मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी भर्नामा अनियमितता गरेको गुनासो, युवाहरुले मागे भर्ना प्रकृयाको विवरण

जनकपुरधाम । नेपाली काँग्रस निटक विद्यार्थी संगठनका युवाहरु तथा तरुण दलका नेता कार्यकर्ताहरुले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग कर्मचारी भर्ना प्रकृयाको विवरण माग गरेका छन् ।
बुधबार प्रतिष्ठानको उपकुलपतिमार्फत नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ बमोजिम उनीहरुले सूचना माग गरेका हुन् । उनीहरु प्रतिष्ठानको कार्यालय पुगेर सूचनाको माग गर्दै निवेदन दर्ता गराएका छन् ।
कर्मचारी भर्नाको प्रकृयाको सूचनासहितको विवरणको साथै कर्मचारीको नामावली, विद्यार्थी छनौट प्रकृया र विद्यार्थीहरुको नामावली र आ.व.२०७९।०८० को आय व्यय विवरण समेत माग गरेका छन् ।
सामूहिक रुपमा तरुण दलका केन्द्रिय सदस्य हरि किशोर यादव, नवनित झा, नेविसंघ केन्द्रिय सदस्य रामगुण यादव, नेविसंघ महोत्तरीका सभापति सुनिल सुमन, जिल्ला सदस्यहरु परशुराम यादव, नरेशकुमार यादव, राजेश यादव, दिपक यादव, रामवीर राउत र अताबुल हकले प्रतिष्ठानसँग सूचना माग गरेका छन् ।
प्रतिष्ठानका रजिष्टारसँग मौखिक रुपमा पटक पटक विवरण माग गरेपनि नपाएपछि आफुहरु लिखित रुपमै सूचना पाउँन निवेदन दर्ता गराएको निवेदक मध्येका दिपक यादवले बताए ।
प्रतिष्ठानमा प्रकिया मिचेर कर्मचारीको भर्ना पहुँकै आधारमा गरेको गुनासो आएकाले सत्यतत्थ्य बुझ्न सुचना माग गरिएको उनले बताए । “गुनासोकै आधारमा आरोप लगाउनु भन्दा पनि बास्तविकता के हो ? बुझ्न मौखिक रुपमा माग गरेपनि नपाएपछि कानुन बमोजिम सुचना माग गरेका हौँ,” यादवले भने ।
प्रतिष्ठानले कर्मचारी भर्ना प्रकृयासहित आन्तरीक आमदानी र व्ययमा मनमौजी रुपमा हिनामिना गरेको गुनासोको आधारमै सो को विवरण समेत माग गरिएको उनले बताए ।







