नेपालमा बढ्दो कोरोना सङ्क्रमणको दर तेस्रो लहरको सुरुवात, पुनः प्रतिबन्ध लागू गर्न आग्रह

काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो चरणको लहर सुरु भएको छ । सरकारले औपचारिक रुपमा घोषणा नगरेपनि बढ्दो सङ्क्रमण दरलाई हेर्दा नेपालमा तेस्रो चरणको कोरोना महामारीको लहर सुरु भएको अनुमान गर्न सकिन्छ । सरकारको तथ्याङ्क अनुसार नै नेपालमा एक सातामै झन्डै तेब्बरले कोरोना सङ्क्रमित थपिनेदरमा वृद्धि भएको हो । जुन कोरोनाको तेस्रो चरणको लहरको सुरुवात भएको हुन सक्ने विज्ञहरूको भनाइ छ ।

अमेरिका, बेलायत, भारतसहितका मुलुकमा कोरोनाको तेस्रो चरण चलिरहेको बेला नेपालमा पनि तेस्रो चरणको लहर सुरु भएको सरकारकै विश्लेषण छ । कारण, सङ्क्रमणदरमा देखिएको उछाल नै हो ।

भारत, अमेरिका, बेलायत, फ्रान्स लगायतका मुलुकमा दैनिक १ लाखभन्दा बढी सङ्क्रमित थपिन थालेका छन् । विज्ञ र सरकारका अनुसार नेपालमा सङ्क्रमणको जोखिम र लहरको सुरुवात हुने सम्बन्ध भारतसँग जोडिएको छ । किनकी भारतमा जुन समय सङ्क्रमणले तीव्रता पाउँछ त्यसको २ देखि ३ सातापछि नेपालमा पनि सङ्क्रमणले तीव्रता पाउने गरेको हालसम्मको अवस्थामा देखिएको छ ।

भारतमा पछिल्लो २ सातादेखि सङ्क्रमणदर बढेको र अब नेपालमा पनि सङ्क्रमणदरले तीव्रता पाएको हुँदा नेपालमा पनि तेस्रो चरणको लहर सुरु भएको बुझ्न सकिने छातिरोग विशेषज्ञ डा.निरज बमको भनाइ छ ।

उहाँका अनुसार पछिल्लो समय जुन गतिमा कोरोना सङ्क्रमणदर फेरि बढ्न थालेको छ त्यसलाई तेस्रो चरणको लहर भन्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि हालसम्म कोरोनालाई लिएर गरेको अनुमान पूर्ण रुपले मिल्दै आएको हुँदा यसले फेरि जोखिम बढेको छ ।

एक साता अघि मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले माघको दोस्रो साताबाट नेपालमा कोरोना सङ्क्रमणको दर उच्च हुने प्रक्षेपणसहित सावधानी अपनाउन आग्रह ग¥यो । तर, महाशाखाको प्रक्षेपण अगाडी नै सङ्क्रमण उच्च हुनु तेस्रो चरणको लहरको सुरुवात भएको बुझ्न सकिने डा.बम बताउनुहुन्छ ।
यता, सरकारले आधिकारिक रुपमा तेस्रो लहर सुरु भएको घोषणा नगरेपनि बढ्दो सङ्क्रमणदर तेस्रो चरणको लहर हुन सक्ने बताउँछ । औपचारिक रुपमा कोरोनाको तेस्रो चरणको सुरुवात भएको घोषणा नगरेपनि यो तेस्रो चरणको लहर हो भनेर सरकारकै अधिकारीहरूले छलफल गर्न थालेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जुन गतिमा कोरोना सङ्क्रमणको दर बढिरहेको छ र भारतमा सङ्क्रमणदर बढेको २ सातापछि नै नेपालमा पनि सङ्क्रमण बढेको देखिन्छ त्यसलाई तेस्रो चरणको लहर भन्न सकिने बताए ।

उनले कोरोनाको तेस्रो चरणको लहर मानेर नै सरकारले आफ्ना आवश्यक कामलाई तीव्र बनाएको र सबै अस्पताल तयारी अवस्थामा रहेको पनि जानकारी दिए ।

कोरोनाको तेस्रो चरणको लहर आउन सक्छ भन्ने अनुमान कै आधारमा सबै अस्पताल, स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन सरकारले यसअघि नै निर्देशन दिइसकेको उनको भनाइ छ ।

कोरोना सङ्क्रमित बढ्दै जाँदा यसअघिको पहिलो र दोस्रो लहरमा जस्तो मृत्यु हुनेदर बढेको छैन । यसलाई कतिपय विज्ञहरूले तेस्रो लहरको कमजोर प्रभावका रुपमा व्याख्या गरे पनि कोरोनाले महामारीको रूप नलियोस् भन्नका लागि सावधानी अपनाउन छोड्नुहुँदैन । विश्व स्वास्थ्य सङ्गठनले पनि ओमिक्रोनको सङ्क्रमण गराउने दर बढी रहेकाले यसलाई सामान्य नठान्न भनिसकेको छ ।

हुन त नेपालमा बढेको सङ्क्रमण कोरोनाको डेल्टा भेरिएन्टले हो वा ओमिक्रोनले त्यस विषयमा प्रष्ट गरिएको छैन । भारतमा पनि सङ्क्रमण बढ्ने कारणबारे प्रष्ट खुलाइएको छैन । तर, भारतमा हालसम्म झन्डै ३ हजारमा ओमिक्रोन पुष्टि भएको बताइएको छ ।

यसैबीच, नेपालमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि कोभिड १९ सङ्कट व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसीसी) ले आवश्यक प्रतिबन्ध लगाउनका लागि सरकारलाई १३ बुँदे सिफारिस गरेको छ ।

सीसीएमसीसीको आइतवार बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गर्दै सरकारलाई सिफारिस गरेको हो ।

सीसीएमसीसीले कोरोनाको जोखिमलाई ध्यानमा राखेर विद्यालयहरूलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरूलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ ।

सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालका अनुसार विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी तथा १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

सीसीएमसीसीको निर्णयअनुुसार पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरू रोकिने छैन । तर, जनस्वास्थ्यका मापदण्डहरू पालना गर्दै डेज आधारको बसाइमा परीक्षा गर्नुपर्नेछ ।

यस्तै, सीसीएमसीसीले सार्वजनिक स्थानहरूमा २५ जनाभन्दा बढी भेला हुन तथा सभा समारोह गर्न रोक लगाएको छ । साथै सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यक्रमहरु नगर्न आह्वान गरेको छ । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनले अनुमति दिनेछ । यसका लागि गृह मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र गर्ने सीसीएमसीसीको निर्णय छ ।

यसैगरी माघ ७ गतेदेखि सार्वजनिक स्थानहरूमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । यो निर्णयअनुसार अब सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि पनि खोपकार्ड देखाउनुपर्नेछ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीडभाड कम हुने गरी उडानको व्यवस्था मिलाउन समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनिएको छ ।

नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउने र पोजेटिभ आएकाहरूलाई होटल, होल्डिङ सेन्टर लगायतका आइसोलेसन सेन्टरमा राख्ने पनि सीसीएमसीसीको निर्णय छ । यस्तै सार्वजनिक स्थानहरुमा पनि निःशुल्क एन्टिजेन टेष्ट बुथहरू राख्ने र कोरोना खोपलाई अभियानकै रुपमा अगाडि बढाउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया
नागरिक मिरर