मधेशवादी दलहरुले मसँग धोखाधडी गरे : रेशम चौधरी

जनकपुरधाम । नागकिर उन्मुक्ति पार्टीका संरक्षक एवंम् नेता रेशम लाल चौधरीले मधेशवादी दलहरुले आफुसँग धोखाधडी गरेको आरोप लगाएका छन् ।
आईतवार जनकपुरधाममा आयोजित नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले आफु साढे वर्षसम्म जेलमा बस्दा यहाँका मधेशवादी दलले आफुलाई स्वीकार गर्न नमानेपनि चुनावमा मेरो नाम भजाउने काम मात्र गरेको आरोप लगाए । उनले आफ्नो रिहाई र मुक्तिको विषयमा उनीहरु भाषण मात्र गरेको र व्यवहारमा कुनै पनि काम कडाईका साथ गर्न नसकेको उनको आरोप छ ।
मधेशी दलका नेताहरुको चरित्र बुझेपछि आफु जेल बसाईकै क्रममा नागरिक उन्मुक्ति पार्टी गठन गरेर थरुहट प्रदेशमा १६ वटा सांसद जित्न सफल भएको उनले बताए ।
थरुहट प्रदेशमा शासन गरिरहेको नागरिक उन्मुक्ति पार्टी अगामि निर्वाचनमा मधेश प्रदेशमा अत्यधिक मतले जितेर सरकारको नेतृत्व गर्ने उनले दाबी गरे ।
नेपाल सद्भावना मात्र होइन दुई÷चारवटा मधेशवादी दलहरु अझै सम्पर्कमा छन्, उनले भने, उनीहरुसँग पनि एकीकरण गरी आउँदो निर्वाचनमा मधेशमा पनि नागरिक उन्मुक्ति पार्टीले आफ्नो सरकार बनाउनेछ ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेश क्रान्तिको योद्धाकोण् रुपमा रहेका नेता चौधरी पनि मधेशवादी दलमै आवद्व रहेका बेला पक्राउ परेपनि मधेशवादी दलहरुले उनको रिहाई र न्यायका लागि नाटक गरेर चुनावमा नाम भजाउने काम मात्र गरेको आरोप लगाए ।
अहिलेको नागरिक उन्मुक्ति पार्टी थारुहरुको हकहित मात्रै होइन मधेशी जनताको उन्मुक्तिका लागि समेत सक्रिय रहने बुझेर आफुहरु एकीकरण गरेको उनले बताए ।






