‘आमसञ्चार माध्यम’ र ‘सामाजिक सञ्जाल’ एउटै होइन

‘आमसञ्चार माध्यम’ र ‘सामाजिक सञ्जाल’ नाम फरक भएपनि काम एउटै जस्तो बुझिन्छ । दुवैले सूचना सम्प्रेषण गर्ने भएकाले फरक रुपमा देखिएपनि दुवै सञ्चार माध्यम नै हुन् भन्ने भ्रम पैदा हुन्छ । तर, यी दुईलाई एउटै ठान्न सकिदैन ।
नेपाल सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई जिम्मेवार बनाउने उदेश्यले सबै प्रकारका सामाजिक सञ्जाललाई तोकिएको निकायमा दर्ता हुन आहवान ग¥यो । दर्ताका लागि बारम्बार गरिएको ताकेतालाई अटेर गर्ने सामाजिक सञ्जालहरुको प्रयोगमा गत भदौमा प्रतिबन्ध लगाइयो । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रयोगकर्ताभन्दा एक कदम अघि सरेर आमसञ्चार माध्यमहरुले आवाज उठाए । परिस्थितिवश सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जनता आक्रोसित भए र केही समयका लागि देश राज्यहिनताको अवस्थामा पुगेको त्यो क्षण आज पनि ताजै छ ।
सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने सरकारी निर्णयलाई प्रेस जगतले ‘प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’ भन्दै विरोध गरेको हो । हो पनि, समाजिक सञ्जाल सञ्चार माध्यमका लागि भरपर्दो समाचारको स्रोत हो । कतिपय सञ्चार माध्यमको सहज पहुँच नहुने स्थान र व्यक्तिसम्म सूचना पु¥याउन सक्ने सशक्त सञ्चारमाध्यम पनि सामाजिक सञ्जाल नै हो ।
तर, केही महत्वपूर्ण कारणले आमसञ्चार माध्यम र सामाजिक सञ्जालबीच स्पष्ट भिन्नता देखिन्छ । आमसञ्चार माध्यम नागरिकमा सूचना सम्पे्रषण गर्ने जिम्मेवार संस्थागत निकाय हो । सामाजिक सञ्जाल भने निकाय नभई व्यक्तिको रुपमा उपस्थित हुन्छ । संस्थागत निकाय जवाफदेही हुन्छ, तर व्यक्ति अनिवार्य रुपमा जवाफदेही नहुन सक्छ । यी दुई बीचको मुख्य भिन्नता यही हो ।
कुनै समय यस्तो पनि थियो –कुनै समाचार वा घटनाको पुष्टी गर्न ‘उक्त खबर अखबारमा छापिएको छ कि छैन’ भन्ने आधार खोजिन्थ्यो । पत्रिकाले छापेको छ भने त्यो सत्य मानिन्थ्यो । नछापिएको भए पुष्टी नभएको ठानिन्थ्यो । पछि टेलिभिजन वा रेडियोले समाचारका रुपमा प्रसारण गरेको रहेछ भने ठिकै हो, अन्यथा विश्वास गर्न सकिदैन भन्ने धारणा विकास भयो ।
अहिले आएर छापा सञ्चार माध्यम तथा विद्युतीय सञ्चार माध्यमहरु (रेडियो, एफएम तथा टेलिभिजन) भन्दा अनलाइन समाचार पोर्टलहरुले छिटो समाचार सम्प्रेषण गर्न थालेका छन् । तुलनात्मक रुपमा छिटो र विस्तृत समाचार प्रवाह गर्ने भएकाले यो सञ्चार माध्यम लोकप्रिय हुँदैछ । हातमै भएको मोबाइल फोनमा सहजै प्राप्त हुने भएर पनि अनलाइन समाचार पोर्टल भरपर्दो सञ्चार माध्यमको रुपमा स्थापित भइरहेको देख्न सकिन्छ ।
तर, अनलाइन समाचार पोर्टल तथा फेसबुक जस्ता सामाजिक सञ्जालबीचको अन्तर वारे आमनागरिक स्पष्ट छैनन् । अनलाइन सञ्चार माध्यमलाई फेसबुककै रुपमा बुझ्नेहरु धेरै छन् । जसले गर्दा आधिकारिक तथा अनधिकृत माध्यमवारे द्विविधा व्याप्त छ । अतः पत्रकारितालाई विश्वसनीय बनाइराख्न यी दुई बीचको अन्तरवारे आमनागरिकमा बुझाउन आवश्यक छ । एक हिसाबले यो दायित्व मूलधारका सञ्चार माध्यम र सोका लागि काम गर्ने पत्रकारहरुको मुख्य दायित्व हो ।
समाजमा दिनहुँ अनेकौ घटनावारे औपचारिक तथा अनौपचारिक समाचार तथा चर्चाहरु भइरहेका हुन्छन् । तीमध्ये केही सत्य घटनामा आधारित हुन्छन् भने धेरै अफवाहको रुपमा फैलिन्छन् । यस्तो अवस्थामा सञ्चारमाध्यमले समाचार बनाएको विषय सही हुन्छ र समाचार बन्न नसकेको विषयमा सत्यता नहुन पनि सक्छ भन्ने आम बुझाइ थियो र आज पनि छ ।
त्यतिमात्र होइन, सञ्चार माध्यमप्रति जनमानसमा यति ठूलो भरोसा थियो कि मानिसहरुले आफ्नै हातमा लगाएको घडीको समय रेडियोमा समाचारसँगै सुनाइने समयको आधारमा मिलाउँथे । भनिन्थ्यो, ‘मेरो घडी ठीक छ, किनकी यो रेडियो टाइम हो ।’
आजको समयमा सञ्चारमाध्यम जस्तै देखिने असंख्य सञ्जालमा सर्वसाधारण नागरिकको पहुँच भइसकेको छ । पढेलेखेका मात्रै होइन, निरक्षर नागरिकहरु पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामाजिक सञ्जालसँग जोडिएका छन् । फेसबुक, टिकटक, रिल्सजस्ता सामाजिक सञ्जालले आमसञ्चार माध्यमको तुलनामा छिटो सूचना सम्प्रेषण गरिरहेका छन् । तर, ती सञ्जालका प्रयोगकर्तालाई आफूले सम्प्रेषण गर्न लागेका विषय पुष्टि गर्नुपर्ने बाध्यता हुँदैन, न त त्यसले व्यक्ति वा समाजमा पार्न सक्ने प्रभाववारे सोच्नैपर्ने हुन्छ ।
‘न्यूज ब्रेक’ गर्ने हतार हुन्छ । त्यसरी ब्रेक गरिएको समाचार सही हो वा गलत भन्नेवारे स्वयं पोष्ट गर्ने व्यक्ति पनि प्रायः बेखबर हुन्छ । यदि त्यो समाचार असत्य नै भए पनि ‘असत्य हो’ भन्ने पुष्टी हुँदासम्म सयौँले सेयर गरिसकेका हुन्छन् । त्यसले जनमानसमा सोही अनुरुपको धारणा बनाइसकको हुन्छ । सामाजिक सञ्जालमा लेखिएका वा बोलेएका विषयमध्ये कुन सही र कुन गलत भन्ने छुट्याउने स्पष्ट आधार हुँदैन । सको कारण समाजका हरेक व्यक्ति स्वतन्त्र हुनु हो । आफ्ना मनमा लागेका कुरा बोल्न वा लेख्न कसैको अनुमति लिइरहनु पर्दैन ।
तर, आमसञ्चार माध्यमले जे पनि विषयलाई समाचारको रुपमा प्रकाशन वा प्रसारण गर्न सक्दैन र पाउँदैन । आमसञ्चार माध्यम राज्यले तोकेको निकायमा औपचारिक रुपमा आबद्ध हुन्छ । कुनै सञ्चार माध्यमले प्रकाशन वा प्रसारण गरेको समाचार गलत ठहरिएमा त्यसका लागि कारबाहीको दायरामा पर्नुपर्छ । भरपर्दो श्रोत उल्लेख गरी पुष्टि गरिएको समाचार भएपनि त्यसले व्यक्ति वा समाजमा नकारात्मक असर पारेमा त्यसको जिम्मेवारी लिनुपर्छ ।
त्यो गलत विषय सार्वजनिक गरेकै आधारमा कारबाहीको दायरामा जानुपर्छ । तिनले कुनै घटनावारे भरपर्दो स्रोत उल्लेख गरी पुष्टीसहितै समाचार सार्वजनिक गरेपनि त्यो समाचारले कुनै व्यक्ति वा समाजमा नकारात्मक असर पर्ने खालका छन् भने त्यसको पनि दायित्व बोकेको हुन्छ । परेको बखत क्षतिपुर्ती व्यहोर्न पनि बाध्य हुन्छन् । आवश्यक परे क्षतिपुर्ति व्यहोर्न पनि बाध्य हुन्छ ।
त्यसैले आमसञ्चार माध्यम र सामाजिक सञ्जाल फरक–फरक विषय हुन् । सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बनाउन राज्यले उपयुक्त मापदण्ड निर्धारण गर्नुपर्ने हुन्छ, सम्भवतः यो प्रक्रिया अगाडि बढिरहेको छ । आमसञ्चार माध्यमजस्तै देखिने सामाजिक सञ्जालको दुरुपयोग रोक्नु आमसञ्चारकर्मीहरुको पनि दायित्व हो । आजको सन्दर्भमा नागरिक स्तरमै आमसञ्चार माध्यम र सामाजिक सञ्जाल बीचको फरक बुझाउनु सबैभन्दा ठूलो चुनौती बनेको छ ।






