दशजगामा मनाए सशस्त्र प्रहरीले होली, खुशी भए सीमामा खटिएका सुरक्षाकर्मी

जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपालले दशगजा क्षेत्रमा होली मनाएका छन् । सीमावर्ती क्षेत्रमा खटिएका आफ्ना प्रहरी कर्मचारी, समकक्षी सशस्त्र प्रहरी बल भारत, स्थानीयबासी र जनप्रतिनिधिहरुसँग मंगलबार होली मनाएका छन् । प्रहरीले दशगजामा होली मनाएपछि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको अनुहारमा खुशीयाली छाएको थियो ।

धनुषाको जनकनन्दनी गाउँपालिका ४ र भारत बिहार मधुबनी जिल्लाको दशगजामा होलीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै सशस्त्र प्रहरीले होली मनाएका छन् । मिथिलाञ्चल क्षेत्रमा १५ दिने मिथिला मध्यमा परिक्रममा समापन पश्चात आज होलीको उत्सव मनाईदैछ । सोही परम्परा अनुसार सशस्त्र प्रहरीले एक कार्यक्रमको आयोजना गर्दै आज होली मनाएको हो ।

प्रहरीले दशगजामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि शाहले कार्यक्रममा सहभागिहरुलाई शुभकामना दिँदै होलीको महत्वबारे प्रकाश पारेको थियो । उनले आफ्ना संगठनका तल्लो दर्जाका कर्मचारीहरु लामो समयसम्म घर परिवारबाट टाढा रहने भएकाले निशास हुन नदिन होलीको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको बताए । सीमामा सदैब चुनौतीपूर्ण जिम्मेवारीमा तैनाथ रहनुपर्ने सुरक्षाकर्मीमा थप उर्जा प्रदान गर्न पनि यो कार्यक्रमको आयोजना गरिएको हुने विश्वास लिएको उनले बताए ।

उनले यस्तो कार्यक्रमले भातृत्वको विकास हुनका साथै सिमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

सोहि अवसरमा उपस्थित भारतीय समकक्षी सशस्त्र सीमा बल, भारतका कमाण्डेन्ट गोविन्द भण्डारीले कार्यक्रममा निमन्त्रणा गरेकोमा धन्यवाद ब्यक्त गर्दै दुवै पक्षको सहकार्यको अपरिहार्यता ब्यक्त गरे ।

कार्यक्रमको महत्व बारेमा प्रकाश सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणका गणपति दर्शन गिरीले सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको उपस्थितिले चुनौतिपूर्ण स्थानमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको हैसला बढेको बताए । उनले यसका साथै देश र जनताको हितमा काम गर्न स्थानीय र समकक्षीसँग सहकार्य गर्न प्रेरणा मिलेको बताए ।

कार्यक्रममा सहभागि स्थानीय तथा सीमासँग जोडिएका जनप्रतिनिधिहरुले यस्ता किसिमका कार्यक्रम पहिलो पटक भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले यस्ता कार्यक्रममले सीमा सुरक्षामा सरोकार राख्ने सम्पूर्ण पक्षलाई एउटै स्थानमा ल्याउनका साथै सीमावर्ती क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न र संस्कृतिको संरक्षणमा योगदान पुग्ने बताएका थिए ।

प्रतिक्रिया