सर्लाहीका संजय ‘सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड’ बाट सम्मानित

काठमाडौं। सामाजिक उद्यमशीलता, नेतृत्व तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित ‘सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड–२०२६’ बाट सर्लाहीका संजय कुमार जयसवाल सम्मानित भएका छन्।

भाइब्रेन्ट तराई मधेशको आयोजना तथा मधेशी पत्रकार समाजको प्रवर्द्धनमा बुधबार काठमाडौंमा सम्पन्न समारोहमा जयसवाललाई ‘Social Activist & Leadership’ विधाअन्तर्गत अवार्ड प्रदान गरिएको हो। बरहथवा नगरपालिका निवासी जयसवालले सामाजिक सक्रियता, नेतृत्व क्षमता तथा समुदायमा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्राप्त गरेका हुन्।

जयसवाल राष्ट्रिय स्वतन्त्र पार्टीका बरहथवा नगरपालिका संगठन विभाग प्रमुखसमेत हुन्। सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले यस सम्मानमार्फत आफ्नो सामाजिक यात्रामा थप हौसला र प्रेरणा प्राप्त गरेको अपेक्षा गरिएको छ।

कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका पूर्वउपकुलपति अमर यादव प्रमुख अतिथि तथा उद्योगपति राज लामा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

समारोहमा मधेशका आठवटै जिल्लासहित देशका विभिन्न क्षेत्रका सामाजिक उद्यमशीलता, व्यवसाय, नेतृत्व र सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सम्मानित हुने अन्य व्यक्तित्वहरूमा सप्तरीका खुसी कर्ण, सिरहाका राम शोभित नायक, धनुषाका पंकज जलान, महोत्तरीका रमण कर्ण, रौतहटका उमेश कार्की, बाराका राजेश कुमार सिंह, पर्साका डा. अञ्जय मिश्र तथा रुपन्देहीका डा. दिनेश चमार र कमेडियन शुभम सिंह रहेका छन्।

आयोजकका अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय व्यक्तिहरूको योगदानको पहिचान, सम्मान तथा प्रोत्साहन गर्नु अवार्डको मुख्य उद्देश्य हो। सामाजिक उद्यमशीलता र नेतृत्वलाई प्रोत्साहित गर्दै नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने लक्ष्यसमेत कार्यक्रमले राखेको छ।

प्रतिक्रिया