‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रको समस्या समाधानको उपायका रूपमा सुरू गरिएको हो : मन्त्री अर्याल

जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ’श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरू गरिएको बताएको छ। शनिवार जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको उद्घाटन गर्दै उनले बेरोजगार युवाहरूलाई उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरे ।

मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेकोले मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि ‍औंल्याए । ’कुनै पनि कार्यक्रम गर्नुको पछाडी उदेश्य हुन्छ। त्यस्तै एउटा उदेश्य बोकेर श्रमाधान रोजगार मेला । उपायका रूपमा सुरू गरिएको हो । स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्। एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो,’ उनले भने ।

उनले यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान सुरू गरेका हौं। यो कार्यक्रम सुरूआत हो, उनले भने । भविष्यमा यसलाई अझ व्यापक बनाउँदै लगिने उनको भनाइ छ ।

देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था औंल्याउँदे मधेशको युवा पुस्तामा यस्तो समस्या अझ धेरै रहेको उनले बताए । मधेश प्रदेशका सबै नागरिकलाई मेलाबारे जानकारी गराइ सकेसम्म देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरे । उनले रोजगारीको खोजीमा भौतारिइरहेकाहरूलाई मेलामा सहभागिताका लागि आग्रह गरे ।

सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए। नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको मन्त्री उनको भनाइ छ । मन्त्री अर्यालले मन्त्रालयले अझ उत्कृष्ठ काम गर्ने पनि विश्वास दिलाउनभयो । केही समस्या परे ११४१ पैसा नलाग्ने श्रमाधान कलसेन्टरमा पनि गुनासा राख्न समेत आग्रह गरे ।

मधेश प्रदेश श्रम तथा यातायात मन्त्री वेची लुंगेलीले यो मेलाले श्रम क्षेत्रका समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । मेलाबाट बढी भन्दा बढी मधेश प्रदेशका युवाले लाभ लिने विश्वास पनि उनले व्यक्त गरे ।

’मधेश प्रदेशमा बेरोजगारी समस्या व्यापक छ । यहाँबाट विदेश पलायन हुनेको संख्या धेरै छ । यो मेलाले ठूलो योगदान पुर्याउनुपर्छ भन्ने अपेक्षा छ,’ उनले भने ।

वैदेशिक रोजगारीमा जानेका लागि देशमै केही गर्छु भन्नेका लागि र वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि यो मेलामा धेरै कुराहरू सिक्ने अवसर राखिएको पनि उनले बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मेलाले श्रम बजारको मागअनुसार श्रम शक्ति उत्पादनमा सहयोग पुग्ने बताए । नेपाली रोजगार क्षेत्रलाई सुरक्षित व्यवस्थित र श्रमिक तथा उद्योगमैत्री बनाउँदै लगिने पनि उनले बताए ।

प्रतिनिधि सभा सदस्य मनिष झाले यो मेलालाई अवसरको रूपमा लिनुपर्ने बताए । ’श्रम सम्बन्धि समाधान आवश्यक छ त्यसैले श्रमाधान आवश्यक छ। हाम्रा युवा विदेश गएर श्रम गर्ने होइन देश बनाउन गर्ने हो,’ उनले भने ।

आज सुरू भएको यो मेला भोलिसम्म चल्ने छ । मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू राखिएको छ ।

श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधान लगायत सरकारी स्टलहरू छन् ।

कामको खोजीमा रहेका युवाहरूलाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल राखिएको छ । विभिन्न नेटवर्किङ सत्रहरू पनि राखिएको छ । साइडलाइन सत्रहरू, तथा स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि राखिएको छ ।

प्रतिक्रिया