भारतको इन्डिगोद्वारा एक हजार २०० उडान रद्द

भारत । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेको छ । ठूलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।
कम्पनीले अवरोधलाई प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूको लागि नयाँ नियमलगायतका ‘अप्रत्याशित परिचालन चुनौती’ का कारण आएको समस्या बताएको छ।
भारतको उड्डयन निगरानी निकायले अनुसन्धानको आदेश दिएको छ र सोमबारदेखि जारी अवरोधलाई कम गर्ने योजनाका साथ इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन गरेको छ।
उडान अवरूद्ध भएपछि बिहीबार हजारौँ यात्रु तथा उनीहरूका आफन्तले आफ्नो रिस सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै एक्समा आठ घण्टासम्म ढिलाइ हुँदासमेत ‘कुनै कर्मचारी’ सहयोगका लागि नआएको र विमानस्थलको अवस्था ‘पूर्ण अस्तव्यस्त’ बनेको बताए ।
बुधबारसम्म इन्डिगोका एक हजार २३२ उडान रद्द गरिएको कम्पनीले जनाएको छ । तर कति विमानको उडानमा ढिलाइ भयो भन्नेबारे कुनै सङ्ख्या स्पष्ट छैन।
इन्डिगोले आफ्ना ग्राहकहरुलाई वैकल्पिक यात्रा व्यवस्था र फिर्ती प्रदान गरिरहेको जनाएको छ ।
कम्पनीले ‘उल्लेख्य रूपमा’ यसका विमानको उडान कार्यक्रम अवरोध हुनुमा आंशिक रूपमा नयाँ ‘क्रू रोस्टरिङ’ नियमसँगसँगै अन्य प्राविधिक कारणहरू जिम्मेवार रहेकोे उल्लेख गरेको छ।
यात्रु सुरक्षा बढाउनका लागि चालक र चालक दललाई बढी आराम दिने लक्ष्य राखिएको यो नियम गत महिनादेखि सुरू भएको थियो ।
गत साता एयरबसले विश्वभर छ हजार विमानको तत्काल अपग्रेडका लागि अलर्ट जारी गरेपछि इन्डिगोका २०० विमान प्रभावित भएका थिए ।
एक दिनमा करिब पाँचलाख यात्रुलाई हवाई सेवा दिने भारत विश्वको सबैभन्दा द्रुत बृद्धि भइरहेको उड्डयन बजारहरूमध्ये एक हो।






