चर्चा छ : मधेशमा निधि युगको अन्त्य हुँदैछ !

यो बहसको विषय नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सुरुभयो । जब नेपाली काँग्रेसका उप सभापति विमलेन्द्र निधिले सभापतिमा लड्ने उद्घोष गरे । यसपटक नदिए कहिले भन्दै उनले १४ औँ महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी दिए । जसले गर्दा सभापति शेर बहादुर देउवा निकट मानिएका उनी र सभापति देउवाबीचको सम्बन्धमा अमिलोपन सुरु भयो ।

निधि कुनै बेला सभापति देउवाका राइट ह्याण्ड्सका रुपमा चिनिन्थे । उनलाई काँग्रेस निकटका नेता कार्यकर्ता, उनका समर्थक र काँग्रेसकै समर्थकहरूले देउवाका प्रिय मान्छेको रुपमा चिनेका थिए । तर, तीनै निधिले देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिएपछि उनीप्रति देउवा मात्रै होइन देउवा निकट रहेकाहरूले असन्तुष्टि जनाउन थाले । हुन त निधिले काँग्रेसको १४ औँ महाधिवेशनको विषय सुरु भएदेखि नै आफूपनि सभापतिका लागि दावेदार रहेको बताउँदै आएका थिए । तर, उनलाई फकाइफुलाइ गरेर अर्कोपटकका लागि सहयोग गर्ने देउवाले आश्वासन दिँदै आएपनि त्यसो हुन सकेन, र निधिको ढिपिपनका कारण दुबैबीचको सम्बन्धमा तितोपन उत्पन्न भयो ।

महाधिवेशनको बेला काँग्रेसमा गुट उपगुटको सङ्ख्या पनि बढेर गयो । संस्थापन पक्षका साथै कोइराला, सिटौला, निधि, सिंह अनि पौडेल समूह महाधिवेशनमा देखियो । तर, पकड भने संस्थापन पक्षकै थियो । महाधिवेशनमा सभापतिको उम्मेदवारमा मात्रै चार जना थिए । निधि, देउवा, प्रकाशमान सिंह र शेखर कोइराला । जसमा कोइराला र देउवाबीच मुख्य प्रतिस्पर्धा थियो । ४ मध्ये सबैभन्दा कम अर्थात् चौथो स्थानमा निधि थिए भने तेस्रोमा सिंह थिए । पछि प्रतिस्पर्धामा निधि र सिंहले देउवालाई समर्थन गरेपछि उनी सभापतिमा चुनिए पनि । तर, निधि र देउवाबीचको सम्बन्ध भने बाह्य सामान्य देखिएपनि भित्रि रुपमा तितोपना कम हुन सकेन । जसको असर जिल्ला स्तरिय सभापति निर्वाचनमा पनि देखियो ।

आफ्नै गृह जिल्लामा भएको जिल्ला सभापतिको निर्वाचनमा निधि र संस्थापन पक्षबीच मुख्य प्रतिस्पर्धा देखियो । आफू निकट मानिएका जिल्ला सभापतिका उम्मेदवारले जित हात पार्छ वा पार्दैनन् भन्नेमा सबैको ध्यान केन्द्रीत भयो । कारण, १४ औँ महाधिवेशनमा निधिले मधेशबाट अपेक्षाकृत मत पाउन सकेका थिएनन् । त्यति मात्रै होइन गृह जिल्ला धनुषामा पनि उनलाई सन्तोषजनक मत आएन । त्यसकारण जिल्ला सभापतिको निर्वाचनमा के हुन्छ भनेर सबैले चाँसो व्यक्त गरे । कडा चुनौती दिएका संस्थापन पक्षविरुद्ध निधि निकट मानिएका योगेन्द्र पजियारले जित हात पारे । त्यसले थोरै भएपनि निधिलाई राहत भयो । कमसे कम आफ्नै जिल्लामा साख त जोगियो । कुरा त्यतिमा मात्रै सिमित भएन, निधिले महाधिवेशनको बेला ७ सयको हाराहारीमा मत प्राप्त गरेका थिए । जसमा मधेश प्रदेशबाट सबैभन्दा कम भोट आएको थियो । जसले गर्दा निधि र उनी निकट समर्थकहरू उदास मात्रै भएनन् चिन्तामा पनि देखिए । यसो हुनुको कारणबारे उनी निकट समर्थक र उनलाई आदर्श मान्नेहरूसँग बुझ्न खोज्दा निधिमा देखिएको घमण्ड र आफ्ना समर्थकलाई वेवास्ता गर्ने परिपाटी मुख्य कारण हो भन्ने बुझिन्छ ।

कडा चुनौती दिएका संस्थापन पक्षविरुद्ध निधि निकट मानिएका योगेन्द्र पजियारले जित हात पारे । त्यसले थोरै भएपनि निधिलाई राहत भयो । कमसे कम आफ्नै जिल्लामा साख त जोगियो ।

वर्तमान सभापति शेर बहादुर देउवाको विरुद्धमा लागेको र राम्रो पकड बनाएकै कारण निधिलाई मधेमा सिध्याउने चलखेल भइरहेको जानकारहरू बताउँछन् । सभापतिमा पराजित हुँदै गर्दा र गठबन्धनमा बनेको सरकारका कारण निधि आफ्नै क्षेत्रमा कमजोर हुन थालेको चर्चा छ ।

यसैपनि काँग्रेसलाई मधेशवादी दल मानिँदैन । त्यसकारण पनि निधि युगको अन्त्यका लागि संस्थापन पक्षलाई सहज भएको चर्चा छ ।

स्थानीय तहको चुनावमा निधि निटकलाई बायकट गर्दै संस्थापन पक्षले जसपालाई मेयर दिँदै गर्दा त्यसले आगामी प्रतिनिधिसभा चुनावमा निधिलाई समस्या हुने आँकलन गरिन्छ । पार्टीले टिकट नदिएपछि काँग्रेस पार्टी परित्याग गरी मनोज साहले स्वतन्त्र उम्मेदवारी दिएका छन्, मेयरमा पदमा । निधिले असन्तुष्टि जनाउनुबाहेक र आफ्नो अधिकारको लागि लड्नका लागि केही गरेको देखिएन । जसले उनलाई आगामी चुनावमा समस्या हुने देखिन्छ ।

निधिलाई नजिकसँग नियालेका एकजना जानकार भन्छन्, ‘निधि जीलाई आगामी चुनावमा निकै समस्या हुन सक्छ । उनले मनोज साहलाई मेयरमा टिकट दिलाउनका लागि खासै पहल गरेको वा आवाज उठाएको देखिएन । हुन त साह मेयरमा जित्छन् वा जित्दैनन् त्यो त फरक कुरा हो । तर, यसपटकको चुनावले आगामी प्रतिनिधिसभा चुनावमा ठूलो प्रभाव पार्छ ।’

मेयरका प्रत्यासी साहको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा निधिको घर पर्छ । उनी त्यसै क्षेत्रबाट चुनाव लड्दै आएका छन् । उनको निर्वाचन क्षेत्रमा साहको राम्रो पकड छ । निधिलाई प्रतिनिधिसभा निर्वाचनमा जित्नका लागि जनकपुरधाम उप महानगरपले ठूलो अर्थ बोक्छ । तर, उनैलाई पार्टीले टिकट नदिएर अरु पार्टीलाई टिकट दिँदा निधिलाई गाह्रो भने अवश्यक नै हुने जानकार बताउँछन् ।

आफ्नै घरमा पनि निधिले सन्तुष्टि दिन सकेका छैनन् । भाइलाई वडाध्यक्षमा टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसले पनि उनको अस्तित्वलाई चुनौती दिएको छ ।

उनलाई आदर्श मान्नेहरू अझै उनलाई विश्वास गर्छन् । तर, उनमा देखिएको केहि कठोरपनका कारण उनका समर्थकहरू नै असन्तुष्ट छन् । नाम नखुलाउने शर्तमा निधिलाई आदर्श मान्ने एकजना युवाले भने, ‘उहाँलाई उहाँकै आसेपासेले डुबाएको छ । उहाँलाई थाहा छैन वा थाहा भएर पनि अनभिज्ञ बन्नुहुन्छ थाहा छैन । कार्यकर्ता भेट्न जाँदा पनि उहाँले वेवास्ता गर्नु हुन्छ । समय दिन चाहनुहुन्न । हो, उहाँ व्यस्त मान्छे हो । तर, उनलाई आदर्श मान्नेलाई समय दिनुपनि उहाँको दायित्व हो ।’

निधिले मधेशमा राम्रो पकड बनाएपनि गत प्रतिनिधिसभा चुनावमा उनी आफ्नै क्षेत्रमा बाहिरबाट आएका व्यक्तिसँग पराजित भएकाले उनको लोकप्रियतामाथि प्रश्न उठ्न थालेको थियो । जन्मथलोमै उनी सर्लाहीका बासी राजेन्द्र महतोसँग नराम्रोसँग पराजित भएका कारण पनि निधिलाई विश्वास गर्नेहरूको सङ्ख्या घट्न थालेको विश्लेषण हुन्छ ।

यस विषयमा निधि समर्थकहरू पनि सहमति जनाउँछन् । धनुषाको धनौजी गाउँका एकजना काँग्रेसमा आस्था राख्ने र निधिका समर्थकले नाम नबताउने शर्तमा नागरिक मिररसँगको विशेष कुराकानीमा भने, ‘निधि जीले आफ्ना समर्थक, आफूलाई मान्नेहरूलाई समय दिँदैनन् । उनमा घमण्ड देखिन थालेको छ । कुराकानी गर्ने, मनमा लागेका कुरा सुन्ने र सुनाउने प्रवृति उनमा हराएर गएको छ । यस्ता व्यवहार र बानीले कसैको भलो गर्दैन ।’

यस्ता कतिपय घटनाहरू सुनिन्छ । जब उनी गत चुनावमा महतोसँग पराजित भए उनले कसैसँग कुनै संवाद गर्न चाहेनन् । चुनाव हार्नुको कारणबारे पनि उनले कसैसँग दोहोर्याएर सोधीखोजी गरेनन् । भित्रि रुपमा परिवारमै छलफल गरे होलान् वा केहि आफ्ना प्रिय आसेपासेसँग सोधीखोजी गरे होलान् । तर, भित्रि रुपमा उनलाई समर्थन गर्ने र उनलाई आदर्श मान्ने तल्लो तहका कार्यकर्तालाई सोधीखोजी गरेनन् । शक्तिमा पुग्नुले मानिसको पतन हुन्छ तर, त्यो पतनको कारण व्यक्ति स्वयं हुन्छ भन्ने कुरालाई निधिले आफै स्थापित गराएका छन् ।

‘सञ्चारमा पनि आफू निकट मानिएकासँग मात्रै बोल्ने, अन्तरवार्ता दिने, विपक्षी वा अन्य सञ्चारमाध्यमसँग बोल्न उनीसँग समय नै नहुने भएपछि उनको कुरा उनका समर्थकले कसरी बुझ्न सक्छन् ।’ काठमाडौंको एक सञ्चार माध्यममा काम गर्ने पत्रकारको यो अनुभव हो यो । यि र यस्ता अनुभव प्रायः धेरै जसोको छ ।

निधिको व्यवहारले गर्दा उनलाई समर्थन गर्ने नेता तथा कार्यकर्ताले पनि साथ छाड्न थालेका छन् । बाह्य रुपमा निधिकै समर्थन गर्ने तर, भित्रि रुपमा उनलाई असहयोग गर्नेहरू पनि बढ्न थालेका छन् । उनको यस्तै व्यवहारले जनस्तरमा पनि निधिको बारेमा सुखद सन्देश छैन । जसले गर्दा निधिको मधेश नेतृत्व बिचलनमा देखिन थालेको चर्चा छ ।

त्यति मात्रै होइन, आगामी प्रतिनिधिसभा चुनावमा निधिलाई काँग्रेसले टिकट नदिने चर्चा पनि सुनिन थालेको छ । आफूविरुद्ध सभापतिमा उठेर अनि आफ्नो कुरा नटेरेकै कारण निधिलाई वर्तमान सभापति देउवा अब पाखा लगाउन चाहन्छन् ।

जनकपुरका एकजना पत्रकारले नाम नखुलाउने शर्तमा भन्छन्, ‘काँग्रेसले यसपटक निधिलाई प्रतिनिधिसभा चुनावामा टिकट नदिने कुरा हुँदैछ । सभापतिमा देउवाविरुद्ध उठेकै कारण उनको साटो कमजोर व्यक्तिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा टिकट दिने चर्चा भइरहेको छ ।’

‘यसपटक पनि लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने र उनीविरुद्ध कमजोर काँग्रेस नेतालाई टिकट दिएर निधिलाई बायकट गर्ने चर्चा सुनिँदैछ ।’ उनले भने ।

सभापतिमा देउवाविरुद्ध उम्मेदवारी दिनु निधिका लागि कतिसम्मको घातक हुन सक्छ र उनको राजनीतिक करियर नै समाप्त हुन सक्छ भन्ने कसैले पनि सोचेको थिएन । तर, पछिल्लो समय त्यस्तै चर्चा छ । हुन त निधिले टिकट पाउँछन् वा पाउँदैनन् त्यो त हेर्न बाँकी नै छ । तर, निधिलाई मधेश र काँग्रेसबाट समाप्त पार्नका लागि केही शक्तिहरू भने लागिपरेको चर्चा छ ।

(यस सामग्रीमा उल्लेख गरिएका स्रोतको नाम नखुलाउनुको कारण, गोपनियताको हकलाई ध्यानमा राखिएको छ ।)

प्रतिक्रिया
सुषमा कर्ण(स्नेहा)