‘युवासँग म’ मा पोखिएका युवाहरूको आक्रोश…..

बुधवार गोदावरीमा नेकपा एमालेले ‘युवासँग म’ कार्यक्रमको आयोजना गर्यो । युवासँग भलाकुसारी गर्न पुगेका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

सायदै कुनै पनि राजनीतिक दलका नेताले युवासँग मात्र बसेको यो पहिलो कार्यक्रम थियो होला । सूर्योदय हल गोदावरीमा कोही युवा आफ्ना गुनासो सुनाउँदै थिए भने कोही युवा गुनासो सुन्नै थिए त कोही ताली बजाउन पुगेका थिए ।

खासमा ‘युवासँग म’ कार्यक्रम आयोजना गर्नुको कारण थियो, एमाले युवाकै लागि हो भन्ने बुझाउनका लागि । तर, कार्यक्रममा आम युवाहरूभन्दा विभिन्न क्षेत्रमा आफ्नो नाम चिनाइसकेका युवाहरूले आफ्नो भनाइ राखेका थिए । युवा उद्यमीदेखि लिएर खेलाडी, कलाकार, इन्जिनीयर, वकिल, चिकित्सक, विद्यार्थी आदिको कार्यक्रममा सहभागिता थियो ।

क्रिकेटर विनोद दासदेखि पाइलट उदीप श्रेष्ठ, कलाकार राजा राजेन्द्र पोखरेल, मेमोरी किङ अर्पण शर्मा, ओलम्पियन दीपक विष्ट लगायत कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सञ्जय सिलवाल गुप्ताले प्रस्तोताको भुमिका निभाएका थिए ।

विभिन्न क्षेत्रबाट सहभागी बनेका युवाहरूले आफ्नो क्षेत्रमा देखिएको सम्भावना, भोग्नु परेको समस्या र राज्यले गर्नुपर्ने सहयोगको विषयमा आफ्ना विचार राखिरहेका थिए । तर, कतिपय युवाहरूले भने अध्यक्ष ओलीकै जय जयकार गरिरहेका थिए । मानौं त्यहाँ उनीहरू आफ्नो समस्याभन्दा पनि अध्यक्ष ओलीलाई उक्साउन आइरहेका छन् ।

युवाहरूले नेपालमा स्टार्ट–अपहरूको अवस्था, समस्यादेखि लिएर एयरपोर्ट मै हुने गरेको भ्रष्टाचार, न्यायलयमा भएको व्यतिथि, नेपालमै उत्पादन गर्न सक्ने अनुसन्धानकर्ता, नेपालको प्राकृतिक सुन्दरतालाई गर्नुपर्ने ब्रान्डिङ, स्वास्थ्य क्षेत्रको दुरदशा, चिकित्सा अध्ययनमा हुने गरेको समस्या, खेल क्षेत्रमा सरकारले गरेको व्यवस्था र गर्नुपर्ने सहयोग, फरक क्षमता भएका व्यक्तिहरूको समस्या र सरकारले गर्नुपर्ने कार्यक्रम आदि महत्त्वाकाङ्क्षी योजनाहरू कार्यक्रममा उठाएका थिए ।

त्योसँगै कतिपय युवाले नेपालको राजनीतिकमा युवाहरूले नपाएको स्थान, युवाहरूमाथि राजनीतिक दलको दुष्टिकोण, देशको आर्थिक अवस्था, युवाहरूले अबको देश कस्तो चाहन्छन्, नयाँ पुस्ता के सोच्छ, राजनीतिक दलहरूले युवाको विषयलाई कसरी सम्बोधन गर्न सक्छन् भन्ने कुराहरू सुनाएका थिए ।

युवाहरूले ओली पार्टीको अध्यक्ष मात्र नभएर मानौं उनी अहिले प्रधानमन्त्री नै हुन् जसरी सरकारले यो गरोस् त्यो गरोस् भन्ने जस्ता अभिव्यक्ति दिइरहेका थिए ।

लगभग २५ जना युवाहरूले आफ्नो भनाइ राखेपछि अध्यक्ष ओलीले आफ्नो भनाइ राख्न थालेका थिए । उनले सबैलाई माया र धन्यवादबाट सुरु गरेका सम्बोन्धनमा युवाहरूले भनेको कुरा आफूले सुनेको र मनन् गरेको बताए ।

आलीले युवाहरूले देशलाई कता लानुपर्छ भन्ने कुरा ठम्माई गरेको देख्दा आफू ढुक्क भएको र खुशी लागेको बताए ।

त्यसो त यसभन्दा अगाडि राजनीतिक दलहरूमा युवाहरूको सवालहरूलाई नै नियाल्ने हो भने त्यति प्राथमिकतामा रहेको देखिँदैन् । गोदावरीमा पोखिएका युवाहरूको आक्रोश र देश निर्माणको सपनाले कतिको सार्थकता पाउने हो त्यो हेर्न बाँकी छ ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्नो लोकप्रियताका लागि युवासँग अन्तरक्रिया गरेका साच्चै ती युवाहरूको कुरालाई मनन् गर्छन् त्यो पनि हेर्न नै बाँकी छ ।

अन्तिममा, युवालाई राजनीतिक दलको भ्रातृ सङ्गठनको रुपमा मात्रै लिइने परम्परा, आन्दोलनको बेला युवालाई सडकमा उतार्ने प्रवृतिलाई अन्त्य गर्दै साच्चै युवाका कुरालाई आगामी दिनमा प्राथमिकतामा राखेर काम गर्न जरुरी छ ।

प्रतिक्रिया
सफलता भण्डारी