सरकारी कलेजमा शौचालय व्यवस्थित बनाउन कहिले बहस गर्ने ?

केहिदिन अघि म परीक्षाको शीलशीलामा महेन्द्र रत्न क्याम्पस ताहाचल पुगेको थिए । परीक्षा दिनका लागि त्यहाँ सयौं विधार्थीहरूको उपस्थिति थियो । ३ घन्टाको परीक्षा सकेपछि म घर फर्कनुभन्दा पहिले शौचालय पुगे । तर, शौचालयको अवस्था देख्दा शौचालय जाउ कि न नजाऊ दोधारमा परे । कारण, शौचालयको अवस्था देखि नसक्नु थियो ।

शौचालय पुगेका कतिपय विद्यार्थीहरू छ्या कति फोहोर रैछ भन्दै नाक थुनेर फर्किरहेका थिए । बाध्यात्मक अवस्थामा रहेका कतिपय विद्यार्थीहरूले भने शौचालय प्रयोग गरिरहेका थिए ।

महेन्द्र रत्न क्याम्पसको मात्र होइन् मैले स्नातक तह ललितपुरमा रहेको पाटन मल्टिपल कलेजमा पढिरहँदा उक्त कलेजको शौचालयको अवस्था पनि त्यस्तै थियो । हजारौ विद्यार्थीलाई शिक्षा दिइरहेको कलेजको शौचालय हेर्दा लाग्थ्यो त्यहाँ कुनै मानविय संवेदना नै छैन् । कतिपय अवस्थामा शौचालय फोहोर भएकै कारण घरसम्म आइपुग्नु पर्ने बाध्यात्मक परिस्थिति बन्थ्यो ।

मैले आफ्नो अध्ययनका क्रममा विभिन्न सरकारी कलेजहरूमा परीक्षा दिन जाँदा अधिकांश कलेजको शौचालयहरूको अवस्था उस्तै देखेको छु । पहिलो कतिपय शौचालयमा जान नसक्ने अवस्था हुन्छ, दोस्रो अलि सफा भएपनि पानी नै हुँदैन्, तेस्रो कतिपय शौचालयको ढोकामा चुकुल नै हुँदैन् ।

सरकारी कलेज पढ्नुभएका कतिलाई त याद होला भित्र मान्छे छ है भन्नका लागि शौचालय बाहिर साथीलाई पाले राखेको । यस्तो देख्दा लाग्छ सरकारी कलेजहरूको शौचालयमा चुकुल नहुनु अनिवार्य नै हो ।

सामान्यता शौचालय मानव स्वास्थ्यसँग जोडिएको छ । हामिले दैनिक प्रयोग गर्ने शौचालय सफा नहुँदा विभिन्न खालका सङ्क्रमण हुन सक्ने सम्भावना उतिकै छ । तर, भविष्य उज्वल बनाउन शिक्षा दिने शैक्षिक संस्थाहरूको शौचालयको दुरदशा भने काहालिलाग्दो छ ।

बेलोबलामा विद्यालयमा कोशोरीमैत्री शौचालय हुनुपर्ने बहसहरू भने उठ्ने गर्दछन् । विद्यालयका शौचालयमा प्रशस्त पानीदेखि लिएर सेनेटरी प्याडको समेत व्यवस्था हुनुपर्ने जस्ता बहसहरूले पछिल्लो समय धेरै विद्यालयमा यस्ता व्यवस्थाहरुरूभएको पाइन्छ । हुनत यो भित्रका पनि धेरै समस्याहरू छन् । तर, एउटा सुरुवात भने भएको छ ।

विद्यालयमा किशोरीमैत्री शौचालयको बहस गर्ने हामीले कलेजहरूमा किन त्यसको बहस गर्न सकेनौं । कि त्यसको आवश्यकता महसुस भएन भनौं भने आज पनि कलेजमा अध्ययन गर्ने सयौं महिला दिदिबहीनीहरू व्यवस्थित शौचालय नभएकै कारण महिनावारी भएको बेला कक्षा छोडेरै घर फर्कन बाध्य छन् ।

कलेजहरूमा विद्यार्थी हक हितका लागि भन्दै सञ्चालन गरिएका विधार्थी सङ्गठनहरूको नजर पनि यतातिर गएको खासै देखिँदैन् । कलेजका विद्यार्थीहरूको समस्या उजागर गर्छौ भन्ने सङ्गठनहरूको शौचालय समस्याको रुपमा नै परेको छैन् ।

हुनत हजारौ विद्यार्थीहरूलाई शिक्षा दिन तत्पर रहेका कलेजहरूले आफ्नो कलेजको शौचालयमा नी व्यवस्थित नै राख्नुपर्ने हो । तर, कलेजहरू यस्ता समस्याहरूमा अनभिज्ञ बनिरहेका छन् ।

सरकारी मात्रै के कुरा गर्ने, निजी तर्फका क्याम्पसहरूको पनि अवस्था उस्तै छ । पहेँलो पुल नजिकै रहेको सान इन्टनेशनल कलेजको महिला शौचालयको अवस्था पनि दयनिय नै छ । शौचालयमा जान पनि डर लाग्ने अवस्था छ । न त शौचालयमा सेनेटरी प्याड छ न त पानीको राम्रो व्यवस्था नै । दुर्गन्ध पनि उस्तै ।

सरकारी कलेज सुधारको जिम्मेवारी स्वयं कलेजको होस वा राज्यको तर, यस्ता खालका समस्याले गर्दा विद्यार्थीको मनोसामाजिक भावनामा प्रभाव पर्न जान्छ । कतिपय अवस्थामा हेर्दा सामान्य लाग्ने कुराहरूले दीर्घकालिन रुपमा ठूलो असर पारिरहेको हुन्छ । त्यसैले समस्या कुनै सानो हुँदैन् त्यसलाई हेर्ने नजर फरक हो ।

प्रतिक्रिया
सफलता भण्डारी