कांग्रेसको कास्की कार्यालयमा तालाबन्दी
पोखरा । पोखरा महानगरपालिकाको मेयर पद माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई दिने गठबन्धनले सहमति गरेपछि नेपाली कांग्रेस कास्की कार्यालयमा ताला लागेको छ। कांग्रेसको पोखरा महानगर समितिका सदस्यहरुले जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन्। महानगरका सचिव टुबराज बाँस्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति निकालेर तालाबन्दीको निर्णय लिएको बताएका छन्। उनीहरूले जिल्ला कार्यसमिति मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई दिएको गुनासो गरेका छन्। त्यसले आफ्नो आत्मसम्मानमा चोट पुगेको उनीहरुको गुनासो छ।
‘प्रदेश र जिल्लालाई किनाराको साक्षी राखेर समाजवादीलाई मेयर दिएको समाचारले महानगर समिति उपेक्षित भएको ठानेका छौँ,’ उनीहरुले भनेका छन्, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौँ। यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा चोट पुगेको छ।’
सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताएका छन्।
‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवम् गण्डकी प्रदेश कार्य समितिलाई बुझाउँछौँ’, उनले भनेका छन्।