मधेशमा राजश्वको लगातार छापा, यस्तो छ तस्करको रुट र जालो

जनकपुरधाम । गत असोज १३ मा राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहाबाट झण्डै ५० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गर्यो । इटहरीबाट खटेको विशष टोलीले सिरहास्थित माडर भन्सार कार्यालय नजिकै रहेको सिरहा नगरपालिका–१५ को सीमावर्ती बुधौरा गाउँमा अवस्थित चन्द्रनारायण यादव आधारभूत विद्यालय परिसरमा रहेको बगैँचाबाट लुकाएर राखेको लत्ताकपडा बरामद भयो ।
भोलिपल्टै फेरी असोज १४ आइतबार राजस्व अनुसन्धान कार्यालय ईटहरीकै टोलीले लत्ताकपडासहितको ट्रक नियन्त्रणमा लियो । एकदिन नबित्दै सुराकीको अधारमा ट्रकलाई समेत नियन्त्रणमा लियो । अनुसन्धान टोलीले आइतबार दिउँसो चोहर्वातर्फ जाँदै गरेको भन्सार छली गरिएको लत्ताकपडासहित अन्य सामान बोकेको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
राजस्वले तेश्रो दिन समेत छापा हानी अवैध कपडा बरामद गर्यो । राजस्वको टोलीले असोज १५ गते सोमबार विशेष सूचनाको आधारमा सिरहा नगरपालिका १५ सुखचैनाबाट अवैध कपडा बरामद गर्यो । भन्सार छलेर भारतबाट ल्याएको करिब ३२ लाख मूल्य बराबरको १६ गाँठ लत्ताकपडा उनीहरुले बरामद गरेको थियो ।
लगत्तै असोज १६ गते मंगलबार विहान सशस्त्र प्रहरी बल सिरहाले पनि सिरहा नगरपालिका–१८ तारापट्टी टोलबाट लुकाई राखेको करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ७८ पोका लत्ताकपडा बरामद गरे । कपडा बरामद भएको स्थान भारतीय सीमाबाट करिब ६ किलोमिटर र सशस्त्र प्रहरी गण नम्बर–७ बाट ४ किलोमिटरको मात्र दूरी छ । बरामद भएको सो कपडा राजश्व अनुसन्धान कार्यालय इटहरीलाई उनीहरुले बुझाए । यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो । त्यहाँबाट समेत अवैध लत्ताकपडाहरु बरामद भयो ।
राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव दुई करोड बढीको भन्सार छलेर ल्याएको लत्ताकपडा बरामद गरेको राजश्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन् ।
राजस्व अनुसन्धान कार्यालयले मोरङ्ग र सुनसरीबाट हुने चोरी तस्करीमा निगरानी बढाएपछि त्यस क्षेत्रका तस्करहरु मधेश प्रदेशको सप्तरी, सिरहा र धनुषाका नाकाहरु प्रयोग गरेको देखिएको प्रमुख सुरेश आचार्यले बताएका छन् । सुनसरी, मोरङ्गमा हाम्रो उपस्थितिले गर्दा चोरी तस्करी नियन्त्रण भएपछि अहिले त्यही तस्कहरु पश्चिमतर्फ सर्दै आएको देखिएको छ,’ प्रमुख आचार्यले भने, ‘हामी पनि निरन्तर रुपमा नियन्त्रणको लागि प्रयास गरिरहेका छौं । यसमा सबैपक्षको सहयोग आवश्यक छ ।’
‘अहिले तस्करहरुमा भागाभाग छ,’ उनले भने, ‘हामीलाई प्राप्त जानकारी अनुसार अहिले उनीहरु पक्राउ पर्ने डरले अहिले भारततिर भागेको खबर छ । अनुसन्धान जारी छ । सूचना प्राप्त भएअनुसार वारेन्ट जारी गरेर उनीहरुलाई पक्राउ गर्छु ।’
उनले सिरहामा भईरहेको संस्थागत तस्करीलाई नियन्त्रणमा लिएको बताए ।
यता प्रहरी प्रशासनकै मिलोमतोमा सिरहामा ठूलो परिमाणमा निर्वाध रुपमा तस्करी भईरहको देखिएको छ ।
आन्तरिक राजश्व कार्यालयले सिरहामा निरन्तर ठूलो परिमाणमा लत्ताकपडा बरामद गर्नुले प्रहरी, प्रशासन र भन्सारकै कर्मचारीको मिलोमतोमा व्यापक तस्करी भइरहेको देखिएको हो । सिरहासँग सीमा जोडिएको छिमेकी मुलुक भारतको जयनगर, लदनियालगायतको बजारबाट सिरहाका विभिन्न नाका भएर अवैध रूपमा तस्करी भइरहेको गुनासो बढेपछि माथिल्लो निकायले नै सक्रियता बढाएको छ । केही दिन यता राजश्व अनुसन्धान कार्यालय ईटहरीले सिरहामा लगातार छापामारी गरेर अबैध ठुलो परिमाणका सामानहरु बरामद गरेको हो ।
भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमा भारतीय बजारबाट लत्ताकपडा, स्पेयर पार्टस् जस्ता सामान तस्करी भइरहेको गुनासो बढेपछि राजश्व अनुसन्धान कार्यालय ईटहरीले सक्रियता बढाएसँगै ठूलो परिमाणमा समानहरु बरामद हुन थालेको छ ।
भन्सार कर्मचारी, स्थानीय स्तरदेखि जिल्लाका प्रहरी अधिकृतसँग महिनावारी रकम बुझाउने सर्तमा केही महिनायता तस्करी फस्टाएको छ । सिरहा जिल्लाको करिब ४६ किलोमिटर खुल्ला सीमानाकामा दर्जनौँ स्थानमा प्रहरी विट र त्यहाँ सयकडौं प्रहरी परिचालित छन् । सीमाक्षेत्रमा दिनरात प्रहरी परिचालन भएपनि तस्करीको ग्राफ बढेको तथ्यहरुले देखाएको छ ।
पछिल्लो एक सातामा मात्रै राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट २ करोड भन्दा बढीको तस्करीका कपडाहरु बरामद गरेको छ । जिल्लाका प्रहरी प्रशासन भने बेखवर जस्तै देखिएको छ ।
राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न थालेपछि सिरहाका प्रहरी अधिकारीहरु दबाब खेप्न नसकेर आफ्नो बचाउका लागी भएपनि केही सामानहरु पक्राउ गरिरहेको स्रोतको दाबी छ ।
एसपी र डीएसपी तानिए
चोरी तस्करी गरि ल्याईएको करोडौंको सामानहरु धमाधम राजश्वले बरामद गरेपछि सिरहाका सशस्त्र प्रहरीका एसपी र डीएसपी अनुसन्धानका लागि तानिएको छ । उनीहरुकै मिलोमतोमा खुल्लेयाम तस्करी भइरहेको सूचना बाहिरिएपछि सिरहाका सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक एवंम प्रमुख प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर पोस्ट माडरका प्रमुख डीएसपी रामहरि खड्कालाई जिम्मेवारीबाट हटाएर प्रदेशले अनुसन्धान थालिसकेको छ ।
पछिल्लो समय सिरहामा सुरक्षा निकाय र प्रशासनकै मिलेमतोमा तस्करी बढेको गुनासो बढेपछि गत शनिबार उनीहरुसहित २८ जना प्रहरी अधिकृत अनुसन्धानमा तानिएको छ । तर सशस्त्र प्रहरी मधेस प्रदेशको डिआईजी दीपेन्द्र शाहले भने उनीहरुलाई तानिएको नचभई सो विषयमा सत्यतथ्य जानकारी लिन बोलाइएको दाबी गरे । उनले उनीहरुसँग जानकारी लिएर केही दिनमै फिर्ता पठाउने बताए ।
मधेसको कुन जिल्लामा कहाँ कहाँबाट हुन्छ तस्करी ?
सप्तरी जिल्लाको कुनौली, तिलाठी, कोदरकट्टी, क्षुटकी, हनुमान नगर, साठी, सखडा तिलाठ्ठी र पोता नाकाबाट पनि व्यापक मात्रामा तस्करी भइरहेको छ । यी मध्ये कुनौलीसहितका केही सीमानाकाबाट ठुलो मात्रामा ट्रकमै सामानहरु सेटिगंमा तस्करी हुने गरेको स्रोत बताउँछन् ।
धनुषाको जयनगर नजिक पर्ने ईनर्बा, दुहबी, महिनाथपुर, जटही नाका, मुखियापट्टि, खजुरी, फुलगामा हरिने हरलाखीबाट व्यापक काजु र कपडाको लाइन चलिरहेको छ । दुहबी नाकाबाट ‘काकी’ भनेर सबैले बोलाउने एकजना महिलाले ईलाका र जिल्लादेखि प्रदेशस्तरका प्रहरी प्रशासनलाई प्रभावमा पारी तस्करी गराईरहेकी छिन् । धनुषाको इनर्वाबाट दैनिक मदिरा तस्करी भईरहेको छ । दुहबीमा पहिलो स्टोर गरी खाधान्न र महिनाथपुर हुँदै नेपालबाट भारत गाई तस्करी हुने गरेको छ । दुहबी हुँदै धनुषाको बालगंगा नहर र सँगै रहेको बाटो हुँदै सबैलामा दोश्रो स्टोर गर्ने गरी तस्करी भईरहेको छ ।
महोत्तरीको धीरापुर, बिर्तामोड, सम्सी, मटिहानी, रामगोपालपुर, खैरमणी, इटहर्वा, पोखर भिण्डा रघुनाथपुरबाट लाइन चलिरहेको छ ।
महोतरीको अजमरपटी गाजा तस्करीको ट्रानजिट प्वाईन्ट रहेको छ । जहाँ हतियार सहित तस्करले गाजा तस्करी गर्छन् । नेपालको जुनसुकै ठाउँबाट आएको गाजा अजमरपटी हुँदै गएमा किलोको कम्तीमा पाँच हजार महगो बेचिन्छ । अर्थात भारतमा महोतरीको अजमरपटीको गाजालाई अजमेरी गाजा भनेर चिनिन्छ । गाजा तस्करी प्रायः चोर नाका जस्तै मरूवाहि, सक्रि, नैन्हि हुँदै भारत लग्ने गरेको छ । एक पोका गाजा सिमाना कटाउन तस्करहरुले १५ सय रुपैयाँ दिने गरेको पनि खुलेको छ । जुन पोकामा २० किलो गाजा रहने गरेको छ ।
यस्तै सम्सी नाकालाई गाई तस्करीको ट्रान्जिट प्वाईन्ट भनेर चिनिन्छ । मुस्लिम समुदायको बाहुल्यता रहेको सम्सीमा गाई तस्करी प्रायः दिनहु हुने गरेको हो । त्यसैगरी चाँदी तस्करीको ट्रान्जिट प्वाईन्ट महोतरीको मटिहानीबाट हुने गरेको छ । जनकपुर र मटिहानी सँगसँगै पसल थापेर बसेका ब्यबसायीलाई तस्करमार्फत प्रायः चाँदी भारत पठाउन सहज हुने हिसाबले यो नाका प्रयोग गर्ने गरेको छ ।
यस्तै सिरहाको माडर, ठाँडी बरीयारपट्टी, सुखीपुर, झाझपट्टी नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ ।
त्यसैगरी सर्लाही जिल्लाको बलरा, वाराउदोरण, हरनाहा, मधुवनी गाउँ, फेनहारा, मधुवन गोठ, भारसर त्रिभुवन नगर, पारसा, नारायणपुर, गोरखकाली, मधुवन भन्सार संग्रामपुरबाट खुलेयाम तस्करी भइरहेको छ ।
रौतहट जिल्लाको मुख्य भन्सार लक्ष्मीपुर, वन्जारहा, जयनगर औरैया, मढिया मोहेलीया, वंकुल नाका खुला गरिएको छ ।
बारा जिल्लाको कचोर्वा, सिमरौनगढ, पथलवा घाट, खजानी, वेलदारी, मटिअर्वा, छतवा, मुसहर्वा नाका पूर्णरुपले खुला गरिएको छ ।
पर्साका ग्रामीण इलाकाहरुबाट छिटफुट कामहरु भए पनि बारा जिल्लाको कचोर्वा, सिमरौनगढ, पथलवा घाट, खजानी, वेलदारी, मटिअर्वा, छतवा, मुसहर्वा नाका पूर्णरुपले खुला गरिएको छ ।
तस्करीले राज्यको अर्थतन्त्रमा दिर्घकालीन असर पर्छ : अर्थविद् झा
अर्थविद् डा. भोगेन्द्र झाले तस्करीले अर्थतन्त्रमा दिर्घकालीन असर पर्ने बताए । तस्करी नरोकिए राज्यको अर्थतन्त्रमा दुर्गामी असर पर्छ उनले भने–आफ्नो फिस्कल डिसिपिलन कायम नभए अर्थतन्त्र राम्रो हुदैन ।
उनी भन्छन्,‘यसमा सरकार गम्भिर हुनुपर्छ । एउटालाई सरुवा गर्छ अर्को आउँछ । सबै त्यस्तै हुन्छ । उनीहरुको सिंहदरबाटै लिंकेज हुन्छ । अर्थ मन्त्रालय गृह मन्त्रालय । त्यसैले यसलाई नियन्त्रण गर्न सरकार गम्भिर हुनुपर्छ ।’
उनले यस्ता गतिविधिले आन्तरिक व्यापारमा प्रतिकुल असर पर्ने र व्यापारिक क्षेत्रमा पनि प्रतिकुल असर परिरहेकोले कति व्यपारी पलायन भईसकेको बातए ।






