भूकम्प प्रभावितलाई विन्टराइजेशन टेन्ट हस्तान्तरण

जाजरकोट । नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले सोमबार जाजरकोटको भेरी ( १ रावत गाँउस्थित सेभ द चिल्ड्रेनद्वारा जारी भूकम्प प्रतिकार्य कार्यक्रम क्षेत्रहरुको भ्रमण गरेका छन् । भ्रमणको क्रममा, गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायहरुलाई अत्याधिक जाडोबाट जोगाउन यूरोपेली संघद्वारा सेभ द चिल्ड्रेनलाई प्रदान गरिएको विन्टराइजेशन टेन्टहरु भूकम्प प्रभावित समूहलाई हस्तान्तरण गरेका हुन् ।

एक कार्यक्रमको बिच हस्तान्तरण गर्दै उनले भने, “भूकम्पबाट प्रभावित समुदायहरुको संरक्षण, सुरक्षा, र पुनस्र्थापना सुनिश्चित गर्न सरकार प्रतिवद्ध छ । महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक लगायतका अति प्रभावितहरुसम्म यथासीघ्र अत्यावश्यक राहत तथा अन्य सहयोग पु¥याउन सरकारले सेभ द चिल्ड्रेन लगायत अन्य संघ सस्थाहरुसँग निकटरुपमा सहकार्य गर्दै आइरहेको छ ।’

त्यस्तै मन्त्री आचार्यले जाजरकोटका भूकम्प प्रभावितका लागि सांसद विकाश कोषको ५ करोड रूपैयाँ उपलब्ध गराउने समेत बताएका छन् ।

भूकम्प प्रभावित समुदायहरुलाई सहयोग गर्न आपसी सहकार्य गर्दै अगाडी बढ्नपर्ने मन्त्री आचार्यको भनाईमा जोड दिँदै सेभ द चिल्ड्रेनकी कार्यवाहक राष्ट्रिय निर्देशक तारा क्षेत्रील भनिन्, “विपद्को बेलामा भूकम्पबाट अति प्रभावित समुदायको जीवन रक्षा गर्ने सहायता लिएर तत्काल पुग्न सरकार, स्थानीय साझेदारहरुको सहकार्यबाट संभव भएको छ । यूरोपेली संघद्वारा प्रदान गरिका विन्टराइजेशन टेन्टहरुले अत्याधिक जाडोको सामना गरिरहेका कैयौं बालबालिका, महिला र बृद्ध नागरिकहरुको ज्यान जोगाउनेछ भन्ने हाम्रो विश्वास छ ।” भूकम्प गएयता भूकम्प प्रभावित क्षेत्रमा तीन जना बालबालिका सहित ३२ जनाको अत्याधिक चिसोको कारण मृत्यु भएको प्रति चिन्ता समेत जनाईन् ।

गत मंसीर २२ गते यूरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई वितरण गर्न ८०० थान विन्टर टेन्ट प्रदान गरेको थियो । अन्य सामान्य टेन्टहरुभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले निर्मित यी विन्टराइजेशन टेन्टहरु अग्निरोधी, जलरोधी र चुल्होयुक्त छन् । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्दछ ।

भूकम्प पश्चात् मानवीय सहायता कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनले विशेषगरी बालबालिका र उच्च जोखिममा रहेका व्यक्तिहरुको संरक्षण गर्न भूकम्प प्रभावित समुदायहरुको लागि अस्थाई बासस्थल निर्माण, विन्टराइजेशन टेन्टहरु, मनोसामाजिक सहयोग, बालबालिकाको लागि वैकल्पिक शिक्षा तथा बाल हेरचाह केन्द्रसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया