मापदण्डविपरीत स्वास्थ्य संस्थालाई तत्काल कारबाही हुन्छ : स्वास्थ्य मन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रकुमार सिंहले मापदण्डविपरीत स्वास्थ्य संस्थाका सञ्चालकविरद्ध सरकार निर्ममतापूर्वक प्रस्तुत हुने चेतावनी दिएको छ ।
शनिबार जनकपुरधामस्थित नवजीवन अस्पताल प्रालिमा क्यान्सर रोगको उपचारको शुभारम्भ गर्दै मन्त्री सिंहले स्वास्थ्य सेवाका नाममा जनतालाई ठगी गर्ने कार्य कानुनी र मानवीय दुवै हिसाबले अपराध भएकाले मापदण्डविपरीत कार्य भएको पाइए तत्काल कारबाही गरिने स्पष्ट पारे।
मन्त्री सिंहले मधेस प्रदेशमा खस्किँदै गएको स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि सरकार संवेदनशील रहेकाले यस कार्यमा सबै पक्षबाट सहयोग हुनुपर्ने बताए । “मधेस प्रदेशका धेरै विज्ञ, वरिष्ठ चिकित्सकबाट देशभरका निजी तथा सरकारी अस्पतालमा गुणस्तरीय सेवाप्रवाह भइरहे पनि मधेसकै स्वास्थ्य अवस्था सुधार नहुनु चिन्ताको विषय हो”, मन्त्री सिंहले भने, “स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विज्ञ चिकित्सकलाई प्रदेशमै सेवा दिन अभिप्रेरित गर्नेदेखि अन्य आवश्यक योजना कार्यान्वयन गर्दैछ । यसमा सबै तह र तप्काबाट हामीलाई सहयोगको आवश्यकता छ ।”
कार्यक्रममा वरिष्ठ चिकित्सक डा आरएन झाले जनकपुरधाममा क्यान्सर रोगको उपचारको सुरुआत हुनु सुखद् भएको भन्दै अब गुणस्तरीय र भरपर्दो उपचार सेवा दिन सम्बद्ध पक्षले ध्यान दिनुपर्ने बताए ।
प्रादेशिक अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट एवं वरिष्ठ चिकित्सक डा बलराम मिश्रले जनकपुरधाममा नै क्यान्सर रोगको उपचार हुन लागेकामा खुसी व्यक्त गर्दै नागरिक हितलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा दिन आग्रह गरे।
सो अवसरमा डा महेश महासेठ, डा वैद्यनाथ ठाकुर, डा शरद यादव, अस्पतालका व्यवस्थापक अखिलेशकुमार साहसहित ३० जनाले रक्तदानसमेत गरेको क्यान्सर रोग विशेषज्ञ डा अवधेश साहले जानकारी दिए ।






