प्रकाशकीय : हाम्रो अठोट

सूचना सबैको हक हो । त्यसैले सञ्चार जगत दिनप्रतिदिन बामे सर्दैछ । सञ्चार माध्यमका विभिन्न विधामा त्यति नै धेरै अस्वस्थ र रोमाञ्चकारी प्रतिस्पर्धा छ । सूचना जनता समक्ष पु¥याउन कसैले कुनै कसर बाँकी राखेका छैनन् । आम सञ्चारका यतिविघ्न माध्यम हुँदापनि जनता भने सत्य–तथ्य र विश्वासिलो सूचनाको भने अझै भोको छन् । उनीहरुलाई धित मर्नेगरी हामीले भरपर्दो र विश्वासिलो अनलाइन लिएर आएका छौं । जहाँ सत्य र तथ्यलाई नै मुलमन्त्र बनाइएको छ ।

हामी यहाँहरु माझ ‘नागरिक मिरर डट कम’ अनलाइन लिएर उपस्थित भएका छौ । भनिन्छ, साहित्य, सञ्चार समाजको ऐना हो । समय, परिवेश र परिस्थिति अनुसार यसको परिभाषा पनि बदलिन थालेको छ । अब ऐनाले व्यक्ति र समाजको अनुहार मात्र देखाउँदैन् उनीहरुको सुखदुःखमा सारथि बन्ने विश्वास दिलाउन चाहन्छु । ऐनालाई अन्ध्यारोमा राखियो भने यसले पक्कै पनि वास्तविक अनुहार देखाउँदैन् । धमिलो र अस्पष्ट चित्र देखाउला । त्यो स्वाभाविक पनि हो । त्यसैले नागरिक मिररले पनि व्यक्ति, समाज र देशमा भएका बेथितिका चाङ्ग विरुद्ध कडा प्रहार गर्नेछन् । समाज रुपान्तरणमा यसको भूमिका खरो रहनेछ ।

राज्यको चौथो स्तम्भ पत्रकारिताको सत्य हेर्ने तेस्रो आँखा खोल्न यो हरसम्भव प्रयत्नशील रहने यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । स्वतन्त्र, समृद्ध र सुरक्षित लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रता रक्षाका लागि यससँग सबल नेतृत्व छ जसले पक्कै पनि पाठकको मन जित्न सफल हुनेछ ।

चौतर्फी असुरक्षा, अभाव खेपि रहेका सञ्चार जगत र दिनहुँ संघर्षको दौरबाट गुज्रिरहेका सञ्चारकर्मीहरुका लागि यसले सम्बलको कार्य गर्नेछन् । अभाव र असुरक्षाका कहालिलाग्दो मौजुदा दौरबाट अब उभ्रिनै पर्छ भन्ने मान्यता आत्मसात् गरेर यसले राष्ट्रको ईज्जत, प्रतिष्ठा र मर्यादाका साथ असल पत्रकारिताका लागि श्रमजीवि पत्रकारका लागि बाटो खोल्ने छ । ं

साच्चिकै यसले सञ्चार माध्यम जनताको ऐना भएर सञ्चार क्षेत्र जगतमा एउटा नयाँ आयाम, आयतन र अवयवको साथ प्रस्तुत गर्दै नयाँ अध्यायको सुरुवात गर्दैछ ।

नयाँ जोश, उमङ्ग र ऊर्जाले भरिएका यूवा श्रमजीवि पत्रकारहरु मिलेर सञ्चार जगतमा यो सञ्चार माध्यम ल्याएको हो । अन्य सञ्चार माध्यमले बोकेका पुरातन अवधारणालाई त्यागेर पृथक सोच, शैली र स्वस्थ एवं परिवर्तनकामी दृष्टिकोण र फरक स्वादका साथ समाचार र विचारहरु पस्किने जमर्काे गर्नेछन् यसले ।

अनौठो, अलग, विश्वासिलो र रुचिकर कन्टेण्ट, विकास र सामाजिक मुद्धालाई पहिलो प्राथमिकतामा राखी शिक्षा, कृषि, राजनीतिक अन्य आर्थिक, साँस्कृतिक सबाल र मुद्दाहरुलाई अग्र स्थानमा राखेर जिम्मेवार र कर्तव्यनिष्ठ तथा उत्तरदायी भएर सेवा प्रदान गर्ने छ ।

समाजमा सीमान्तकृत समुदाय र दबिएको, दवाइएका र ओझेलमा रहेका पात्र, प्रवृत्ति, सवाल र मुद्दाहरुलाई जोडतोडका उठाउने टेकोको रुपमा यसलाई प्रस्तुत गरिने छ ।

कुनै पनि हालतमा कहिलै पनि कसैको दबाब, प्रलोभनमा परेर कार्य गर्न बाध्य हुने छैनन् । कुनै राजनीतिक प्रभाव आस्थासँग जोडिएर भ्रम छराई गर्न कार्यबाट आफूले यसले कोसो टाढा राख्ने छन् ।

मानवीय अभिरुचिलाई ख्याल गर्दै अक्षर र आवाजसँगै तस्वीर र श्रव्यदृश्यको माध्यमबाट जनजनदेखि जनमनसम्म आफूलाई स्थापित गर्ने प्रण गर्दछ ।

काखापाखा नगरी भेदभावरहित, समतामूलक समाज निर्माण र सामेली लोकतन्त्रमा सबैलाई अपनत्व महसुस हुने गरी सबैका लागि सँधैका लागि यो सञ्चार माध्यमले आफ्नो जिम्मेवारी तदारुकताका साथ गर्नेछन् । जनता, पाठक नै यसको सम्बल हो । अनि त आवाज विहिनको आवाज भएर यो सदैव मुखरित हुनेछ । अभिव्यक्ति स्वतन्त्रता, सञ्चारसँग जोडिएका राष्ट्रिय अन्तर्राष्ट्रिय ऐन, कानून, मूल्यमान्यता र आचार संहितालाई पूर्ण पालना गर्दै देश र जनताको हितमा सदा समर्पित रहने छ ।

धर्मनिरपेक्षता, लैङ्गिक समानता, सबलता र सशक्तिकरण, यूवा आदि सबै उमेर तह, तप्काका पाठकहरुका अभिरुचिलाई मध्यनजर गर्दै यसले बौद्धिक खुराक पस्कने छ । यसरी पाठकप्रतिको लगावलाई ख्याल गर्दै काम गर्दै दौरानमा कहिलेकाहिँ चुक र गल्तीहरु हुने गर्दछन्, त्यसलाई औँल्याई दिन सम्पूर्ण प्रबुद्ध पाठकहरुसँग हार्दिक अनुरोध छ । मानवीय भुलवश भए गरिएका गल्तीलाई क्षमायाचना सहित सुधार गर्ने प्रयत्न गर्ने छौ ।

सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पनालाई साकार तुल्याउन दृढ संकल्प, पूर्ण अठोट र प्रतिवद्धताका साथ आफूलाई उभ्याउन कुनै कसर बाँकी राख्ने छैनन् । यस महान सञ्चार सारथीका रुपमा सञ्चालित यस अभियानलाई सफल तुल्याउन सहयोग र साथ दिने सम्पूर्ण शुभेच्छुक, पाठक, एवं विज्ञापनदाताहरुप्रति हार्दिक आभार एवं धन्यवाद अभिव्यक्त गर्न चाहन्छ नागरिक मिरर परिवारले । यससँग पाठकको साइनो अवश्य नै जुर्ने नै छ भन्ने विश्वासका साथ सबैका लागि सँधैका लागि सूचनाको सहयात्री नागरिक मिरर, सूचना, विचार तथा समाचार पस्किन सतत् तल्लिन रहने वाचाका साथ, अहिलेलाई यति नै…।

धन्यवाद !!

सुषमा कर्ण(स्नेहा)
वन टेक मिडिया प्रा.लि.

प्रतिक्रिया
नागरिक मिरर