जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा

जनकपुरधाम । जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको आयोजकले जनाएको छ । जेठ १९ र २० गते दुई दिनसम्म चल्ने श्रमाधान रोजगार मेलाको तयारी पुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेश प्रदेश संयोजक दिपेन्द्र पौडेलले जानकारी दिएको छ ।

उनका अनुसार सो मेलामा रोजगारीसहितको रहने स्टल रहनेछ । कामको खोजिमा रहेका युवाहरूको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिइने गरी मेलाको तयारी गरिएको संयोजक पौडेलले बताएको छ । यो मेलाले नयाँ युगको सुरूआत गरेको छ, उनले भने ।

मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू रहनेछन् ।

श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधान लगायत सरकारी स्टलहरू रहनेछन्।

कामको खोजीमा रहेका युवाहरूलाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल राखिनेछ। विभिन्न नेटवर्किङ सत्रहरू पनि राखिएको आयोजकले बताएको छ । साइडलाइन सत्रहरू, तथा स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि राखिएको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन जेठ १९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्नेछ ।

सरकारले सातै प्रदेशमा आयोजना गरेको मेला अन्तर्गत मधेस प्रदेशको मेला जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको हो ।

मेलाले रोजगारीका चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकायहरू, निजी क्षेत्रका रोजगारदाताहरू र नागरिक समाजका संस्थाहरूबीच साझेदारीलाई बढावा दिने विश्वास लिइएको छ ।

यो मेलाको उदेश्य रोजगारी सिर्जना, उद्योगहरूको प्रवर्द्धन गर्ने र रोजगार बजार विस्तार गरेर नेपालको समग्र आर्थिक विकासमा योगदान पुर्याउने रहेको छ ।

प्रतिक्रिया
नागरिक मिरर