अपराधकर्म विरुद्ध बोल्ने मिडियालाई तर्साउन सिरोहियाको गिरफ्तार

जनकपुरधाम । कान्तिपुर पब्लिकेशनका सञ्चालक कैलाश सिरोहियालाई समाचारको प्रभावलाई दबाउनकै लागि पक्राउ गरिएको भन्दै जनकपुरमा सर्वत्र विरोध भइरहेको छ । सहकारी ठगी विरुद्ध निरन्तर समाचार सम्प्रेशन गरेको विरोधमा अतालिएका गृहमन्त्री रवि लामिछानेले राज्यको शक्तिलाई दुरुपयोग गरेको आरोप जनकपुरबासीको छ ।

एक वंशज नेपाली नागरिकका छोरालाई नक्कली नागरिक भनेर पक्राउ त गरियो तर आरोप प्रमाणित भएन भने राज्यको दमनकारी सोच उदांगो हुने सिरोहियाका समर्थकहरुको भनाई छ । जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवम् जनकपुरका पुर्व मेयर बजरंग साहले सिरोहियालाई पक्राउ गर्ने कुनै आधार नभएको जिकिर गरेका छन् । ‘७२ वर्ष अघिको कुरा सम्झिन्छु’ साहले न्युजआजसँग भने, ‘कैलाश सिरोहिया मात्रै होइन, हाल राज्य हाँक्ने मन्त्रिपरिषद्का लगभग कसैको जन्म भएको थिएन त्यसबेला कैलाशका पिताजी घासीराम सिरोहिया जनकपुर उद्योग वाणिज्य संघका महासचिव हुनुहुन्थ्यो । उहाँको बुवा पनि नेपाली नागरिक थिए । तर, उनका नाती आज कसरी नक्कली नागरिक भए ?’

समाचार माध्यमले राज्यको शक्तिमा बसेका व्यक्तिको कर्तुतलाई उजागर गर्दा नक्कली आरोप लगाएर गिरफ्तार गर्नु अपराध मात्रै नभएर देशको लागि लज्जास्पद कुरा भएको बताउँदै साहले भने, ‘यो राज्यद्वारा दमन भएको हो । यो दमनविरुद्ध हामी संघर्ष गर्छौं । र पनि सच्चिएन भने जनकपुरबासीले विद्रोह गर्न सक्छ ।’

जनकपुर टुडे मिडिया समूहका प्रमुख एवम् प्रधान सम्पादक वृज कुमार यादवले सिरोहियालाई पक्राउ गरेर प्रहरीले एउटा अभियुक्तलाई नभएर गलत विरुद्ध वकालत गर्ने आम सञ्चार माध्यमलाई पक्राउ गरेको उल्लेख गरे । सञ्चार माध्यम विरुद्ध प्रस्तुत हुने जोकोहीलाई पनि गणतन्त्र नेपालका जनताले माफ गर्न नसक्ने उनले बताए ।

‘कैलाश सिरोहियालाई आज पक्राउ गर्नुको कारण के हो ? नक्कली नागरिकता ? जसको बाबुलाई यो राज्यले वंशज नागरिकता दियो, छोरालाई वंशज नागरिकता दियो । आज त्यहीँ व्यक्ति नक्कली नागरिक ? यस्तो पनि हुन्छ ?’ यादवले भने, ‘यदि आरोप लागेकै भरमा पक्राउ गर्ने हो भने रवि लामिछानेलाई किन प्रहरीले थुनामा राखेर आरोपको अनुसन्धान नगर्ने ?’ उनले राज्यको ताण्डव विरुद्ध बुधबार बिहान ९ बजे जनकपुर उद्योग वाणिज्य संघको परिसरबाट विरोध र्याली निकाल्न लागेको जानकारी दिँदै आम नागरिकलाई उक्त र्यालीमा सहभागी हुन आग्रह गरे ।

मधेशदृष्टि दैनिक पत्रिकाका सञ्चालक ध्रुव साहले पनि सिरोहियालाई पक्राउ गरेको घटनालाई घोर निन्दा गरेका छन् । नागरिकलाई ठग्ने गिरोहको विरोधमा कलम चलाएकै भरमा पक्राउ गर्दै जाने हो भने आम नागरिक यस्तो कलम चलाउन तयार हुनुपर्ने उनले बताए । यो राज्य जनताको हितमा काम गर्नुपर्नेमा ठग र तस्करको मनोबल बढाउनेगरी राज्यको प्रहरी संयन्त्र काम गरिरहेको उनको भनाई हो ।

प्रतिक्रिया
नागरिक मिरर