हेटौँडामा डाक्टर कुटपिटको घटना सेलाउन नपाउँदै लमजुङमा डाक्टरमाथि कुटपिट

हेटौँडामा डाक्टर कुटपिटको घटना सेलाउन नपाउँदै लमजुङमा फेरि डाक्टरमाथि कुटपिट भएको छ ।
लमजुङमा अस्पतालमा कार्यरत डा.सन्दीप अधिकारीसहित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बेसीसहर नगरपालिका ७ का वडाध्यक्षले नै कुटपिट गरेका छन् ।
डाक्टर अधिकारी ड्यूटीमा खटिरहँदा आइतवार राति करिब साढे १० बजेतिर बेसीसहर ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले अस्पतालको नर्सिङ स्टेशनको ढोका फुटाएर डा.अधिकारीमाथि हातपात गरेको पीडित डाक्टरले बताएका छन् ।
बिरामी लिएर अस्पताल पुगेका वडाध्यक्ष बस्नेतले अस्पतालको नियम अनुसार मञ्जुरीनामा पत्रमा हस्ताक्षर गर्नुको साटो उल्टो डाक्टर र अन्य स्वास्थ्यकर्मीमाथि हातपात गरेको तथा अपशब्दहरू प्रयोग गरेको डा. अधिकारीले बताए ।
आफूहरूमाथि भएको घटनाबारे डाक्टर अधिकारीले प्रहरीमा उजुरी समेत दिइसकेका छन्। तर, हालसम्म कुनै कारबाहीको प्रक्रिया अघि बढाइएको छैन।
केही समय अघि मात्रै हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुईजना डाक्टरमाथि केही व्यक्तिहरूले कुटपिट गरेको थियो । त्यसपछि पनि देशका विभिन्न अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि निरन्तर कुटपिटको घटनाहरू सार्वजनिक भइरहेका छन् ।









