महोत्तरीमा निर्वाचनको अन्तिम तयारी सुरु

स्थानीय तह निर्वाचनकाे मिति नजिकिँदै गर्दा दलहरुको व्यस्तता र छटपटी झनै बढेको छ । मतदानका लागि तीन दिनमात्र बाँकी छँदा दलका नेता र उम्मेदवारले घरघरै मतदाता भेट्ने क्रम झनै तीव्र बनेकाे छ । आज मध्यरात खुल्ला प्रचारको समय सकिनुपूर्व सबै बस्तीका घरदैलो विभिन्न दलका नेता र उम्मेदवार मतदाता रिझाउन तल्लिन छन् ।

त्यस्तै तीन दिनमात्र बाँकी रहेका बेला निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आज मध्यरातपछि सीमाक्षेत्र (नेपाल भारत सीमा) को आउजाउ पूरै रोकिने जनाएको छ । ‘हामी भारतीय अधिकारीसँग सोझो सम्पर्क र समन्वयमा छौँ, अब आज मध्यरातबाट सीमाक्षेत्रको आउजाउ पूरै रोकिनेछ’ प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने,’सीमाक्षेत्रबाट हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ ।’ महोत्तरी भारतीय जिल्ला मधुवनी र सीतामढीसँग सीमा जोडिएको छ ।

जिल्लाका १५ स्थानीयतहमध्ये मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमा गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । कूल ३८ किलोमिटरको भारतीय सीमा क्षेत्रभित्र बस्तीपिच्छेका गौँडा र गोरेटो बाटोबाट हुने दोहोरो आउजाउ रोक्न स्थानीय प्रशासनलाई मुख्य चुनौती छ । प्रमुख जिल्ला अधिकारी दाहालले भारतीय सुरक्षा अधिकारीसँग समन्वय भएको र यहाँ सबैजसो गौँडामा रेखदेख पुग्नेगरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको व्यवस्था गरिएको जानकारी दिए । आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न भारतका विभिन्न ठाउँमा काम गरिरहेका श्रमिक धमाधम घर फर्कँदैछन् ।

जिल्लाको मटिहानी, भिठ्ठामोर र सम्सी नाकाबाट पछिल्ला पाँच दिनयता दिनहुँ भारतबाट घर आउनेको सङ्ख्या एक हजारको हाराहारीमा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्ण पँङ्गेनीले बताए। आज साँझसम्म घर आउनेहरुले नेपाल प्रवेश पाउने भएका छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहका १३८ वडामा गरी २५८ मतदानस्थलमा ४९७ मतदान केन्द्र रहने व्यवस्था गरिएको छ । सबै मतदानस्थल र मतदान केन्द्रमा मतदान गराउन निर्वाचन आयोगको जनशक्ति आज पुगिसक्ने जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि यसपाली महोत्तरीमा १८ हजार ४०६ नयाँ मतदाता थपिएका छन् ।

यसअघिको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनयता यो सङ्ख्या थपिएपछि यसपाली मतदाता सङ्ख्या तीन लाख ३६ हजार ९५ पुगेको छ । यसअघिको निर्वाचनमा तीन लाख १७ हजार ६८९ मतदाता थिए ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: