्षले काम गर्न नदिएको गुनासो उपाध्यक्ष र उपप्रमुख धेरै रहेको हुँदा आफै प्रमुखमा आएपछि अधिकारको राम्रोसँग सदुपयोग गर्न पाउने हुँदा उनले प्रमुखमा टिकट पाउनका लागि लविङ्ग गरिरहेकी छिन् ।

स्थानीय तहको चुनावमा कस्तो उम्मेदवार उठाउने भन्ने मुख्य भूमिका राजनीतिक दलहरूको हुन्छ । त्यसका लागि बनाइएको मापदण्ड कुनै दलको पुरानालाई नदोह¥याउने भन्ने छ भने कतिपयले राम्रो काम गरेकालाई निरन्तरता दिने बारे छलफल चलाइरहेका छन् ।

सप्तरीको महादेवा गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादव पनि अध्यक्षका लागि टिकट पाउनका लागि जिल्लास्तरमै पनि छलफल गरिरहेकी छिन् । उनी भन्छिन्, ‘उपाध्यक्षमा जितेर काम त गरियो । तर, सोचे अनुसारको आफ्नो योजनाहरू राख्न पाइएन । त्यसकारण अध्यक्षमा जितेर आफ्ना योजना राख्ने र महिलाका लागि गरिएका वाचा पूरा गर्नु छ ।’

सहज छ त प्रमुखमा टिकट पाउन ?
राजनीतिमा एक त महिलाको सहभागिता नै कम, त्यसमाथि संवैधानिक व्यवस्थालाई नमान्ने निर्वाचन आयोगको निर्णयले महिला राजनीतिज्ञलाई यसपटक टिकट पाउन भने सहज छैन । कारण, अघिल्लो पटकको र्निाचनमा बाध्यकारी व्यवस्था थियो र, उनीहरूलाई उपप्रमुखको जिम्मा दिइयो । तर, यसपटक त्यो पनि नहुँदा महिला नै किन भनेर राजनीतिक दल भित्रै पनि बहस हुन थालेको छ ।

राजनीतिक दलमा महिलाको सहभागितालाई बढाउनु पर्छ, राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गर्नुपर्छ बारम्बार बहस भइरहे पनि त्यो पूरा हुन सकेको छैन । अब निर्वाचन आयोगले महिलालाई प्रमुख वा उपप्रमुखमा अनिवार्य गर्नुपर्छ भनेर बाध्यता छैन भनिसकेपछि राजनीतिक दलपनि बाध्य हुँदैनन् । त्यसकारण पनि महिलालाई प्रमुखमा टिकट पाउन सहज छैन ।

महिलाले नेतृत्वमा पुगे पुरुषसरहकै काम गर्नसक्छन भन्ने उदाहरण जनप्रतिनिधि मात्रै होइन, अरु निकायमा भए गरेका अभ्यासले देखाइसकेका छन् । तर, निर्वाचन आयोगको अस्तिको निर्णय र पार्टीका शिर्ष नेताहरूका कारण महिला राजनीतिज्ञहरूको भविश्य नै ओझेलमा पर्ने हो की भन्ने चिन्ता बढेको छ ।

प्रतिक्रिया