राप्ती बस दुर्घटना: ८ को सनाखत, घाइतेमध्ये १ को अवस्था गम्भीर

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार हालसम्म आठ जनाको मात्रै सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन बाँकी छ । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको उनले बताए ।
दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाको चन्दननाथ नगरपालिका–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमको गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, भारत विहारका ६७ वर्षीय योगेन्द्र राम तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ती नदीमा खसेको हो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।
यस्तै दुर्घटनाका घाइते मध्ये १३ जनालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको छ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए।
घाइते मध्ये कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको उनले बताए। यस्तै बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्केका छन्। जावेद डिस्चार्ज भएसँगै अस्पतालमा अब बाँकी १२ जनाको उपचार चलिरहेको छ।






