मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

शुक्रबार मुख्यमन्त्री सिंहले १० जना मन्त्री र ३ जना राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् ।

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बनेकी छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्री भएकी छिन् ।

नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीहरु सबैले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर