विश्व किर्तिमानीका लागि १०२ क्विन्टल अन्नको मूर्तिः आवश्यक कि अनावश्यक ?

जनकपुरको नाममा विश्व किर्तिमान बनाउने भन्दै अहिले सरोकारवाला सबै निकाय जोडतोडका साथ तयारीमा जुटिरहेका छन् । जनकपुर वृहत्तर क्षेत्र विकास कोष, जनकपुरधाम उपमहानगर पालिका, उद्योग वाणिज्य सङ्घ धनुषा लगायतको पहलमा पुष १ गते विवाह पञ्चमीको अवसरमा ११ हजार ११ स्क्वायर फिटको अन्नले बनेको मुर्ति बनाउने र गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी तीव्र गतिमा भइरहेको छ ।

गत कात्तिक १० मा पत्रकार सम्मेलनको आयोजना गरेर वृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शितल साहले रामजानकी विवाह पञ्चमीको अवसरमा अन्नबाट राम–सीता स्वयंवरको मूर्ति बनाउने जानकारी दिएका थिए ।

जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सो मूर्ति निर्माण गर्न लागिएको अध्यक्ष साहले बताएका थिए । सोहि अनुसार अहिले जनकपुरको रङ्गभूमी मैदान १२ विगाहामा मूर्ति बनाउने काम सुरु भएको छ ।

अध्यक्ष साहले मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुने भन्दै मूर्तिका लागि कुनै रङ्ग प्रयोग नहुने पनि बताएका थिए । जहाँ जुन रङ्गको आवश्यकता पर्छ, सोही रङ्गको अन्न प्रयोग गरिने र मूर्तिका लागि १०२ क्विन्टल अन्नको प्रयोग गरिँदै छ ।

जनकपुरधाम उपमहानगरपालिकाका अनुसार मूर्तिमा २५ क्विन्टल चामल, ६ क्विन्टल गहुँ, ६ क्विन्टल सोयाबिन, १८ क्विन्टल चना, १८ क्विन्टल मास (उरिद) दाल, ४ क्विन्टल रहर दाल, ४ क्विन्टल चना दाल, ४ क्विन्टल मसुर दाल, ३ क्विन्टल मकै, २ क्विन्टल मुमफली र १२ क्विन्टल मुङ्ग दाल गरी १०२ क्विन्टल अन्नको प्रयोग गरिने छ ।

जनकपुरधामलाई विश्वमा चिनाउन यति ठूलो परिमाणमा अन्नको प्रयोग गरेर मूर्ति बनाउनु जनकपुरबासीका लागि गर्वको कुरा हो ।

कहाँबाट ल्याइँदैछ १०२ क्विन्टल अन्न ?

मानवाकृतिका लागि आवश्यक पर्ने विभिन्न रङ्गका १०२ क्विन्टल अन्न सहयोगमा मागेर जम्मा गर्ने काम भइरहेको सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

‘मूर्ति निर्माणका लागि आवश्यक पर्ने अन्न केही क्रेडिटमा लिएको र केही सहयोग स्वरुप लिने छौं,’ उनले भने, ‘मधेश मात्रै होइन सम्भवतः यो नेपालकै लागि विश्व किर्तिमान कायम गर्ने काम भइरहेको छ । जसका लागि हामीले अन्य जिल्लाबाट भने कुनै सहयोग लिएका छैनौं । जनकपुरबाट सबै अन्न जुटाउने प्रयास गरिरहेका छौं ।’

महासेठका अनुसार मूर्तिमा प्रयोग हुने जम्मा अन्नको १० प्रतिशत जति एकै ठाउँ मिसिने हुँदा त्यसको खिचडीको रुपमा प्रयोग गर्न सकिने छ । साथै मूर्तिमा प्रयोग हुने अन्य अन्न आवश्यक परेका विपन्न वर्गलाई वितरण गरिने छ। साथै मानव सेवा आश्रम लगायत अनाथालय, वृद्धाश्रममा दान गर्ने योजना रहेको उनले सुनाए ।
महासेठका अनुसार मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली रहेका छन् ।

किर्तिमानीका लागि गरिएको प्रयास अन्य बेला किन असम्भव ?
माथि महाषेठले भनेको कुरा मान्ने हो भने जनकपुरमा अन्नको कमी भएकालाई मूर्तिमा प्रयोग हुने अन्नले सायद हप्ता दिन खान पुग्ला । अहिले जनकपुर उपमहानगरपालिका, वृहत्तर क्षेत्र विकास कोष र उद्योग वाणिज्य सङ्घले अन्न जुटाउन गरिरहेको प्रयास खर्चको तालमेल विपदको बेला वा आवश्यक परेकाहरूका लागि अन्य समयमा गरिएको देखिँदैन ।

अहिले पनि दिनदिनै जनकपुरधामका सैयौँ मानिसहरू बिहान खादा बेलुका के खाने भन्ने सोच्न बाँध्य छन् । त्यतातिर कसैको ध्यान पुगेको देखिँदैन । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार खाद्यको पहुँचमा नभएकै कारण मधेश प्रदेशका २९ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको छ । त्यतिमात्र होइन खाद्य असुरक्षाकै कारण बालबालिकामा कुपोषण, पुड्कोपन, वृद्धिविकासमा कमी हुनु लगायतका समस्याहरू मधेश प्रदेशमा कर्णाली प्रदेश पछि सबैभन्दा धेरै छ ।

अन्न उत्पादनको हिसाबले पनि सबैभन्दा राम्रो मानिने मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत किसान परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान समेत पुग्दैन र हामी अन्नको मूर्ति बनाएर विश्व किर्तिमान कायम गर्दैछौं । यी र यस्ता समस्या तर्फ ध्यान दिनुको साटो सहयोग स्वरुप अन्न सङ्कलन गरेर सरोकारवाला निकायले १२ लाख ६८ हजारभन्दा बढी रकम खर्च गर्दैछ । यो मूर्तिमा प्रयोग हुने अन्नको खर्च मात्रै हो । त्यसबाहेक सजावट, यातायात, प्रचारप्रसार लगायतमा भने २१ लख २३ हजार खर्च हुँदैछ ।

आफ्नै क्षेत्रमा कति बालबालिकामा कुपोषणको समस्या छ, कति जनसङ्ख्या खाद्य सुरक्षाको पहुँचबाट टाढा छन् भन्ने सम्मको तथ्याङ्क समेत राख्न नसक्ने हामी जनकपुरवासी विश्व किर्तिमान कायम गर्नका लागि सक्रिय छौं ।

अन्नको मूर्ति बनाएर विश्व किर्तिमान कायम गर्ने विषयमा कतिपयले असन्तुष्टि पनि जनाएका छन् भने कतिपयले समर्थन नै गरिरहेका छन् । राजनीतिक स्वार्थ जोडिएका कारण यसको विरोध र समर्थन हुनु सामान्य हो । तर, मानवताको नाताले हेर्ने हो भने अहिले एक महिनाभन्दा बढी समय बितिसक्दा पनि जाजरकोट भूकम्प पीडितलाई खाद्यान्नको आवश्यकता छ। बिहान बेलुका खाना खान नपाउने जनकपुरवासीलाई नै पनि अन्नको खाँचो छ । युद्धमा होमिएको गाजा र प्यालेस्टिनीलाई अन्नको खाँचो छ । किर्तिमानी नै कायम गर्नु छ भने दान गरेर गरौं न, एक वा दुई दिनका लागि होइन समस्यालाई नै जरैबाट हटाउनेमा लागौं न ।

अहिले जुटाइएका अन्न कसरी वितरण हुन्छ त्यो हेर्न त बाँकी नै छ । किनकी हामी साक्षी छौं, राहत वितरणको नाममा हरेक विपदको बेला राजनीतिक स्वार्थका कारण विवाद भएको घटनाबारे । आफ्ना र आफ्ना आसेपासेलाई होइन जसलाई सहिमा खाँचो छ उसलाई चुनौं ।

धर्मको नाममा गरिने अनावश्यक खर्चलाई कटौती गरेर आवश्यक भएकालाई केही गरिदिए सबैको भलो हुन्छ । आफ्नै पालिकामा कति घरपरिवार छन् जसलाई दुई छाक खान पनि समस्या छ, कति यस्ता समुदाय छन् जो सुरक्षित खाद्यको पहुँचमा छैनन् तीनको तथ्याङ्क सङ्कलन गर्ने तर्फ लागौं र योजना बनाएर प्रभावकारी कार्यान्वयन तर्फ ध्यान दियौँ । विश्व किर्तिमानी त धर्म बाहेकका काम गरेर पनि कायम गर्न सकिन्छ होला कि कसो ?

प्रतिक्रिया