२८ र २९ मा मतदान केन्द्रबाटै परिचयपत्र दिइने, जानौं निर्वाचन गतिविधिबारे

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी छ । निर्वाचनको मिति नजकिँदै गर्दा निर्वाचन आयोगले तयारीलाई पनि तीव्र बनाएको छ । निर्वाचनका लागि मतपत्र छपाई र ढुवानीको काम सकिएको छ भने अब सम्बन्धित पालिकामा पठाउने काम पनि भइरहेको छ । केन्द्रमा भएका काम जिल्लामा पुगिसके पछि अब जिल्ला स्तरबाटै निर्वाचनको तयारीका कामहरू सुरु भएका छन् ।

७७ ओटै जिल्लामा मतपत्र पुगिसकेकाले अहिले मुख्य निर्वाचन अधिकृतको कार्यलयले रुजु गर्ने काम गरिरहेका छन् । मतदान केन्द्रमा लानुपर्ने मतपत्रलाई छुट्टा छुट्टै प्याकिङ्ग गरी मतदान अधिकृतलाई निर्वाचनको दिन अघि नै पठाइसक्ने तयारी छ ।

अहिले मतदान अधिकृत र साहायक मतदान अधिकृतलाई विभिन्न समुहमा तालिमहरू दिने काम पनि जारी छ । त्यसमा मतदान प्रक्रियालाई सहज र सरल तरिकाले सम्पन्न गराउने, स्पष्ट तरिकाले मतदान प्रक्रियाबारे मतदातालाई बुझाउनेबारे तालिम हुँदैछ । त्यसपछि जिल्ला निर्वाचन कार्यलयले ५८ प्रकारको सामग्रीहरू दिएर मतदान केन्द्रमा पठाउने गरिन्छ । अहिले जिल्लामा त्यहि कामहरू भइरहेको छ ।

मतदान अधिकृतहरू २७ गतेसम्म मतदान स्थलमा पुग्छन् । २८ गते सर्वदलिय बैठक राखेर मतदान केन्द्र र मतदान स्थलको तयारी गर्नेछन् । २९ गते मतदान केन्द्रको तयारी गरेर ३० गतेको निर्वाचनमा तयारी अवस्थामा बस्नेछन् ।

त्यसअघि २८ र २९ गते मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरणको काम हुन्छ । परिचय पत्र लिन आउने बेलामा नै मतदान टोलीले मत हाल्न सिकाउने काम गर्छन् । यसरी मतदानपूर्वको सम्पुर्ण तयारीको काम अगाडि बढ्छ ।

निर्वाचनमा मतदाताको नाम नामावलीमा भए मात्रै मतदान गर्न पाउने व्यवस्था छ । मतदाता नामावलीमा नाम भएको तर, मतदाता परिचयपत्र हराएको खण्डमा नागरिकता वा परिचय खुल्ने राष्ट्रिय परिचय पत्र जस्तै, लाइसेन्स, पासपोर्ट लगायतले पनि मतदान गर्न पाउँछन् । तर, मतदाता नामावलीमा नाम नै नभएको खण्डमा भने मतदान गर्नबाट बञ्चित हुनेछन् ।

निर्वाचनमा सुरक्षालाई भरपर्दो बनाउने काम सरकारको हो । सरकारलाई सुरक्षा व्यवस्था गर्न पहिला नै आयोगले भनिसकेको छ । नेपाल सरकारबाट मतदानमा सुरक्षा भरपर्दो हुन्छ भन्ने आयोगलाई जानकारी भएको छ । त्यस्तै आयोगले पारित गरेको सुरक्षा व्यवस्थापन निर्देशिकाले सुरक्षा निकाय र आयोगबीच हुने सुरक्षा व्यवस्था समन्वयलाई स्पष्ट पारेको छ ।

त्योसँगै तत्काल सम्बोधन गर्नुपर्ने अवस्थामा अयोगकै केन्द्रिय सचिवालयमा ४ वटै सुरक्षा निकायको उच्च पदाधिकारीहरुको रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिसकेको छ ।

त्यहाँ नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना, नेपाल अनुसन्धान, रक्षा मन्त्रालय, गृह मन्त्रालय रहेका छन् । यसले विभिन्न जिल्लागत स्थानिय तह अन्र्तगत स्रोतबाट प्राप्त भएको सुचना संकलन गर्ने र त्यसमा आपसी समन्वय गर्ने र त्यसमा तत्काल सम्बोधन गनुपर्ने,तत्काल सुरक्षा दिनुपर्ने,तत्काल व्यवस्थापकीय जटिलतालाई फुकाउनुपर्ने अवस्था आएमा उक्त केन्द्रले तुरुन्त सम्बोधन गरी कार्यन्वयनमा ल्याउँछ ।

मतदाताहरूले आफ्नो नाम मतादाता नामावलीमा छ की छैन् भनेर हेर्न आयोगको वेबसाइडमा गएर हेर्न सकिन्छ ।

मतदान यहि शुक्रवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

(निर्वाचन आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया