स्थानीय तह निर्वाचन २०७९ : राजनीतिक दललाई स्वतन्त्र उम्मेदवारको चुनौती

काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहेको छ । कतिपय स्थानमा नतिजा सार्वजनिक भइसकेको छ भने कतिपय स्थानहरूमा मतगणना जारी छ । तर, यस पटकको चुनावमा राजनीतिक दलकोभन्दा स्वतन्त्रको चर्चा बढी छ ।

यतिबेला बढी चर्चामा छ, काठमाडौं महानगर । महानगरको मेयरमा दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले निकै फराकिलो मतले सुरु देखिनै लिड गरिरहेका छन् ।

हुन त बालेनले काठमाडौंको मेयरमा उम्मेदवारी दिने भन्ने घोषणा गरेदेखिनै उनी चर्चामा थिए । बालेन र्यापर हुन् भने उनले सिभिल इन्जिनियरिङ पनि गरेका हुन् । निर्वाचन अगाडि बालेनले समर्थनका साथसाथै निकै आरोप प्रत्यारोपहरू पनि खेप्नु पर्यो ।

युवा जमातको बढी समर्थन पाएका बालेनलाई मेयरमा अन्य दलबाट उठेका प्रतिस्पर्धीदेखि सामान्य नागरिकहरूको समेत विभिन्न भनाइहरू सुन्नु परेको थियो । कतिपयले उनको उम्मेदवारीलाई युवा जमातले उठाएको हुटहुटी भनेर ब्याख्या गरे भने कतिले दलको मत काट्न आएको अड्कलबाजी समेत गरे ।

बालेनको प्रतिस्पर्धामा नेकपा एमालेका केशव स्थापित छन् भने पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रसकी सिर्जना सिंह छिन् । पछिल्लो मतपरिणाम अनुसार काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन पहिलो स्थानमा छन् भने स्थापित दोस्रो र सिंह तेस्रो स्थानमा छिन् ।

यसअघि पनि काठमाडौंको मेयर बनिसकेका स्थापित निर्वाचन अगाडि आफ्नो जित सुनिश्चित रहेको बताएका थिए । उनले त्यतिबेला आफ्नो प्रतिस्पर्धी नै देखेनन् । अझ निर्वाचन नहुँदै गेम इज ओफर भनेर दिएका उनको अभिव्यक्तिले उनी झन् चर्चामा रहे ।

‘मी टु’ को आरोप खेपिरहेका स्थापितलाई निर्वाचनको मुखमा उक्त कुरा उठाउँदा उनले दिएको अभिव्यक्ति र महिला सञ्चारकर्मीलाई भनेको अभिव्यक्तिले उनको चर्को आलोचना समेत भयो । भोट माग्ने क्रममा भेटिएका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेनलाई उनले सफल इन्जिनियर भवः भनी आशिर्वाद समेत दिन भ्याए । यस्ता गतिविधिले चर्चामा रहेका स्थापित अहिले महानगरको मेयर पदका लागि दोस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् । हुन त अहिले नेकपा एमालेकै कतिपय शीर्ष नेताहरूले स्थापीतलाई पार्टीले योग्य उम्मेदवार नछानेको आरोप लगाइरहेका छन् ।

यता सत्तागठबन्धनबाट उठेकी नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह भने पुस्ते राजनीतिक विरासत छ । विधार्थी जीवनमा राजनीतिमा होमीएकी सिंह पछिल्लो समय राजनीतिमा गुमना थिइन् । उनको उम्मेदवारीले उनलाई नातावादको ट्याग लाग्यो ।

पुस्तौ राजनीतिक बिरासतबाट आएकी सिंह र पूर्व मेयर समेत भइसकेका स्थापितलाई अहिले ३२ वर्षे ठिटो बालेन साहले आछुआछु पारिरहेका छन् ।

काठमाडौं मात्रै नभएर अहिले काठमाडौं बाहिरका केहि स्थानहरूमा स्वतन्त्र उम्मेदवारको चर्चा धेरै छ । धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल भने निर्वाचित भइसकेका छन् । हमालले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पराजित गरेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङको पनि चर्चा उतिकै छ ।

उपमहानगरपालिका साम्पाङको अग्रता कायमै छ । साम्पाङलाई गठबन्धनका उम्मेदवार किशोर राईले पछइरहेका छन् भने नेकपा एमाले की मञ्जु भण्डारी पछि पछि छिन् ।

त्यसो त भरतपुर महानगरपालिकामा पार्टिबाटै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल पनि चर्चा मै छन् । नेपाली काँग्रेसले गठबन्धन गर्दै माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई मेयरमा उठाएपछि रुष्ट बनेका पौडेलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

पौडेलको उम्मेदवारीले गठबन्धनमा तहल्का मच्चियो । उनको उम्मेदवारी र्फिताका लागि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा चितवन पुगे । तर, पौडेलले आफ्नो अडान नछोडेपछि उनी चुनावी मैदानमा उत्रिए ।

अहिले भरतपुरमा रेणु दाहाल अग्र स्थानमा छिन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदी दोस्रो र जगन्नाथ पौडेल तेस्रो स्थानमा छन् ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहको पनि अग्रता कायमै छ । नेकपा एमालेका उम्मेदवार शिवशङ्कर साह दोस्रो स्थानमा छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरी तेस्रो स्थानमा रहेका छन् । सत्ता गठबन्धनका उम्मेदवार लाल किशोर साह भने चौथो स्थानमा रहेका छन् ।

हालसम्मको नतिजामा स्वतन्त्र उम्मेदवारी दिएरै जुम्लाको कन्का सुन्दरीमा दलित समुदायले उम्मेदवारी दिएर जित हात पारेको छ भने हालसम्म २८ जनाभन्दा बढीले जित हात पारिसकेको छ ।

यसरी स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिइरहँदा राजनीतिक दलहरूलाई भने सङ्कट परेको छ । दलहरूको तानसाहबाट आम सर्वसाधरणहरू आजित भएकै हुन् भन्ने कुरा यो निर्वाचनले देखाइदिएको छ ।

प्रतिक्रिया
सफलता भण्डारी