प्रदेशको अधिकार हस्तान्तरण गर्न संघ सरकार तयार छ : मन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले उद्योग मन्त्रालय अन्तर्गत प्रदेशको एकल सूचीमा रहेको अधिकारहरु हस्तान्तरण गर्न संघ सरकार तयार रहेको बताएकी छिन् ।
संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रदेशको अधिकारी हस्तान्तरण गर्न साकारात्मक प्रतिकृया दिएको उनले बताईन् । मन्त्री यादवले आज बिहान काठमाडौंमा उद्योग मन्त्री रिजाललाई संविधानमा तोकिएको प्रदेशको अधिकारहरु हस्तान्तरण गर्नुपर्ने मागसहित भेटेकी थिईन् ।
प्रदेशको अधिकार प्रत्यायोजन गर्न सहमत रहेको उद्योग मन्त्री रिजालबाट प्रतिकृया पाएको मन्त्री यादवले बताईन । उनी भन्छिन्,–’मन्त्री रिजालले १५ दिनपछि सातै प्रदेशको उद्योग मन्त्रीहरुसँग एक पटक छलफल गरेर अधिकार हस्तान्तरणको प्रकृया अगाडी बढ्ने मन्त्री रिजालबाट सकारात्मक प्रतिकृया पाएको छु ।’
प्रदेश सरकारहरुले संघीय सरकारप्रति सार्वजनिक रुपमै असन्तोष प्रकट गरिरहेको अवस्थामा उद्योगमन्त्री रिजालले यस्तो प्रतिकृया दिँदा मन्त्री यादव उनीप्रति आभार प्रकट गरिन् ।
संघ सरकारले प्रदेशलाई तोकिएको अधिकार नदिँदा प्रदेश सरकारहरु केही दिनअघि आन्दोलन नै गर्ने चेतावनीसहित प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका थिए ।






