मासिँदै गएको ‘चुरे जोगाऔं, वातावरण बचाऔं’



तराई मधेशमा गर्मी अत्तिनै बढेको छ । गर्मीले गर्दा सहजरुपमा काम गर्न कष्ठ भएको अनुभुती प्रायःसबैलाई नै हुन्छ । तर, गर्मी बढेपनि समाजमा किन र कसरी गर्मी बढ्यो भन्ने चेतना कसैमा पनि आएको देखिँदैन । हुन पनि हो, समाजका जागरुकहरूले परिवर्तनको नाममा ढलाने विकासलाई प्राथमिकता दिएको देखिन्छ । उनीहरूलाई के थाहाँ छैन भने मानिसको अस्तव्यस्तपूर्ण व्यवहार तथा अचेत चेतनाको कर्तुतले गर्दा पछिल्लो पुस्ताले अस्वभाविक गर्मी भोग्नु परेको हो ।

जलवायुको एक नजरबाट हेर्दा तराईको भुभागमा हरियाली मासिएको छ । रुख तथा चौतारा समाप्त भएका छन् । त्यस्तै सडक र अन्यविकासे योजनाको नाममा कसरी रुख काट्ने ध्यानमा रहेका जनप्रतिनिधि झाडुको भरमा गर्मी नियन्त्रण हुने जुक्ति बताउँछन् । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा पनि उस्तै अवस्था छ । विकासको विलखबन्दमा रहेका प्रतिनिधिले ढलान गर्दा लामो समय टिक्ने भन्दै जहाँ जतापनि कङ्क्रिट ढलान गरेकोले तराईबासीले छिट्टै पानिको पनी समस्या भोग्ने निश्चित देखिन्छ । तराईका सबैजिल्लामा गर्मी बढेपनि जनस्तरमा चेतना जागेको देखिन्न । त्यस्तै फोहरको उचित व्यवस्थापन तथा त्यसलाई नियन्त्रण गर्ने सम्भावना नबनाउँदा लोकमार्गका हरेका कुनामा फोहर फ्यालेको देखिन्छ । त्यस्तै पछिल्लो समय मानिसमा देखापरेको मानसिक स्वास्थ तथा रोगव्यादीले ग्रसित भएको कारणपनि परिर्वतित मौसम नै भएको जानकारहरू बताउँछन् ।

यो समस्याको समाधान सहि समयमा नभए तराईमा थुप्रै सङ्कट उत्पन्न हुने पनि देखिन्छ । केही दिन पूर्व एक कार्यक्रममा भाग लिन पोखरा जाँदा एक ६८ वर्षे डुङ्गा चालक चिजमान गुरुङसँग कुराकानी गरेको सम्झिन्छु । उनि तैरिरहेको डुङ्गाको बेगलाई सम्झिदै भने, ‘मैले देखेको फेवा ताल १५ वर्षसम्म ताल रहन्न, यो पोखरी हुन्छ, भन्ने डर छ ।’ उनको यहि भनाइलाई मान्ने हो भने तराईको परिपेक्षमा समानान्तर पोखरी सुक्ने र वातावरणमा गर्मी बढ्ने निश्चित नै छ ।

समस्यालाई निर्क्यौल तिर जान अब युवाहरू जगरुक हुन जरुरी छ भने सरकारपक्ष पनि सचेत रहन पर्छ । विकासको नाममा विनास निम्तिरहेको समाजलाई पुनः उत्थान गर्न सरकारको प्रकृतिमैत्री कार्ययोजना आउन जरुरी छ । त्यस्तै चिजमानहरू जस्ताको आवाजमा भन्दा उनिहरूले देखेको जस्तो वातावरणलाई पुनः बनाउन सरकार लाग्नै पर्छ ।

गुरुङसँगको लामो गफको अन्तरालमा उनले स्वरुपराज आचार्यको स्वरमा रहेको गीत सम्झिँदै भने,
‘पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ
आँधि आए तराईमा पहाडले छेक्नु पर्छ…’

यो गीतमा भनेझै तराईमा बढ्दो गर्मी, बाढी, डुबान लगायतका समस्या समाधानका लागि सबैले वातावरणलाई कसरी जोगाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ ।

स्थानीय सरकारको विकासका कारण बन्ने बाटोघाटो, निरन्तरको औसतभन्दा बढीको वर्षा, २०७२ को भूकम्पले धक्का खेपेको पहाडलाई जोगाउनुका साथसाथै मानिस, पशुपन्छि र पर्यावरणलाई जोगाउनका लागि सबैले हातेमालो गर्नुपर्छ । यी सबबाट जोगिन र जोगाउनका लागि वातारणको संरक्षण नै पहिलो प्राथमिकता हो । त्यसकारण, वातावरण जोगाऔं, जीवन जोगाऔं ।

प्रतिक्रिया
दिवाकर उप्रेती