रौतहटमा खुल्यो अत्याधुनिक सेवा सुविधासहितको पहिलो भेटेरिनरी अस्पताल

जनकपुरधाम । रौतहटको सदरमुकाम गौरमा एक प्राइभेट भेटेरिनरी अस्पताल संचालनमा आएको छ । पशु सेवालाई थप प्रभावकारी बनाउन डा. सुभास सिंह सम्बद्धले एनिमल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा. लि. नामक मधेश प्रदेशकै पहिलो सुविधा सम्पन्न प्राइभेट भेटेरिनरी अस्पताल संचालनमा ल्याएको हो ।
अस्पतालले मधेश प्रदेशमा गुणस्तरिय सेवा प्रदान गर्नको लागि सामान्य स्वास्थ्य परिक्षण कक्ष, शल्यक्रिया कक्ष, प्रयोगशाला कक्ष, पोस्टमार्टम कक्ष, पेट भर्ना कक्ष, तालिम कक्ष गरि विभिन्न कक्षहरु सञ्चालनमा लयाएको छ । साथै यस अस्पताल मार्फत् पशुपंक्षी उपचार, गोबर, रगत पिसाब तथा प्रयोगशालामा हुने विभिन्न पशुजन्य पदार्थको परिक्षण, विभिन्न पशुपंक्षी सम्बन्धि तालिम, स्वास्थ प्रमाणपत्र, ईन्ट्रनशिप ट्रेनिङ, ओजेटी साथै पशुपालन सम्बन्धी परियोजना पत्र तयार पारि दिने जस्ता सेवाहरु पनि प्रदान गर्ने प्रा.लि.का प्रबन्ध निर्देशक अमरेन्द्र सिंहले बताए ।
वरिष्ठ पशु चिकित्सक डा. दिनेश तिवारीले पशु स्वास्थ्य र सेवा अन्तर्गत कृषक वा जनावर धनीका क्षमता बिकास, प्रविधि, ल्याब व्यवस्थापन गरेर रोगको निदान र नियन्त्रणको उद्देश्य राखेर अस्पतालको स्थापना भएको बताए ।
नगरमा व्यवस्थित पशु अस्पताल संचालनमा आएपछि नगरवासी लाभान्वित हुने विश्वास लिइएको छ । पशुहरुमा देखा पर्ने विभिन्न किसिमको समस्याको उपचार पाउने भएपछि किसानहरुको अनुहारमा खुसी छाएको छ ।






