निर्वाचनको दिन सञ्चार माध्यमले कति वटा सवारीसाधन चलाउन पाउछन् ? यस्तो छ व्यवस्था

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिनमा सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ ।

शुक्रवार हुने स्थानीय तह निर्वाचनको दिनमा भिडभाड नहोस् तथा मतदानमा सजिलो र सहज होस् भन्ने उदेश्यले सवारीसाधन चलाउन रोक लगाईएको निर्वाचन आयोगले जनाएको छ । आयोगले अत्यावश्यकीय साधनका लागि पास अनिवार्य गरेको छ ।

आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निवाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सीडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले भने अनुमति लिनु पर्दैन ।

अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरिएको छ । आफै हिँडडुल गर्न नसक्ने व्यक्तिलाई मतदान केन्द्रसम्म पु¥याउनको लागि आवातजावत गर्न मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न सकिने छ ।

यसैबीच, आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते विभिन्न सञ्चारमाध्यमले प्रयोग गर्ने सवारी साधन सञ्चालनका लागि पनि मापदण्ड जारी गरेको छ ।

सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको सङ्ख्यासमेत समावेश गरेर आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको हो ।

मापदण्ड अनुसार काठमाडौं उपत्यकाभित्रका सञ्चारमाध्यम अन्तर्गत ब्रोड सिटका दैनिक पत्रिकाले प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि बढीमा पाँच र समाचार सङ्कलनका लागि बढीमा २० गरेर बढीमा २५ वटासम्म सवारीसाधान सञ्चालनका लागि अनुमति दिइने छ ।

सूचना तथा प्रशारण विभागको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालनका लागि अनुमति दिनेछन् । दैनिक पत्रिकाको हकमा प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि बढीमा पाँच र समाचार सङ्कलनका लागि बढीमा १० गरेर बढीमा १५ वटासम्म सवारी साधन सञ्चालन गर्नका लागि अनुमति पाउनेछन् ।

साप्ताहिक पत्रिकाको हकमा प्रत्येक संस्थालाई बढीमा तीन वटासम्म, टेलिभिजनलाई क्यामेरा सङ्ख्याका आधारमा प्रत्येक संस्थालाई १० वटासम्म, रेडियो तथा एफएमलाई प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि एक र समाचार संकलनका लाग बढीमा सात वटासम्म सवारी साधन सञ्चालनका लागि अनुमति दिईनेछ ।

यस्तै अनलाइन समाचारका लागि प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि दुई र समाचार सङ्कलनका लागि बढीमा पाँच वटासम्म, फोटो पत्रकारको हकमा प्रत्येक संस्थालाई बढीमा पाँच वटासम्म, राष्ट्रिय समाचार समितिलाई बढीमा पाँच वटासम्म सवारी साधन सञ्चालनका लाग अनुमति दिईने मापदण्डमा व्यवस्था गरिएको छ ।

टेलिभिजन प्रशारण संस्थाको हकमा भने बढीमा दुई वटासम्म सवारी साधन र प्रेस काउन्सिल नेपालको हकमा बढीमा पाँच वटासम्म सवारी साधन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालनका लागि अनुमति दिनेछन् ।

काठमाडौं उपत्यका भन्दाबाहिरका सञ्चारमाध्यमको हकमा सूचना तथा प्रसारण विभागले तोकेको स्थानीय सञ्चार गृह वा जिल्लास्थित पत्रकार महासङ्घको कार्यालयको सिफारिसमा प्रत्येक संस्थालाई बढीमा पाँच वटासम्म सवारी साधन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर सञ्चालन गर्न पाइनेछ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमको हकमा सूचना तथा प्रसारण विभागकै सिफारिसमा आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सञ्चालन गर्नुपर्नेछ ।

प्रतिक्रिया