विपन्न दलितलाई लालपुर्जाको ‘लालसा’

जनकपुरधाम । मुखियापट्टी मुसहरनिया–३, तुलसियाहिकी ६० वर्षीया सरला देवी आफ्नै नामको जग्गामा सुविधायुक्त घर बनाउँन चाहन्छिन् । उनी चार दशकदेखि यो सपना बुनिरहेकी छन् । तर, ऐलानी जग्गामा बसोबास गरिरहेकी उनको सपना हरेक पटक चक्नाचुर भएर टुट्दै आएको छ । ‘विवाह गरेर आएदेखि एउटै सपना छ, आफ्नो नाममा जग्गा होस् । त्यही जग्गामा खानेपानी र शौचालयसहितको घर होस्,’ उनले भत्किएको टाटी लिप्दै भनिन्, ‘खोई कहिले सपना पूरा हुने हो ?’

सरकार र निर्वाचित जनप्रतिनिधि निर्दयी भएको उनको आरोप छ । बसोबास गरिरहेकै ऐलानी जग्गाको ‘लालपुर्जा’ पाउन उनले पटक–पटक आसवाश्न पाइन् । तर ‘लालपुर्जा’ पाउने उनको लालसा अझै पूरा भएको छैन् । ‘चुनावको बेला थरीथरीका नेता घरमा आउछन् । भाषण गर्छन्, समस्या सुनाउँदा आश्वासन दिन्छन्,’ उनले भनिन्, ‘तर, कसैले लालपुर्जाको लागि पहल गर्दैनन् । ’
सरलादेवीको ६ जनाको परिवार छ । दुई छोरा मजदुरी गर्छन् । मजदुरी गरेर ल्याएको पैसाले खान, लाउन पनि अपुग हुन्छ । घरमा कोही बिरामी भए ऋण नै लिनु पर्ने उनको बाध्यता छ । बसोबास गरिरहेकै जग्गाको लालपुर्जा पाए ऋण लिएर घर बनाउने उनको इच्छा छ ।

उनी जस्तै घर अभावमा पीडा भोगिरहेकी छिन् त्यहीँ वस्तीकी ४० वर्षीया नगिया देवी सदा । आर्थिक रुपले विपन्न उनी न घडेरी किन्न सक्षम छिन् न त घर बनाउन । त्यसमाथि उनलाई घुँडा दुख्ने समस्याले सताइरहन्छ । उनले घर अभाव हुँदा शरीरमा रोग बल्झिएको सुनाइन् । चिसो र वर्षाको समय असह्य पीडा हुने गरेको उनको भनाइ छ । ‘गरिवको जिन्दगी छ सर । न औषधि किन्ने पैसा छ, न घर बनाउने,’ उनले घुँडा मालिस गर्दै भनिन्, ‘जीवनमा भगवानले पैसा दिएको छैन, तर पीडा धेरै दिएको छ ।’ उनको श्रीमान मंगल सदा ट्रयाक्टरमा मजदुरी गरेर घर परिवार चलाउँछन् । घर नभएकै कारण बालबालिकालाई सह्यार गर्न निकै समस्या भइरहेको उनको १८ वर्षीया छोरी सीमा सदाले बताइन् । ‘सानो बाबुहरूलाई पालनपोषण गर्न समस्या हुन्छ । बिरामी भइरहन्छ,’ सीमाले भनिन्, ‘बालबालिकाकै रेखदेखको लागि मेरा पढाई छुट्यो ।’

परालको ओछ्यान

सात जनाको परिवार, दुई कोठे घर, भुँईमा परालमाथि ओछ्यान अनी खुल्ला अकाशमा माटोको चुलोमा खाना बनाउँदै थिइन् १८ वर्षीया पुनम सदा । ‘परालको ओछ्यानमा को–को सुत्नुहुन्छ ? प्रश्न पुरा हुन नपाउँदै पुनमले भनिन्, ‘सबैजना सुत्छन् ।’ परालको ओछ्यानमा कष्टकर जीवनयापन गर्नु यस वस्तीका अधिकांश नागरिकको बाध्यता हो । तर पुनमले विवश शैलीमा यसलाई राज्यको नभई भाग्यलाई दोषी देखाइन् । ‘सरकार, नेता, मुखियाको काम हो भाषण गर्नु,’ उनले निरास शैलीमा भनिन् ,‘गरिवको समस्यासँग उनीहरूलाई कुनै मतलब छैन् । परालकै ओछ्यानमा जीवन गुजार्न भाग्यमा लेखिएको छ त के गरौं ?’

नाम मात्रको शौचालय

यस वस्तीमा २२ घरधुरी छन् । जसमा एक सय ४० जना बसोबास गर्छन् । तर, कुनै पनि घरमा व्यवस्थित शौचालय छैन् । १२ वटा घरमा शौचालयको सिट राखिएपनि पर्खाल छैन । अर्थात प्रयोगविहीन अवस्थामा छन् । सरकारले खुल्ला दिसा पिसाव मुक्त घोषणा गरेको पाँच वर्ष बितिसकेको छ । तर, यो वस्तीको कुनै पनि घरमा व्यवस्थित शौचालय छैन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मुखियापट्टी मुसहरनिया गाउँपालिकाको २२ दशमलव ९ प्रतिशत घरपरिवारले खुल्लामै शौच गर्ने गरेका छन् । जग्गा अभावमा शौचालय बनाउन नसकेको घुरन सदाले बताए । ‘शौचालय बनाउने सामग्री वडा र नगरपालिकाले दिने भनिएको थियो,’ उनले भने, ‘जोसँग अलिअलि जग्गा थियो उनीहरूले समान लिए । तर, थप पैसा नभएर पूरा हुन सकेन् ।’ सामुदायिक शौचालयको लागि पटक–पटक पहल गरेपनि नबनाइदिएको उनको आरोप छ ।

वर्षातमा खाद्यान्न संकट

वर्षातको समयमा वस्तीमा खाद्यान्न संकट नै हुने गरेको अजय सदा बताउँछन् । घर नहुँदा भएको अन्न वर्षाको पानीले भिजाएपछि समस्या हुने गरेको उनको कथन छ । ‘साँघुरो घर छ । अधिकांश व्यक्ति घरमा सुत्छन् र आँगनमा खाद्यान्न राख्छन्,’ उनले भने, ‘वर्षा हुँदा भएको पीठो, चामल लगायत खाद्यान्नहरू भिज्छन् । अनी वस्तीमा खाद्यान्न संकट हुन्छ ।’ वर्षाको समयमा मागेर वा सापटी लिएर घर चलाउने गरेको उनले बताए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मुखियापट्टी मुसहरनियामा ५ हजार ४ सय ३१ परिवार बसोबास गर्छन् । जसमा ७७ प्रतिशतको घर र जग्गा नै छैन । पालिकामा १७ दशमलव ५२ प्रतिशत विपन्न, १५ दशमलव ७६ प्रतिशत अति विपन्न र ३२ दशमलव ९५ प्रतिशत घरपरिवार मध्यमवर्गका रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले स्थानीय सरकारसँग स्रोतसाधन नभएका कारण उक्त वस्तिको समस्या समाधान हुन नसकेको स्वीकारे । यद्यपी सकेको जति गरिरहेको र कार्यकालमै सबै नागरिकको आफ्नै सुरक्षित घर हुने उनले आश्वासन दिए ।
‘स्थानीय सरकार त्यति समक्ष छैन्, जसले गर्दा जग्गा उपलब्ध गराइदिने र घर बनाइदिन सक्छौँ,’ उनले भने, ‘तर, पनि विभिन्न निकायसँग सहकार्य गरेर, पहल गरेर काम गर्दै छु ।’ प्रदेश सरकारसँग सहकार्य गरेर दलित र विपन्नको घर बनाउन काम गर्ने उनले लक्ष्य राखेको बताए ।

लालपुर्जाको लागि नापी गराइएपनि केही जटिलता देखिएको कारण लालपुर्जा वितरणमा ढिलाई भएको उनले बताए । ‘ऐलानी जग्गाको लालपुर्जा दिने कानूनी व्यवस्था छैन् । लालपुर्जा नभएपछि घर बनाउन अनुदान पनि दिन मिल्दैन,’ उनले भने, ‘त्यसकारण समस्या देखिएको छ, हामी पहल गर्दै छौं ।’ सार्वजनिक सम्पत्तीको सुरक्षाको अधिकार मात्रै स्थानीय सरकारलाई भएको र प्रयोग गर्ने अधिकार भएको भए समस्या नहुने उनको जिकिर छ ।

मुखियापट्टि मुसरनिया–३ का वडाध्यक्ष रामसागर महतोले स्थानीय सरकारको मातहतमा नहुँदा समस्या भएको सुनाए । ‘हाम्रो भूमिका समन्वयमा हुन्छ । हामीले गरेकै छौं,’ उनले भने, ‘लगानी गर्न हामी सक्षम पनि छैनौं र हामीलाई त्यती अधिकार पनि छैन् ।’

मधेश प्रदेश सांसद तथा महिला बालबालिका तथा सामाजिक न्याय समितिको सभापति रुपा यादवले प्रदेश सरकारले स्थानीय सरकारसंग सहकार्य गरेर विपन्न र दलितको अवास बनाइरहेको बताइन् ।

प्रतिक्रिया
    ट्याग: