प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल वितरणसम्बन्धी कागजात जफत

जनकपुरधाम । प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अख्तियार अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिद गर्दा अनियमितता गरेको उजुरी परेपछि अख्तियारले सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको छ ।

प्रदेश २ सरकारले छोरीहरुको शिक्षा र बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने भन्दै  ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गर्ने गरिन्छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले मुख्यमन्त्री कार्यालय पुगेर साइकल खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने बताए ।

अख्तियार स्रोतका अनुसार केन्द्रबाट आएको टोलीले कागजात नियन्त्रणमा लिएको छ । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

गत चैतमा वीरगञ्जको ओम सत्यसाई प्रा.लि.मार्फत खरिद गरिएको १७ हजार र्२ सय ६२ थान साइकलमा बिना उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्डको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले बुधवार छापामारी गरेको प्रवक्ता  रिसालले जानकारी दिए ।

प्रदेशका आठ वटै जिल्लाका कक्षा आठमा अध्ययन गर्ने छात्रालाई वितरण गर्न मुख्यमन्त्री कार्यालयले अहिलेसम्म चार चरणमा गरी ४१ हजार २ सय ६२ थान साइकल खरिदमा झण्डै २९ करोड खर्च विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको प्रवक्ता रिसालले बताए ।

प्रतिसाइकल भ्याटसहित ६ हजार ४ सय ३२ रुपैयाँका दरले वीरगञ्जको ओम सत्यसाई प्रालिले आपूर्ति गरेको हो । काठमाडौंका साइनो इन्टरनेसनल र म्याप हेलेक्सीसमेतले आवेदन दिएकोमा कम रकम कबोल गरेको आधारमा ओम सत्यसाई र मुख्यमन्त्री कार्यालयको मिलोमत्तोमा ठेक्का पाएको थियो ।

यसअघि अख्तियारले प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा समेत छापामारी गरेको थियो ।

प्रतिक्रिया