संसदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत : १ सय ७२ मत पक्षमा, ८९ मत विपक्षमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकार आरामले चल्ने बताएका छन् ।

सोमवार विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल सुरु गर्ने बताए ।

उनले भने, ‘ गठबन्धनमा रहेका दलहरूसँग छलफल सुरु गर्नेछु । विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुङ्ग्याउने र काम गर्नेछु ।’

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले १ सय ७२ मतसहित विश्वासको मत पाएका छन् । नेकपा एमाले र राप्रपाले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएनन् ।

यस्तै ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने १ जनाले मत दिएनन् । मतदानमा २ सय ६२ सांसदले भाग लिएका थिए ।

गत १० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।

सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।

प्रतिक्रिया