शहीदनगर नगरपालिकाले ल्यायो ५८ करोड ३८ लाख रुपैयाँको बजेट

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाले आव २०८०÷०८१ का लागि ५८ करोड ३८ लाख ९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
आईतबार नगरपालिका प्रमुख दिनेश प्रसाद यादवले ९ औं नगरसभामार्फत आर्थिक वर्ष २०८०÷०८१ का लागि उक्त अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका छन् ।
चालु आर्थिक वर्षमा राजस्व बाँडफाँड ९ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १२ करोड ९४ लाख प्राप्त हुने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै संघीय सरकारबाट हस्तान्तरित विभिन्न कार्यक्रम लागि सशर्त अनुदानबाट २५ करोड ३ लाख, संघीय सरकारबाट विशेष अनुदानबाट १ करोड ५० लाख, संघीय सरकारबाट सम्पुरक अनुदान ८० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट वित्तीय सामानीकरण अनुदान ९६ लाख ९ हजार, प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख, प्रदेश समपुरक अनुदानबाट २० लाख,प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४० लाख,नगरपालिकाको आन्तरिक आम्दानीबाट १ करोड र आन्तरिक स्रोतको राजस्वबाट २५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहालाई सौन्दर्यकरण गर्न आवश्यक बजेट छुट्ट्याउने आगामी नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ज्येष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रमलाई व्यवस्थित बनाउँदै आवश्यक कार्यक्रम संचालन गरिने छ । कृषि भूमिमा बाह्रै मास सिन्चित गर्न “सिचाइमे लगानी किसानमे खुशियाली“ नारालाई सार्थक बनाउँदै डिप, ट्युबवेल,स्यालो ट्युबवेल तथा सिँचाइ आयोजनालाई प्रदेश सरकारसँग समन्वय गरी संचालन गरिने नगरपालिकाले लक्ष्य राखेको छ ।






