असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदारलाई उपप्रधानमन्त्री महासेठको निर्देशन

जनकपुरधाम । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । आइतबार बिहान पुलको निरीक्षण गर्दै उनले ठेकेदार कम्पनीलाई निर्देशन दिएको हो ।

उनले असार १५ गतेभित्र निर्माण सम्पन्न नभए सरकारले अर्को विकल्प खोज्नेसमेत चेतावनी दिए । धनुषा र सिरहाको जनताले यतिका दिन बहुत दुःख भोग्यो अब भोग्न दिन्न, उनले भने, , करिब १३ वर्षदेखि निर्माणाधिन यो पुलको पुनः निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्यो । नेपाल सरकारले पनि निर्माणाधिन योजनाहरुलाई सम्पन्न गर्ने नीति लिएको उनले भने ।

आईतबार जनकपुरधाम आए लगत्तै उहाँले कमला पुलसँगै हुलाकी सडकको पनि निरीक्षण गरेको छ । मधेशको लाईफलाईन मानिने हुलाकी सडकको निर्माण कार्य यथाशिध्र सम्पन्न गराएर जनतालाई सास्ती भोग्नबाट मुक्त गराउने उनले प्रतिबद्धता जनाए ।

उनले धनुषाको औरही लगायतको ठाउँमा निर्माण हुन बाँकी रहेको सडकको निरीक्षण गरेको छ। बन्न बाँकी रहेको सडक र पुल समयमै निर्माण सम्पन्न गर्न उनले ठेकेदारलाई निर्देशन दिए ।

ठाउँ ठाउँमा सडक र पुल निर्माणको कार्य सम्पन्न नभएर हुलाकी सडक सञ्चालनमा आउन नसकी अलपत्र अवस्थामा छ ।

पुल निर्माणको लागि ठेक्का सम्झौताको १० वर्षपछि सम्पन्न भएपनि उद्घाटनको एक महिना अगावै नदीमा आएको बाढीले भासिएको थियो । निर्माण सम्पन्न भएर उद्घाटनको तयारीमा रहेको कमला पुल १८ असार २०७८ मा आएको बाढीले भासिएको थियो ।

प्रतिक्रिया