मधेस प्रदेशसभाः दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा

जनकपुरधाम । मधेश प्रदेशसभाको आजको बैठकले दुईवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको छ ।

मधेस प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत आज बसेको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र बाल अधिकार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सर्वसम्मतले निर्णय भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

प्रदेशसभा बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको तर्फबाट खेलकुद तथा समाज कल्याणमन्त्री सरिताकुमारी साहले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र बाल अधिकार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो ।

प्रस्तुत दुईवटै प्रस्तावको पक्षमा सर्वसम्मत निर्णय भएको थियो । प्रदेशसभाको अर्को बैठक बुधबार ३ बजे बस्ने छ ।

प्रतिक्रिया
नागरिक मिरर