नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशद्वारा ५६ औं स्थापना दिवस मनाइयो

जनकपुरधाम । नेपाल भेटेरिनरी एशोसिएशनले आज ५६ औं स्थापना दिवस मनाएकाे छ । ‘एउटै विश्व एउटै स्वास्थ्य : लम्पी स्किन उन्मूलन हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ दिवस मनाएकाे हाे । जनकपुरधामको जनक चौकमा विभिन्न कार्यक्रम गरि मनाईएको एशोसिएशनका अध्यक्ष डा. विनोद यादवले जानकारी दिए ।

अध्यक्ष यादवले भने, ‘यो दिवसको अवसर पारेर पशुपक्षीमा लाग्ने रोग, रोकथाम र उपचारका विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । यो दिवसमा हामीले लम्पी स्किन रोगको प्रकोप र रोकथामलाई विशेष महत्त्व दिएका छौं । खासगरी दिवसका माध्यमबाट मधेश प्रदेशमा पशु स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने हाम्रो लक्ष्य हो ।’

नेपालमा पेशागत रूपमा सबैभन्दा बढी उपेक्षित पनि किसानहरू नै छन् । फागुन महिना देखि ‘लम्पी स्किन’ रोगको संक्रमण देशैभर फैलिँदा कैयौं किसानले आफ्नो पशुधन गुमाइरहेका छन् । अहिलेसम्म झन्डै १० हजार चौपाया मरिसकेका छन् । कम्तीमा साढे ३ लाख संक्रमित छन् । रोग नियन्त्रणका लागि पूर्वतयारी नहुँदा अवस्था भयावह हुने जोखिम छ । गर्मीका कारण रोग थप फैलिने चिन्ता अधिक छ । विशेष गरी गाई–गोरु र भैंसीमा प्रकोप फैलिँदा कैयौं स्थानमा गोठै रित्ता बनाउनुको साथै किसानले ठूलो आर्थिक क्षति बेहोरिरहेकाे बताए डा. यादवले ।

व्यावसायिक रूपमा पशु पाल्नेले नियमित आम्दानीको स्रोत नै गुमाएका छन् । निर्वाहमुखी किसानको पनि वर्षौंको मिहिनेत र पसिना खेर गएको छ । लम्पी स्किन रोगको संक्रमण दर २० प्रतिशत रहेको वैज्ञानिकहरूले बताएका छन्।

साथै नेपालमा संक्रमित पशुमध्ये ३.८ प्रतिशत मर्ने गरेको पनि चिकित्सा परिषद्को अध्ययनले देखाएको छ । हाल नेपालभरि फैलिएको लम्पी स्किनले पशुचौपायाको क्षेत्रमा भयावह रोगको रूप लिदै गएको र मधेश प्रदेशको स्थानिय तहमा पशु चिकित्सा सेवा दिनका लागि हालसम्म धेरै जसो स्थानीय तहमा भेटेरिनरी अस्पतालको स्थापना तथा सञ्चालन गरिएको छैन।

यस्ता पशु महामारीविरूद्ध लड्न भेटेरिनरी सेवाको आमूल पुर्नसंरचना गरी अस्पताल र जनशक्ती थप गर्न अत्यावश्यक देखिएको प्रदेश एसोसिएसनका कोषाध्यक्ष डा. अमर महतोले बताए । कार्यक्रममा पशु सेवा निर्देशनालयका प्रमुख डा. जागेश्वर यादवको प्रमुख आतिथ्य तथा पशुपंक्षी महाशाखाका प्रमुख डा. सरोज चौधरीको विशिष्ट अतिथिकाे रुपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया