पारदर्शिताको कुरा गर्ने सेभ द चिल्ड्रेन आफै अपारदर्शी, मधेसको नाममा आएको बजेट बागमतीमा बगाउँदै

जनकपुरधाम । सेभ द चिल्ड्रेनले मधेस प्रदेशका लागि छुट्याइएको बजेट बागमती प्रदेशमा खर्च गरिरहेको पाइएको छ ।

सेभ द चिल्ड्रेनका कर्मचारीहरूले मधेस प्रदेशका बालबालिकाका लागि छुट्याईएको उक्त बजेट मनपरि ढङ्गले बागमती प्रदेशमा खर्च गरिरहेको पाईएको हो ।

प्रदेशमा अर्बौंको लगानीमा खुलेको सुविधासम्पन्न होटेलहरू हुँदाहुँदै बागमती प्रदेशको सिन्धुली जिल्लास्थित मुलकोटमा रहेको क्वालिटी बिच रिसोर्टमा सेभले तालिम सञ्चालन गरेको छ ।

उनीहरूले संस्थाका ड्राइभरहरूको नाममा तालिम सञ्चालन गरेर उक्त पैसा खर्च गरिरहेको बुझिएको छ । ३ दिने कार्यक्रम बनाएर संस्थाका पदाधिकारीहरूले मधेस प्रदेशमा नभइ मनपरी ढङ्गले बागमतीमा रकम खर्च गरिरहेको छ ।

सुशासन र पारर्दशिताको ठूलठूलो आवाज उठाउने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले नै सो कुरा लागू नगरेको देखिन्छ ।

सेभ द चिल्ड्रेनको मधेस प्रदेशकी एसोसिएट डाईरेक्टर धन भुषालले मधेस प्रदेशका सवारी चालकहरूका लागि सेफ ड्राईभिङ्ग ट्रेनिङ्ग र सेफ्टी सम्बन्धी तालिमका लागि मधेसमा सोचे जस्तो सडक नभएकोले बागमतीमा कार्यक्रम सञ्चालन गर्नुपरेको बताइन् ।

उनले मधेसमा उकालो, ओरालो, धुमाउरो र अप्ठ्यारो सडक नभएको तथा चालकहरूलाई त्यस्तो सडकमा पनि गाडी चलाउनुपर्ने भएकोले उक्त तालिम बागमती प्रदेशमा पर्ने मुलकोटमै आयोजना गर्नुपरेको दाबी गरिन् ।

खर्चको हिसाबले बागमती प्रदेशमा कार्यक्रम गर्नु उचित नभएको पनि उनले स्विकारिन् । तर, आवश्यकताको हिसाबले मुलकोट नै उपयुक्त भएको उनको दाबी छ ।

उनले अगामी दिनमा कार्यक्रम सञ्चालन गर्दा स्थानको ख्याल गरेर सञ्चालन गरिने पनि प्रतिवद्धता व्यक्त गरिन् । उनले अबदेखि यस्ता कार्यमा सचेत रहने समेत बताईन् ।

स्रोतका अनुसार यसमा मधेस प्रदेशका सवारी चालक तथा कर्मचारीहरू मात्रै सहभागि भएको बताईएपनि डाईरेक्टर भुसालले विराटनगर, हेटौडा र काठमाडौंबाट पनि सहभागिहरू सामेल रहेका बताईन् ।

भुसालको दाबी एकातिर र मधेसको संरचना अर्कोतिर । यदि मधेसमा उकालो, ओरालो, धुमाउरो र ग्राहोे सडक छैन् भने मधेस प्रदेशका कर्मचारीलाई त्यस्तो सडक नै किन आवश्यक पर्ने भयो ? भन्ने प्रश्न पनि उठेको छ ।

भुषालको प्रतिक्रियाबाट प्रस्ट हुन्छ की उनले आफूलाई बचाउ गर्दै छिन्।

तर, डाईरेक्टर भुषालले सडक नभएको बताएपनि त्यसमा सत्यता भने देखिदैन । किनभने मधेस प्रदेशका लागि काम गर्ने चालकले मधेसमा गाडी चलाउनुपर्ने हो न कि पहाडमा ।

यस्ता कार्यक्रमहरू रेयर केसमा सञ्चालन हुने गरेको उनको तर्क छ । उनले यो कार्यक्रम ५–६ वर्षपछि मात्रै सञ्चालन भएको बताईन् । तर सेभकै उच्च कर्मचारी स्रोतका अनुसार पछिल्लो वर्ष मात्रै यो तालिम साविकको प्रदेश नं.१ र हालको कोशी प्रदेशको उदयपुरमा भएको थियो ।

कार्यक्रमका बारेमा उनीसँग थप जानकारी लिन खोज्दा उनले आयोजकसँग बुझ्न सुझाइन् । तर, आयोजकको सम्पर्क नम्बर दिने बहानामा उनी पछि सम्पर्कमा पनि आइन्न ।

यता संस्थाकै फिल्ड अपरेशन म्यानेजर प्रकाश आचार्यले यस कार्यक्रमबारे केही जानकारी नरहेको बताए । उनले यस विषयको जानकारी एसोसिएट डाईरेक्टरलाई नै भएको बताए । र, त्यो मेरो जिम्मेवारीमा पनि नपर्ने उनले बताए ।

सेभले यस अघि पनि कर्मचारीको मोजमस्तीको नाममा अनावश्यक खर्च गर्दै आएको छ ।

यस्तै समाज कल्याण परिषद्का प्रवक्ता संजयकुमार मल्लिकले पनि मधेसको लागि बिनियोजित बजेट सेभले बागमतीमा खर्च गर्नु उचित नभएको बताए । यस्तो किसिमले उनीहरुले खर्च हुनै नपर्ने उनको तर्क छ ।

यस विषयमा पटक पटक मैले आवाज उठाएपनि आवाज पुगिरहेको अवस्था नरहेको उनको भनाई छ।

प्रवक्ता मल्लिकका अनुसार बैदेशिक सहयोग स्वीकृति पनि बागमती प्रदेशकै लागि बढी भईरहेको छ । र प्रतिव्यक्ति आय पनि बागमति प्रदेशकै सबैभन्दा बढी रहेको तथ्यांकमा उल्लेख भएको उनले बताए । यस्तो अवस्थामा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले पनि बागमति प्रदेशमै बढी खर्च गर्दा अन्य प्रदेशलाई उपेक्षा गरी सुशासन र पार्दशिताको उलंघन गर्ने गरेको उनको ठहर छ ।

प्रतिक्रिया