आफू नै विकल्प बन्ने प्रयास गर्ने की ?

हामीले कुनैपनि काम गर्दा होस् वा कामको तयारी गर्दा नै किन नहोस् विकल्प सँधै सोचेर राख्छौं । कारण, एउटै कुरामा भर पर्ने हो भने त्यो काम सफल नहुन पनि सक्छ वा कुनै भइपरि आउन पनि सक्छ । त्यसकारण हरेक क्षेत्रमा हामीले विकल्पको कुरा गर्ने गर्नुपर्छ वा विकल्पको खोजी गर्नुपर्छ ।
विशेषगरी पछिल्लो समय राजनीतिक क्षेत्रमा विकल्पको खोजी हुनु पर्छ भनेर चर्चा बढी नै हुन थालेको छ । नहोस् पनि कसरी । उही पुरानै ढर्राका सोच भएका नेता र तीनका दोहोरिरहने भाषण । आशा देखाउने तर, काम गर्नुपर्दा अनेक बहानामा पञ्छिन खोज्ने ।
पछिल्लो समय नेपाली नागरिकहरूले आफ्ना पुराना राजनीतिक दलहरूप्रतिको विश्वास गुमाउन थालेका छन् । कारण, उही पुरानो अनुहार, उही पुरानो आश्वासन, उही पुरानो बहाना । त्यस कारण नेपाली जनताले ती राजनीतिक दल र तीनका नायके को होलान् भनेर विकल्प खोजिरहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय र प्रदेशको निर्वाचनमा स्वतन्त्र भएर उम्मेदवारी दिएकाहरूले नयाँ एजेन्डा र नयाँ अनुहार देखाएपछि नेपाली नागरिकको मनमा एक किसिमको उत्साह देख्न सकिन्छ । यदि यसरी नै अबको केही समय स्वतन्त्र वा नयाँ अनुहारले स्थान पायो भने उसलाई राष्ट्रको नायक भन्न र बनाउन कुनै कसर बाँकी राखिँदैन होला ।
राम्रो शिक्षा, रोजगारी, आम्दानी, स्वास्थ्य नभएको अवस्थामा हामी अर्को राष्ट्रको विकल्पको खोजी गर्न तिर लाग्छौँ । तर, त्यस्ता समस्या भएको राष्ट्रको विकल्प आफै बन्ने प्रयत्न गर्दैनौं । आज लाखौं युवाहरू विदेशिन बाध्य छन् । देशलाई युवाहरूको खाँचो परिराखेको छ । हामी आफूले आर्जन गरेको ज्ञान विदेशी माटोमा बेच्दै छौँ । तर, यो राष्ट्रको समुन्नतीका लागि हामी कुनै चाँसो नै राख्दैनौं ।
हाम्रो समाजमा प्रायःले अहिले राजनिती भनेपछि मुख बिगार्ने गर्छन् । वास्तविकता नबुझेर आफ्नो आक्रोश सबै राजनितीमै पोख्छन् । खत्तम भयो, सब स्वार्थी छन् जस्ता आरोप पनि लगाउँछन् । तर, तीनैले आफ्नो घरबाट एकजना पनि छोराछोरीलाई जाउ राजनीतिमा लाग भनेर एकपटक पनि भन्ने आँट गर्दैनन् ।
राजनिती भनेको आफ्नो भविश्य नभएर राष्ट्रको भविश्य बनाउँने पेशा हो । यदि यो राष्ट्रप्रति कोहि पनि समर्पित भएन भने झन्डै ३ करोड आबादी भएको यस मुलुकको भविश्य के हुने होला भनेर सोच्ने बेला यहि नै हो । आजको दिनमा यदि कुनै युवा राजनितीमा आउँन खोज्छ भने हाम्रो गाउँ समाजतिर उसलाई अलिक नकारात्मक दृश्टिकोणबाट हेरिन्छ । हाम्रो समाजले साँचीकै बाटो भट्कि राखेको अवश्था छ । उच्च दक्ष जनशक्तिहरू राजनितीमा प्रायः आउँन नरुचाएको अवश्थामा अबुझ, अशिक्षितहरू प्रायः सक्रिय भएको पाइन्छ । जोसँग कुनै लक्ष्य छैन कुनै योजना नै छैन ।
हामी अरुलाई आरोप मज्जाले लगाउँछौँ । तर, आफूले राष्ट्रप्रति कति योगदान दिएका छौँ भन्ने विचार गर्दैनौं । पछिल्लो समय नयाँ पुस्तामा राजनीतिमा लाग्नुपर्छ, पुरानाले काम हुँदैन अब भनेर सोचको पनि विकास हुन सकेको छैन । पढ्ने, लेख्ने, उच्च शिक्षा हासिल गर्ने अनि विदेश जाने परिपाटी नै बढ्दो छ । त्यही ज्ञान र सिपलाई राजनीतिमा प्रयोग गर्ने र त्यसले समग्र देशको विकास हुन्छ भन्ने विकल्पको खोजी आफै विकल्प बन्ने सोचको विकास नहुँदा त्यसले झन् समस्या बढ्दो छ ।
त्यतिमात्र होइन, राजनीतिमा आउन त पैसा चाहिन्छ । पहुँच हुनुपर्छ भन्ने सोचका कारण पनि राजनीतिमा आउन चाहने आफू नै विकल्प बन्ने धारणाको विकास पनि हुन सकेको छैन । पैसाले नै चुनाव जितिन्छ र पैसाले नै मत किन्न सकिन्छ भनेर तयार हुने व्यक्ति आफैमा एउटा भ्रष्ट नेता हो । समाजमा यदि नकारात्मक माहोल छ भने त्यो माहोललाई हामीले सकारात्मकता तिर धकेल्न जान्नुपर्छ । हामी पढ्छौँ, लेख्दैछौँ, सीप सीक्दै छौैं । यदि हामीले सीकेको सीप, ज्ञानको सदुपयोग आफ्नो गाउँ समाजमा गर्न सकेनौँ भने हाम्रो शिक्षाको कुनै अस्तित्व रहँदैन । त्यसकारण पनि आफै विकल्प बनेर अघि बढ्नुपर्छ ।
हाम्रो राष्ट्रमा शिक्षित र जागरुक नेताहरूको खाँचो छ । समाजमा अझै शिक्षा र जनचेतनाको कमी छ । यस अवस्थामा अनपढ र चेतनाको स्तर नभएकाहरूलाई झुठा आश्वासन दिने र उनीहरूको भरोसा जितेर राजनीतिमा लाग्नेहरूको कमी छैन । तर, जो शिक्षित छ, जो सचेत छ । उ राजनीतिमा आउन चाहँदैन । राजनीतिमा देखिएको फोहोरी खेललाई सफा कसरी गर्ने भनेर सोच्दैन । बरु देशबाट पलायन हुन्छ । त्यसकारण यसको लागि पनि विकल्प आफै बन्छु भनेर अघि सर्नु आजको आवश्यकता हो । शिक्षित र सचेत व्यक्तिले नै राजनीतिमा गलत गर्ने र सोझा साझा जनताको आँखामा दुलो झोक्ने काम गर्नबाट रोक्नका लागि आफै विकल्प बन्नुपर्छ ।
यदि कुनै भिँड गलत बाटो तर्फ जाँदै छ भने त्यो भिडलाई खबरदारी गर्ने ताकत आफूमा सिर्जना गर्नु पर्छ । गरिब अबुझ जनतालाई प्रायः होच्चाएर भेडा भन्ने प्रवृत्तिलाई अन्त्य कसरी गर्न सकिन्छ त्यसतर्फ पनि ध्यान दिनुपर्छ । किनकी ती गरिब, अबुझ जनता पनि त यसै राष्ट्रका नागरिक हुन् । उनिहरूमाथि आफूले पकड जमाउन नसकेको खण्डमा उनिहरूलाई भेडा भन्नु मुर्खता हो । सबै व्यक्ति जान्ने बुझ्ने हुँदैनन् । यसको अर्थ यो होइन कि उसको समान रुपले बाँच्न पाउने अधिकारलाई हनन् गर्ने ।
विकासोन्मुख कार्यमा बाधक मात्रै नभएर समाधानको जड आफै बन्ने प्रयास हरेक नागरिकले गर्नु पर्छ । अहिले राष्ट्रको परिस्तिथि हेरेर एक एक जनताले विकल्प आफू नै बन्ने प्रयास गर्नु पर्छ । चाहे त्यो राजनितीमा होस् या अन्य कुनै क्षेत्रमा । यस राष्ट्रको विकल्प यसै राष्ट्रका जनता हुन सक्दैनन् भन्ने भयानक अवस्था अरु केहि हुँदैन ।
आज हाम्रो राष्ट्रको असक्षमताको कारणले गर्दा भारत, चिनजस्ता रास्ट्रहरूले पटक पटक यस राष्ट्रलाई दुःख दिने र आफ्नो गिद्दे आँखा लगाइरहेका छन् । आफू अनुकुल वातावरण उत्पन्न गरी आफूले लिने फाइदा छिमेकि राष्ट्रहरूले प्राप्त गरिराखेका छन् । यस्तो हुँदा पनि हामीमा चेत अथवा राष्ट्रियताको भावनामा कुनै चोट पुगेन भने हामीले आफूलाई कायरभन्दा पनि फरक पर्दैन । त्यसकारण, आफू नै यो देशको अभिभावक बन्ने विकल्पको रुपमा प्रयास गर्नु पर्छ । राष्ट्र र राष्ट्रियताभन्दा माथि केहि हुँदैन भन्ने मानसिकताको विकास गर्नु पर्छ ।
राजनीतिशास्त्रमा स्नातक गरिरहेका स्तम्बकारको यो नितान्त व्यक्तिगत विचार हो ।






