राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान गर्न उपराष्ट्रपति र शिक्षामन्त्रीलाई ध्यानाकर्षण

जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान गरिदिन उपराष्ट्रपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण गराईएको छ ।

उपराष्ट्रपति रामसहाय यादव र शिक्षामन्त्री अशोक राईलाई राजर्षि जनक विश्वविद्यालय बि.एल.एल.बि.तेश्रो सेमेस्टरमा अध्ययनरत छात्र सशिकान्त मण्डलले पत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

उनले बिगत १८ महिनादेखि विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति, रजिष्ट्रार, डिन र क्याम्पस प्रमुख पदपूर्तिको प्रकृया बिना कुनै अवरोध अगाडी बढाईदिन आग्रह गरेका छन् । शिक्षा मन्त्रालयले उपकुलपति नियुक्तिको लागि दोश्रो पटक दरखास्त आव्हान गरेपनि राजनीतिक भाँगबण्डाका कारण सूचनाको अन्तिम परिणाम नआउँदा विश्वविद्यालयको पठनपाठनमा प्रत्यक्ष असर पर्ने भएकोले त्यसलाई बिना कुनै अवरोध समस्या समाधान गरिदिन उनले आग्रह गरेका हुन् ।

मण्डलले उक्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य बिग्रिनबाट बचाउँन समेत शिक्षामन्त्रीलाई आग्रह गरे ।

उपराष्ट्रपति यादवले पनि विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा कुनै ढिलासुस्ती र अवरोध नगरी पदाधिकारी नियुक्तिबारे सम्बन्धित निकायलाई निर्देशन दिने कुरा आश्वासन दिए ।

त्यस्तै उनले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएपछि मन्त्रीले अषाढ मसान्तभित्रै विश्वविद्यालयका लागि पदाधिकारी नियुक्रिको प्रकृया अगाडी बढाउन सूचना आव्हान हुने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया