सुरु भयो भंगहा(बिजलपुरा)सम्म रेल सेवा, दैनिक ६ पटक सेवा दिने

जनकपुरधाम । नेपालको एकमात्र रेलसेवा नेपाल रेल्वे आजबाट महोत्तरीको भंगहा(बिजलपुरा) सम्म विस्तार भएको छ । एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमबीच उद्घाटन गर्दै सो सेवा विस्तार भएको हो ।
यसअघि १५ महिनादेखि भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरसम्म रेल सेवा संचालनमा थियो । भने आजबाट १७ किलोमिटर थप विस्तार भई ५२ किलोमिटरको दुरीमा सेवा सञ्चालनमा आएको छ ।
गत जेठ १८ गते थप १७ किलोमिटर भागको लिक निर्माण गरेर भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेपछि आजदेखि सो क्षेत्रमा रेल सेवा सञ्चालनमा आएको हो ।
करिब २० वर्षपछि गाउँमा रेल सेवा संचालनमा आएपछि खुशीको कुनै सिमा नै नरहेको भंगहा नगरपालिकाका मेयर संजीवकुमार साहले बताए । उनले भंगहा(बिजलपुरा) मा रेल सेवा संचालन भएपछि भंगहा नगरबासीमा पनि निकै उत्साह देखिएको उनको भनाई छ।
नगरपालिकाभित्र रेल सेवा संचालन भएर भोलिका दिनमा भंगहा नगरपलिका औधोगिक करिडोरको सम्भावना बढेको छ, मेयर साह भन्छन्, अब यहाँको व्यापार पनि बढ्ने भयो । र यसले यस नगरबासीको आर्थिक अवस्था पनि राम्रो हुनेछ।
उनले अब सिधा भारतबाट भंगहा सितापुरसम्म व्यापारको वातावरण बनेको बताए ।
अगामी दिनमा यहाँ औधोगिक करिडोर स्थापना भएपछि यहाँको जीनवस्तर अझै राम्रो हुने उनको अपेक्षा छ ।
ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो ।
सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने दुई पटक सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी चारपटक सेवा दिइरहेको छ ।
अब भोलि(सोमबार) देखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने गरी छ पटक सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताएका छन् । तर उनले हाललाई भङ्गाहा स्टेशन दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाए ।






