कमला पुल निर्माण गर्न सिरहामा आन्दोलन : सदरमुकाम ठप्प, जनजीवन प्रभावित

सिरहा । हुलाकी राजमार्ग जोड्ने गरी सिरहा जिल्ला र धनुषा जिल्लाको सीमा नदीको रुपमा रहेको कमला नदीमा १३ वर्षदेखि निर्माणधीन पुल पूरा गर्न दबाब दिन आन्दोलन घोषणा भएको छ । कमला पूल निर्माण संघर्ष समितिले चरणबद्ध रुपमा आइतवार जिल्ला सदरमुकाम सिरहामा बजार बन्द गराउनुको साथै प्रर्दशन गरेको छ ।
सिरहाको राजेश ठाकुर पार्कबाट निकालिएको शान्तिपूर्ण जुलुश नगरको विभिन्न भागको परिक्रमा गरी हेमनारायण चौक हुँदै महावीर चौकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा वक्ताहरुले १३ वर्षदेखि निर्माधीन कमला नदीको पुल बनाउन सरकार उदासिन रहेकोले कडा आन्दोलन गरी पुल निर्माण पूरा गराउन बाध्य पारिने बताएका छन् ।
शान्तिपूर्ण रुपमा प्रर्दशनमा सहभागीहरुले प्लेकार्ड बोकेर प्रर्दशन गरिने र विरोध स्वरुप बजार बन्द राख्ने र जेठ १४ गते सोमवार सिरहा सदरमुकाम स्थित सम्पूर्ण सरकारी कार्यालय बन्द गरिने र विहान ८ देखि ११ बजेसम्म चक्का जाम गर्ने गरी आन्दोलनको घोषणा गरिएको छ ।
संघर्ष समितिका अध्यक्ष रवीन्द्र साहले पुलको पुनर्निर्माण गर्न निर्माण कम्पनीले विभिन्न बहाना बनाई एक वर्षदेखि ढिलासुस्ती गर्दै आएको बताए । उनका अनुसार निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादको कारण पुल छिटो बन्ने अवस्था छैन ।
उनले जेठ १५ गते सार्वजनिक हुने बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गर्ने गरी बजेट विनियोजन गरी नयाँ पुल निर्माण गर्न दबाब दिन लागेको हो ।
आन्दोलनको कार्यक्रम अन्र्तगत शनिबार मशाल जुलुस प्रर्दशन गरिएको थियो ।






