जनकपुरधाम साहित्य, कला तथा अन्तराष्ट्रिय नाट्य महोत्सव २०८० आजदेखि

जनकपुरधाम । जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव २०८० आजदेखि सुरु हुँदैछ । महेन्द्र नायारण निधि मिथिला संस्कृति केन्द्रमा बिहिबारदेखि चौथो संस्करणको महोत्सव सञ्चालन हुन लागेको हो ।
मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति जनकपुरधाममा आयोजना हुन लागेको महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्ने कार्यक्रम रहेको आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिएको छ ।
महोत्सवको सम्पूर्ण तयारी भईसकेको बताउँदै वहाँले पूर्वप्रधानमन्त्रीद्धारा कार्यक्रमको उद्घाटन साढे १२ बजे हुने बताएको छ । आजदेखि सुरु हुने महोत्सव माघ २२ गतेसम्म चल्ने छ । महोत्सव अवधिभर करिब २० वटा विभिन्न विषयमा विमर्श गरिने जनाइएको छ ।
मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा सुरु हुन लागेको पाँच दिवसीय महोत्सवमा विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुलस्तरीय वक्तृत्वकला प्रतियोगितासहित सांस्कृतिक कार्यक्रमको आयोजना हुने अध्यक्ष चौधरीले बताए ।
महोत्सवमा नेपाल र भारतको कलाकारहरुले आठ वटा नाटक प्रदर्शन गर्नेछ । जसमा पहिलो दिन हिउँको पृथ्वी यात्रा दोश्रो दिन तिनिता रंगीन, विरजु विल्टु आ बाबु तेश्रो दिनमन मञ्च, काँट चौथो दिन सामचको सामचको अविहा हे, दुःखहि जनम भेल र पाँचौं दिन जोगाड् नाटक मञ्चन हुनेछ ।
महोत्सवमा नेपाल भारतका मिथिला क्षेत्रको चर्चित रंगकर्मी तथा गायकको समेत प्रस्तुतति रहनेछ । जसमा रंजना झा, प्रिया मल्लिक, सुनिल कुमार मल्लिक, आभाष लाभ, नवीन मिश्र,, पुनम मिश्र, प्रियाराज, ललित कामत, नेहा प्रियदर्शनी, अमर आनन्द, हरिशंकर चौधरी, रविराज साह, सुभाष विरपुरिया, जुली झाm रामनारायण ठाकुर, मोहित खण्डेवाल, हृदय रामयसहितको सहभागिता रहनेछ।
नेपाल र भारतका विद्धान, विदूषि, सामाजिक अभियन्ता, रंगकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषानीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताए ।
चौथो संस्करणको महोत्सवलाई यस पटक नयाँ तरिकाले डिजाइन गरिएको बताइएको छ । महोत्सव अवधिभर हुने करिब २० वटा विमर्श मध्ये पहिलो दिनको पहिलो सत्रमा नव घर उठय पुरान घर…?, सामाजिक सञ्जाल की जञ्जाल…?, दोश्रो दिन जनकपुर गाथा जसमा जनकपुरधामको निर्माताहरु उपर विशेष विमर्श हुने, नेपाली के…?, मिथिला मधेश उर्वर की जर्ज…?, भाषा एक नाम अनेक तेश्रो दिन पानी विना पढ्लै अकाले हो राम, चौकठिसँ चान दिनश, मैथिली साहित्यमे युवा लेखन, मिथिलामे सिमान्त, मातृभाषा शिक्षा चौथो दिन विदेश जाइत मधेश, मिथिला चित्रकलामे समकालीनता, भाषक सीमा आ अनुवाद, मैथिली संस्कृति लालित्य आ लोक संस्कार, कहिया भेटत प्रदेश भाषा पाँचौ दिन गोविन्द संस्मरण आ पुस्तक चर्चा, की सोचैत अछि आजुक युवा, नाट्यशिल्प आ बजार लगायतका विषय उपर विमर्श हुनेछ ।
२०५८ सालमा स्थापित कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भईरहेको छ ।
महोत्सवमा ५२ लाख खर्च हुने अनुमान रहेकोमा २० लाख उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले र ८ लाख उपमहानगर तथा बाँकी रकमको व्यवस्थापन कोषले गर्ने कोषका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।






