आईपीएलको दोस्रो क्वालिफायर आजः पञ्जाब वा मुम्बई, को पुग्ला फाइनलमा ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।
आजको क्वालिफायरमा पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल साँझ ७ः ४५ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा यदि वर्षा बाधक बन्यो भने रिजर्भ डे मा खेल हुनेछ । कम्तिमा ५ ओभरसम्मको खेल हुन नसकेको अवस्थामा भने पञ्जाबले फाइनलमा स्थान बनाउने सुनिश्चित छ । किनकी पञ्जाब अङ्क तालिकाको शिर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । तर, भारतीय मौसम विभागका अनुसार आज अहमदावादमा वर्षाको सम्भावना न्यून रहेको छ ।
श्रेयस ऐय्यरको कप्तानीमा रहेको पञ्जाब र हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईबीचको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ । र, उपाधिका लागि रोयल च्यालेन्जर्स बैङ्गलोरसँग प्रतिस्पर्धा गर्नेछ ।
जारी सिजनको फाइनल खेल मङ्गलवार साँझ ७ः ४५ बजेबाट सुरु हुनेछ ।






